आयशा, यानकुमारी र रेजिना छनोट

taekwondo selectionकाठमाडौं, २० पुस । भारतमा माघ–फागुनमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका लागि ३ महिला खेलाडी सोमबार छनोट भएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको ६२ केजीमुनि १०औँ सागकी रजत तथा ११औँ सागकी स्वर्ण विजेता राष्ट्रिय टिमकी आयशा शाक्य पहिलो भइन् । आयशाले फाइनलमा एपिएफ क्लबकी संगीता बस्याललाई ८–१ ले पराजित गर्दै लगातार तेस्रोपटक सागमा सहभागिता पक्का गरिन् ।

४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईंले शीर्ष स्थानमाथि कब्जा जमाइन् । निर्णायक भिडन्तमा यानकुमारीले प्रहरीकी सीता तामाङलाई हराइन् । ११औँ सागकी कास्य विजेता यानकुमारी ११–२ ले विजयी भइन् । १२औँ साग पनि यानकुमारीका लागि तेस्रो सहभागिता हुने थियो । १०औँ सागका लागि छनोट भए पनि जन्डिसका कारण यानकुमारी सहभागी हुन पाएकी थिइनन् । ४६ केजीमुनि प्रहरीकी रेजिना कार्की छनोट भइन् । सागमा ‘डेब्यु’ गर्न लागेकी रेजिनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई १–० को झिनो अन्तरले पाखा लगाइन् ।

महिलाकै ५७ केजीमुनि राष्ट्रिय टिमकी ज्ञानी चुनारा र मध्यमाञ्चलकी रेणु लामा तथा ५३ केजीमुनि प्रहरीकी निमा गुरुङ र सेनाकी नम्रता तुलाधर फाइनलमा पुगेका छन् । पुरुषको ५४ केजीमुनि पश्चिमाञ्चलका प्रेम राणा, मध्यमाञ्चलका शेखर उप्रेती, सुदूरपश्चिमाञ्चलका नरेश चौधरी र एपिएफका चन्द्रबहादुर राना मगर सेमिफाइनलमा प्रवेश गरेका छन् । ५८ केजीमा प्रहरीका रञ्जन श्रेष्ठ, सेनाका नौबालक चौधरी, पश्चिमाञ्चलका सुनील पौडेल र मध्यपश्चिमाञ्चलका मनमोहन भट्टराई अन्तिम चारमा पुगे । ६३ केजीमुनि प्रहरीका वीरबहादुर महरा, सुदूरपश्चिमाञ्चलका निरज देउवा, पश्चिमाञ्चलका किरणबहादुर आले र मध्यमाञ्चलका अजय गुरुङले सेमिफाइनल यात्रा तय गरे । ६८ केजीमा पूर्वाञ्चलका पदम तामाङ, मध्यमाञ्चलका मोहम्मद वेश, एपीएफका अनिल मोक्तान र प्रहरीका जेम्स प्रधान सेमिफाइनलमा पुगे ।

सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुनेछन् । ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडी छनोटमा सहभागी छन् । अन्तिम दिन मंगलबार ८ पुरुष र २ महिला गरी १० खेलाडीको टुंगो लाग्नेछ ।

सागमा तेक्वान्दो नेपालमै भएको आठौँ संस्करणदेखि समावेश भएको थियो । अन्य पदक बाहेक तेक्वान्दोले सागमा नेपाललाई २४ स्वर्ण दिलाइसकेको छ । आठौँमा सर्वाधिक १४ स्वर्ण जितेको थियो भने नवौँमा ६ स्वर्ण प्राप्त गरेको थियो । त्यस्तै १० र ११औँमा २–२ स्वर्ण हात पारेको थियो ।

अव्यवस्थित छनोट
सागका लागि छनोट भइरहेको तेक्वान्दो निकै अव्यवस्थीत भएको प्रशिक्षकहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार प्रशिक्षकले स्कोरका लागि गरिएको अपिलमा भिडोयो रिभ्यू नै नहेरी जुरीले स्कोर अपिल कार्ड राखिएको आरोप लगाएका छन् । सेन्सरमा खराबी देखाउँदै गलत तरिकाबाट नम्बर दिइएको छ । साग छनोट जस्तो खेलमा अपरिपक्व रेफ्रीहरूलाई निर्णयको जिम्मेवारी दिइएको थियो ।
रेफ्रीले कयौँपटक प्राविधिक नियमहरूको समेत पालना गरेका थिएनन् भने धेरैपटक अनविज्ञ जस्तो पनि भए । एक प्रशिक्षकले पनि खिच्दै नखिचेको भिडियो हेर्दै गलत तरिकाबाट स्कोर दिइएको आरोप लगाए ।

उक्त प्रशिक्षकले भने राम्रो खेलाडी छनोट गर्नेभन्दा पनि, हाम्रो खेलाडी छनोट गर्ने गुरुहरूको सोचाइका कारण गलत निर्णय आइरहेको छ । यस्तो तरिकाले खेलाडीहरूको मेहनत खेर जानुका साथै उनीहरू निरुत्साहित हुन्छन् । ‘राष्ट्रको इज्जतको लागि खेल्ने भएकाले सही र राम्रो खेलाडी छनोट हुनु पर्दछ,’ प्रशिक्षकले भने ।

प्रतिक्रिया