डियुटीमै जनतालाई यसरी सताउँछन् प्रहरी

काभ्रे, २३ पुस । स्थानीय नागरिकसँग मातेर पैसा असुल्ने प्रहरीलाई स्थानीय नागरिकले समातेर जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएका छन् । जनताको सेवा गर्ने कसम खाएका प्रहरीले जनताको तलब खाएर जनतालाई नै सताउन थालेपछि जनता र प्रहरीबीचको दुरी बढेको भन्दै स्थानीयले बनेपा प्रहरीमा उनलाई बुझाएका थिए ।

नियमित जसो मदिरा सेवन गर्दै स्थानीयवासी, होटल व्यवसायी र गाडी चालकहरूलाई धम्क्याउने गर्दै आएका उनलाई स्थानीयले समातेर बनेपा प्रहरीलाई बुझाएका थिए । हेटौँडा घर भइ हाल जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी हवल्दार निसान्त बानियाले बनेपा–१० को होटेलमा मदिरा सेवन गर्दै महिनौँदेखि गाडी चालकसँग रकम असुल गर्दै आएको पनि खुलेको छ । चालक भीम तामाङका अनुसार बानियाले विभिन्न बाहना देखाएर पटकपटक रकम असुल गरेको दाबी गरेका छन् । काठमाडांैको कोटेश्वरमा घरसमेत रहेको बताउने यी हवल्दारले प्रहरी पोसाकमा नै होटेलमा साँझको समयमा रक्सी अत्यधिक सेवन गर्दै थर्काउने र उल्टो पैसा माग्ने गरेपछि स्थानीयले इलाका प्रहरीलाई खबर गरेका थिए ।

उनी अत्यधिक मदिरा सेवन गरेपछि कहिलेकाहीँ प्रहरीको ड्रेसमा नै बाहिर सुतेका हुन्छन् । इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्रेर जिल्ला प्रहरीमा २१ गते बेलुकी बुझाएको जनाएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डिएसपी राजकुमार केसीले आन्तरिक कारबाही गरिने बताएका छन् । काभ्रेमा यसअघि पनौती डियुटीमा खटिएका प्रहरीले बालिकाहरूलाई बलात्कारसमेत गरेको घटना यसअघि नै सार्वजनिक भएको थियो । उनीहरूलाई निलम्बन गरी कारबाही अगाडि बढाइएको थियो

प्रतिक्रिया