पुनर्निर्माणमा जुटे गोरखाका भूकम्पपीडित

काठमाडौं, १६ पुस । गोरखाको विभिन्न २० गाविसका भूकम्पपीडितले नगदको सट्टा खाद्यान्न लिएर पुनर्निर्माणको काम गरेका छन् । भूकम्पपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को आर्थिक सहयोगमा सप्रोसले ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सुरु गरेपछि भूकम्पपीडितले सडक, गोरेटो बाटो बनाउनुका साथै भूकम्पले अवरुद्ध खानेपानी आयोजनादेखि लघुजलविद्युत् आयोजनाको पनि पुनर्निर्माण गरेका हुन् ।

गाउँको विकास निर्माणको काममा १३ हजार २१ जना जुटेका हुन् । उनीहरूलाई नगदको सट्टा खाद्यान्न वितरण गरिएको सप्रोस गोरखा संयोजक विजय कार्कीले बताए । सो कार्यक्रमअन्तर्गत अहिलेसम्म १ हजार ९ सय ५३ मेट्रिक टन चामल र ३ सय ५१ मेट्रिक टन दाल गरी कुल २ हजार ३ सय ४ मेट्रिक टन खाद्यान्न वितरण गरिएको संयोजक कार्कीको भनाइ छ ।

भूकम्पपीडितले ७४ गोरेटो बाटो, १२ खानेपानी आयोजना मर्मत, १० काठका पुल, १० वटा विद्यालयको खेल मैदान निर्माण गर्नुका साथै ९ ग्रामीण सडक र ३ ओटा लघुजलविद्युत् आयोजनाको मर्मत गरेका छन् । सप्रोसले गोरखामा १ सय २५ वटा योजनामा लगानी गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँमा सडक निर्माणका साथै गोरेटो बाटो निर्माण गरेको छ । १ हजार २ सय ९ घरधुरीका भूकम्पपीडितले विकास निर्माणको काममा खटेर २ सय १३ मेट्रिक टन खाद्यान्न बुझिसकेका छन् । खाद्यान्न लिन भूकम्पपीडितले कम्तीमा ४० दिन काम गनुपर्ने र रासन कार्ड बनाएको हुनुपर्छ । स्थानीयवासीसँगको समन्वयमा गाउँका योजना पुनर्निर्माण तथा नवनिर्माण गरिएको सप्रोसले जनाएको छ ।

बिही गाविसका २ सय १८ भूकम्पपीडितले ३८ मेट्रिक टन खाद्यान्न बुझेका छन् । छेकम्पार गाविसका २ सय ५३ भूकम्पपीडितले ४४ मेट्रिक टन खाद्यान्न, चुम्चेतका २ सय ४१ जनाले ४२ मेट्रिक टन, घ्याच्चोकका ४ सय ३९ जनाले ७७ मेट्रिक टन, गुम्दाका ६ सय ६० जनाले १ सय १६ मेट्रिक टन, काशीगाउँका ४ सय ५० जनाले ७९ मेट्रिक टन र केरौँजाका ८ सय ९० जनाले १ सय ५७ मेट्रिक टन खाद्यान्न बुझेका सप्रोसका अनुगमन तथा मूल्यांकन अधिकृत गगन गुरुङले जानकारी दिए ।

खरिबोटका ५ सय ७८ भूकम्पपीडितले १ सय १० मेट्रिक टन खाद्यान्न लिएका छन् । लाप्राकका ६ सय २३ जनाले १ सय १० मेट्रिक टन, लापुका ५ सय ३ जनाले ८९ मेट्रिक टन, ल्हो गाविसका २ सय ८२ जनाले ४९ मेट्रिक टन, मान्वुका १ हजार ६ सय ९१ जनाले २ सय ९९ मेट्रिक टन, प्रोकका २ सय २७ जनाले ४० मेट्रिक टन, सामागाउँका २ सय जनाले ३५ मेट्रिक टन, सिर्दिवासका ६ हजार ३ सय २३ जनाले १ सय १२ मेट्रिक टन खाद्यान्न लिएको गुरुङको भनाइ छ ।

स्वाँराका ८ सय २४ भूकम्पपीडितले १ सय ४५ मेट्रिक टन, सौरपानीका एक हजार ४ सय जनाले २ सय ४७ मेट्रिक टन, थुमीका १ हजार १ सय ८० जनाले २ सय ८ मेट्रिक टन र उहियाका ५ सय २० ले ९२ मेट्रिक टन खाद्यान्न बुझेको गुरुङले जानकारी दिए । मनास्लु पदमार्ग र छेकम्पार जोड्ने चुमभ्याली पर्यटकीय पदमार्गका विभिन्न खण्डमा काठका पुल पुनर्निर्माण गरिएको छ ।

४० दिन काम गरेर १ सय ५० केजी चामल र २७ केजी दाल पाएपछि बारपाकका भूकम्पपीडित शुक्रराज घलेले खुसी छन् । ‘भूकम्पले भत्किएका बाटोघाटो बनाउन कसैले सहयोग नगरे पनि गाउँलेले बनाउनुपर्छ,’ उनले भने, ‘ज्याला लिएर काम गरेको भन्दा खाद्यान्न लिएर काम गर्दा भूकम्पपीडितलाई फाइदा पुग्यो ।’ केही भूकम्पपीडितले कामका लागि खाद्यान्न कार्यक्रममा सहभागी हुन नपाएकामा दुःखेसो पोखे । सप्रोसले गुणस्तरीय खाद्यान्न वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया