पहिरोपीडितलाई राहत

बाजुरा, १८ पुस । बाजुरा जिल्लाको साप्पाटाका पहिरोपीडित परिवारलाई स्थानीय गैर सरकारी संस्था आइएन एफ बाजुराले राहत वितरण गर्ने भएको छ । गत असोज महिनाको पहिलो हप्ता गएको पहिरोले त्यस क्षेत्रमा क्षति पु¥याएको थियो ।

आइएनएफले पहिरापीडित ३४ परिवारका लागि ओछ्याउनका लागि १ सय ३६ थान म्याट, ६८ थान ब्लाङकेट, ३० थान सल, मसिनो चामल १ हजार केजी, दाल १ सय ५० केजी, तेल ३० लिटर, नुन १८ प्याकेट गरी जम्मा ३ लाख १ हजार ५० रुपैयाँको राहत सामग्री वितरण गर्न लागेको आइएनएफ बाजुराका जिल्ला इन्चार्ज जुवारीलाल कार्कीले जानकारी दिएका छन् ।

बाजुराको साप्पाटा कोल्टीमा सोमबार उक्त राहत वितरण गरिने तयारी गरिएको कार्कीले जनाएका छन् । पहिरोबाट भौतिक संरचना ध्वस्त भएका १० जना परीवारलाई खाद्यान्न सामग्री राहत उपलब्ध गरिने भएको हो । अन्य ३४ परिवारका लागि अन्य कपडा वितरण गरिने भएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिको सिफारिस र साप्पाटा गाविसको सिफारिस अनुसार राहत सामग्री वितरण गरिने उनले बताए ।

असोज महिनाको पहिलो सातामा गएको पहिरोले २ सय ३० जना बालबालिका, ५२ जना गर्भवती महिला, ३० जना वृद्धवृद्धा प्रभावित भएका थिए । भने १० घरधुरीको ३६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । असोज १५ गते सदरमुकाम मार्तडीमा प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलको अध्यक्षतामा बसेको दैवीप्रकोप उद्धार समितिले तत्काल साप्पाटाका पहिरो पीडितलाई राहत दिने निर्णयसमेत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले राहतसामग्रीसमेत वितरण गरेको थियो । केही दिनपछि महिला तथा बालबालिका कार्यालयले समेत राहतसामग्री वितरण गरेको थियो । सुख्खा खडेरीमा आएको पहिरोले स्थानीयको लाखौँको जग्गाजमिन छाना भत्काएको थियो भने साप्पाटा–३ रुढीमा रहेको भगवती प्राविलाई समेत पहिरोले असर पु¥याएको छ । स्थानीय बालकेस धामीका अनुसार खडेरी क्षेत्रमा एक्कासी आएको असिना पानीसंगैको आँधीहुरीले लाखौँको क्षति पु¥याएको हो ।

पहिरो झाड थला, काब्णा पानी, सातापानी, उभाजिउला हुँदै रुढीको भगवति प्राविको खेलमैदानसम्म पुगेको थियो । पहिरो आए लगत्तै बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा अधिकांश सरकारी तथा गैर सरकारी संघ संस्थाले पहिरोपीडितलाई सहयोग गर्ने आश्वासन दिए पनि हालसम्म जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस, महिला विकास कार्यालय आइएनएफ बाजुरा र एचआरसी बाजुराले मात्र सहयोग गरेको स्थानीयले बताएका छन् । तत्काल राहत दिने वाचा गरेका सरकारी तथा गैर सरकारी निकायले भने प्रक्रिया नपुगेर राहत दिन नसकेको बताएका छन् ।

प्रतिक्रिया