गयो जाडो आएन १० हजार

kavre photoकाभ्रे, २३ पुस । नेपाल सरकारले भूकम्पपीडितलाई दिने भनेको राहत रकम पीडितसम्म नपुग्दा सास्ती थपिएको छ । १० दिनभित्र वितरण गर्ने भनेको न्यानो कपडाको पैसा अभैm पुग्न नसक्दा पीडितहरूले आस मार्न थालेका छन् ।

दिनभर घाम ताप्ने रातमा आगो बाल्दै टहरोमा बस्ने गर्दै आएकी तिमालका ८७ वर्षीय रेश्मी तामाङले सरकारले रेडियोमा त दिन्छु भन्थ्यो तर सरकारले नदिएको गुनासो गरेकी छन् । उनले आगो बाल्न पनि दाउरा काट्न जान नसक्ने भन्दै बाँच्नुभन्दा त मर्न पाएको भए नै वेश हुन्थ्यो भनेकी छन् । उनी जस्तै काभ्रेको थुप्रै गाविसका पीडितले यस्तो गुनासो गर्न थालेका छन् । च्यासिङ्खर्क गाविस–६ की कान्छीमाया थापाले बिहान झिसमिसेमै नजिकैको जंगलमा पुगी दाउरा काट्ने गरेकी छन् । सरकारले भूकम्पपीडितका लागि पहिल्यै १५ हजार रुपैयाँ राहत वितरण गरेता पनि चिसोले कठं्याग्रिएपछि जाडो छल्नको लागि पीडितहरूले चाडबाड मान्दै सो रकम सिद्धाएपछि बस्ने टहरोसमेत गतिलो नहुँदा बेलुका शीत चुहिने टहरोमा बस्न विवश छन् । हालै मात्र १० हजार वितरण धमाधम थालिए पनि विकट मानिएको डाँडापारी, कोसीपारी र तिमालका गाविसका भूकम्पपीडितका लागि न्यानो कपडा किन्ने पैसा पुग्न सकेको छैन ।

यता काभ्रेको सहरी इलाकामा भारतले नाकाबन्दी गरेका कारणले ग्यास नपाएपछि बजारमा त्यसको विकल्पमा दाउराको माग बढ्न थालेपछि गाउँका भूकम्पपीडितले दाउरा काटेर बेच्ने समेत गर्दै आएका छन् । भत्केको घरका काठ दाउरा बेच्दै आएकी कोसीपारीकी मैया तामाङले बेचेको दाउराको पैसाले घरायसी समस्या टार्ने र न्यानो कपडा किन्ने योजना बुन्दै गरेको सुनाइन । उनी भन्छिन्, ‘दैनिक २ भारी दाउरा बेच्छु । श्रीमान् २ वर्षअघि वैदेशिक रोजगारका लागि मलेसियामा काम गर्न गएको र बेलैमा भनेको जस्तो पैसा पठाउन नसकेका कारण आफूले दाउरा बेचेर न्यानो कपडा किन्नका लागि खर्च जुटाएको हो ।’ जाडो चिसोले ३ महिनाकी सुत्केरी निमा मोक्तान पनि आगो तापेरै जाग्राममा रात बिताउँदै आएकी बताउँछिन, चिसोले शारीरिक समस्या भएपछि कठ्यांग्रिएर रातभर आगो फुकेर बस्न बाध्य हुन्छ फलामेटार–९ हात्तीडाँडाकी कान्छीमाया तामाङले भनिन् । भूकम्पका कारणले उनको श्रीमान्ले ज्यान गुमाएकी थिइन् । उनी जस्तै उनकै गाउँकी सानीमाया तामाङ पनि न्यानो कपडा किन्नका लागि नजिकैको जंगलमा दाउरा काट्न जान्छिन् ।

अस्थायी टहरामा चिसोले कठ्यांग्रिएपछि भूकम्पपीडितले यतिबेला आफ्नै विभिन्न काम गरी न्यानो कपडा किन्न संघर्ष गरिरहेका छन् काभ्रेमा । बल्थली–५ का रमेश तामाङले ग्यासको विकल्पमा दाउराको माग बढ्न थालेपछि दाउरा बेच्ने काम गर्छन् । उनी भन्छन, ‘अस्थायी टहराबाट शीत र पानी चुहिन्छ अहिले छिमेकीको साहारामा बस्न बाध्य भएका कारण विस्थापित भएर अरूको टहरामा बस्छन् ।’ ‘आर्थिक अवस्था कमजोर छ १५ वर्षको उमेरदेखि गाउँमै भारी बोक्ने काम गरी आफनो जीविकोपार्जन गर्दै आएको थिएँ भूकम्पले घरवारविहीन बनाइयो अस्थाटी टहराले धान्ने छिमेकीको टहरामा बस्न बाध्य भए उनले भने ।’ श्रीमती र छोराछोरीले समेत छाडेर गएकाले झन् उनको जीवनमा गम्भीर समस्या थपिएको उनको भनाइ छ । अहिले उनी छिमेकीको टहरामा बस्दै आएकाले व्यवस्थित अस्थायी टहरा निर्माणका लागि रकम जुटाउन भारी बोक्ने काम गरिरहेका छन् । यता जिल्ला प्रशासनले भने हालसम्म भूकम्पपीडित परिवारलाई न्यानो कपडाको लागि रकम निकासा गरी प्रहरीको सुरक्षामा वितरण भइरहेको भएको गाविस र नगरपालिकामा गरी ३९ हजार ७ सय १४ घरधुरिलाई ३९ करोड ७१ लाख ४० हजार रुपैयाँ रकम वितरण भइसकेको जनाएको छ ।

प्रतिक्रिया