आन्दोलनले अस्पतालको सेवा प्रभावित

जनकपुरधाम, १६ पुस । मधेसमा जारी आन्दोलनले त्यस क्षेत्रका अस्पतालहरूको सेवा प्रभावित भएको छ । आन्दोलनकै कारण लालगढस्थित कुष्ठ अस्पतालको सेवा पूर्णरूपमा प्रभावित भएको हो ।

सवारी साधन सञ्चालन नहुँदा बिरामी अस्पतालसम्म आउन सकेका छैनन् । बन्द हडतालका कारण अस्पतालमा इन्धनलगायतका सामानको अभाव सिर्जना भएपछि अस्पतालमा आउने गरेका बिरामीलाई समस्या भइरहेको छ । यस्तै टाढा टाढाबाट बिरामी आउनलाई समेत निकै सकस हुने गरेको छ । मधेसमा जारी रहेको अधिकार प्राप्तिको आन्दोलन झन्डै ५ महिना बितिसक्दा पनि राजनीतिक मुद्दा सम्बोधन हुन नसकेकाले तराईवासीको जनजीवन निकै कष्टपूर्ण भएको छ । तराई बन्द रहेका कारण यातायात नचल्नाले धनुषा राजमार्गमा रहेको लालगढ कुष्ठ अस्पतालमा आउने बिरामीको संख्यामा कमी आएको छ भने आएका बिरामीलाई पनि अस्पतालमा आवश्यक सामान अभावका कारण सेवा सञ्चालनमा समेत समस्या आउने गरेको छ । अक्सिजन र औषधिको आपूर्ति ठप्प हुँदा उपचाररत कुष्ठरोगीको उपचारमा समस्या परेको अस्पतालका कार्यकारी निर्देशक डम्बरबहादुर आलेले बताए । उनले भने, ‘मुख्यतः अक्सिजन र औषधि सकिएकाले समस्या भएको हो जसका कारण कुष्ठरोग लागेर क्षति भएका अंगको शल्यक्रिया ‘रिकन्सट्रक्सन सर्जरी’ हुनसकेको छैन ।’

कतिपय बिरामीको सर्जरी हुन नसक्दा अपांगताको जोखिम बढेको भन्दै उनले यसका कारण ‘अंगभंग र अन्धोपन हुनसक्ने खतरा पनि उत्तिकै रहेको बताएका छन् ।

अस्पतालले जाडो मौसम लागेपछि निःशुल्क सर्जरी सेवा प्रदान गर्दैआएको छ । यस्ता सर्जरी गर्नुपर्ने ५ दर्जन रोगी प्रतिक्षामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारका लागि आउने गरिएका बिरामीलाई कुष्ठ भइरहेको छ भने इन्धन अभावका कारणले गर्दा अस्पतालका सवारीसाधन समेत चल्न सकेका छैनन् । आलेले कुष्ठरोग प्रभावित व्यक्ति अस्पताल आउन नसक्दा पछि गएर निकै घाउ हुने र समस्या हुने अवस्था देखिएको बताए । कतिपय बिरामीलाई औषधिले निको हुने गरेका कारणले तुरुन्त अस्पताल आएनन् भने केही दिनमा घाउ निको हुने र त्यो पूर्णरूपमा निको नहुने समस्या आउने गरेका कारणले यस्ता बिरामीलाई समस्या आउने गरेको आलेको भनाइ रहेको छ ।

छालामा सानो समस्या देखिएपछि लालगढ अस्पतालमा उपचार गराउन सिरहादेखि आएकी रामकुमारी कापरले आफनो सकसपूर्ण यातना सुनाउँदै यातायात नचलेको सेवालिन जाने अवस्था नै नरहेको बताए । उनले भने, ‘मोटरसाइकलमा आउँदा कुनबेला आन्दोलनकारीले कहाँ तोडफोड गर्ने हो, शान्तिपुर्ण वातावरणमा हिँड्न नपाएका उनले गुनासो गरे । उनले ४ सय रुपैयाँको तेल हालेर आएको र उपचार गराएर फर्कंदा जान समस्या भएको बताइन् । अस्पतालमा ३ सयको हाराहारीमा आउने गरेका बिरामीको संख्यामा अहिले निकै कमी आएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई घर कसरी जाने भन्ने समस्याले पिरोलेको हुन्छ । मधेसमा जारी रहेको आन्दोलनका कारण अस्पतालमा उपचार गराएका बिरामीलाई निकै समस्या भइरहेको छ । अस्पतालले अहिलेसम्म करिब ३४ हजार कुष्ठ रोगीको उपचार गरिसकेको छ ।

प्रतिक्रिया