गाउँमा सचिव र चौकी माग

ताप्लेजुङ, २५ पुस । ताप्लेजुङको हाङ्पाङ गाविसवासीहरुले गाविस सचिव गाउँ पठाउन र प्रहरी चौकीको पुनःस्थापना गर्न माग गरेका छन् । शान्ति स्थापना भएको लामो समय बित्दासमेत द्वन्द्वको समयमा विस्थापित भएका सचिव गाउँ नफर्केकाले काम गर्न असहज भएको साथै र प्रहरीचौकी पुनःस्थापना नगरिँदा शान्ति सुरक्षाको प्रत्याभूत हुन छाडेको भन्दै हाङ्पाङबासीले पुनःस्थापनाको माग गरेका हुन् ।

हाङ्पाङका पूर्व गाविस अध्यक्ष लक्ष्मीबहादुर यक्सो नेतृत्वको एक टोली सदरमुकाम पुगेर स्थानीय विकास अधिकारी उमेश पाण्डेलाई भेट गर्दै अहिले गाउँमै बसेर काम गर्नसक्ने वातावरण भएकाले गाविस सचिवलाई गाउँ पठाउन आग्रह गरेका हुन् । यस्तै शान्ति सुरक्षाका लागि द्वन्द्वको समयमा विस्थापित भएको प्रहरीचौकीसमेत पुनःस्थापना गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनलाई भेटेर आग्रह गरेका छन् ।

गाउँमा भएको सर्वपक्षीय भेलाको संयुक्त निर्णयसहित गाविस सचिवलाई गाउँ पठाउन र प्रहरीचौकी पुनःस्थापना गर्न उनीहरुले सम्बन्धित निकायमा माग गरेका हुन् । यता प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले चौकी पुनःस्थापना गर्न पहल गर्ने आश्वासन दिएको टोलीका नेतृत्वकर्ता पूर्वअध्यक्ष यक्सोले जानकारी दिए । उनका अनुसार स्थानीय विकास अधिकारी पाण्डेले पनि सचिवलाई गाउँ पठाउने आश्वासन दिएका छन् ।

यस जिल्लामा द्वन्द्वको समयमा सदरमुकाम केन्द्रित भएका गाविस सचिवहरु अहिलेसम्म गाउँ फर्केका छैनन् । जिल्ला विकास समितिले यसअघि नै पटक–पटक गाउँ जान निर्देशन गरेपनि निर्देशनलाई अटेर गर्दै गाविस सचिवहरु सदरमुकाम फुङ्लिङमै कोठा भाडामा लिएर कार्यालय खोली गाउँको कार्य सम्पादन गर्दै आएका छन् । एकजनाले २ देखि ३ वटासम्म गाविसको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले गाउँ जान सम्भव नहुने सचिवहरु बताउँछन् ।

द्वन्द्वमा विस्थापित भएका प्रहरीचौकीहरु भने अधिकांश पुनःस्थापित भइसकेको बताइएको छ । केही बाँकी रहेका र थप आवश्यक ठानिएका क्षेत्रहरुमा पनि प्रहरीचौकी स्थापना गर्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया