दुरी हटाउन सहयोग पुगोस् : मन्त्री मण्डल

mantriकाठमाडौं, १८ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले भारत र नेपालबीच रहेको दुरी १२औँ दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका छन् ।

‘संविधान जारी भएपछि हामीबीच केहि दुरी बढेको छ ।’ सागका लागि छनोट खेलाडीलाई प्रोत्साहन गर्न राखेपले आफ्नै हातामा आयोजना गरेको बधाइ तथा प्रोत्साहन कार्यक्रममा मन्त्री मण्डलले भने, ‘सागको अवधिमा खेलको माध्यमबाट दुरी हटाउन सहयोग पुगोस् । सफलताका लागि तपाईंहरूलाई धेरैधेरै शुभकामना छ ।’

मन्त्री मण्डलले सागमा पदक जित्ने खेलाडीका लागि मन्त्रालयले पुरस्कारको व्यवस्था गरेका स्मारण गराउँदै भने, ‘मन्त्रालयले पदक विजेता खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ । तपाईंहरू स्वर्ण जितेर आउनुस् । नेपाल सरकारसमक्ष थप पुरस्कारका लागि छुट्टै प्रस्ताव लाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले नेपाली खेलाडीले सागमा सफलता प्राप्त गरी राष्ट्रको झन्डा सगरमाथाभन्दा पनि उच्च बनाउने विश्वास व्यक्त गरे ।

राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले परिषद्का पदाधिकारी जुनसुकै खेलमा आबद्ध भए पनि सबै खेललाई समान नजरले हेर्ने बताउँदै अब नेपालमा हुने साग उपत्यका बाहिर पनि गर्ने गरी प्रस्ताव लाने तयारी भइरहेको जानकारी गराए ।  राखेप सदस्यसचिव केशवकुमार विष्टले संविधान जारी भएपछिको अघोषित नाकाबन्दीका कारण खेलकुद क्षेत्र पनि प्रभावित भएको बताउँदै नाकाबन्दी र भूकम्पको पीडाका बीच पदक जितेर सारा नेपालीलाई खुसी बनाउन जरुरी भएको बताए ।

कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डा अंकित ब्याज, टीका र सगुन प्रदान गरिएको थियो । सागको १२औँ संस्करण भारतको गुवाहटी र सिलोङमा माघ–फागुनमा हुँदै छ । नेपालले विभिन्न २३ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया