सिरक ओडेर छतको यात्रा

kavre copyकाभ्रे, १६ पुस । नाकाबन्दीको असरले देखिएको इन्धन संकटकाकारण सार्वजनिक यातायातमा छतमा यात्रा गर्नेको संख्या बढ्न थालेको छ । चिसोको समय छतको यात्रालाई प्रभावकारी बनाउन केही गाडीमा सिरकको समेत व्यवस्था गरिएको छ ।

बिहान र बेलुका काभ्रे हुँदै सिन्धुली, रामेछाप सिन्धुपाल्चोक, दोलखा जाने यात्रीहरूलाई बसमा सिटको अभाव भएपछि गाडीले नै सिरक र मन्डीको व्यवस्था गर्दै यात्रीहरूलाई छतमा सिरक दिएर यात्रा गराउन थालेका हुन् । चरम इन्धन संकटले निम्त्याएको समस्या भन्दै ट्राफिकले छतमा यात्रा गर्न कुनै अवरोध नगरेपछि छतमा यात्रीहरू राखिएको चालकहरूले बताउँछन् । सरकारले यातायात सेवालाई प्रभावकारी बनाउन तथा इन्धनको संकटलाई पार लगाउन नसक्दा यात्रुहरूले जोखिम मोलेर भए पनि छतमा यात्रा गर्नुपर्ने बाध्यतमा छन् । ‘कम सवारी साधन र इन्धन अभाव देखाएपछि हामी असुरक्षित र जोखिमपूर्ण छतको यात्रा गर्न बाध्य छौँ’ रामेछापका रमेश तामाङले भने ।

हालसम्म सरकारले कुनै वैकल्पिक बाटो नदेखाएपछि भएको स्रोत र साधनलाई नै सबैले मिलेर प्रयोग गर्नुपर्ने उनले बताए । उनले भने, ‘बिमारी भइएला भन्ने त्रास एकातर्फ छँदै छ पुसको महिना त्यसमाथि छतको यात्रा बिहान शीतलहरले गर्दा टाउको दुख्ने रुघाखोकी र मानसिक रूपमा अस्वस्थ हुने जस्ता समस्या हुन थालेको छ ।’

काठमाडांैबाट काभ्रे हुँदै चल्ने लामो दुरीको सवारी साधनहरूले प्रायःजसो बिहान र बेलुकाको समयमा सिरक र मन्डी ओडाएर यात्रुहरू बोक्ने गरेका छन् । दोलखा सिंगटी बजारका रोहित लामिछानेले भने छतको यात्रा भए पनि गाडी भाडामा तेब्बर लिएको गुनासो पनि गरेका छन् । यता बस चालकहरूले भने इन्धन अभाव भएकोले ब्ल्याकबाट तेल किनेर गाडी चलाइएको र सो वापत भाडामा पनि केही बढाएको बताए ।

प्रतिक्रिया