कल्पना पाण्डे : दूध हालेको चिया र प्रोल्लास सिन्धुलीय

Prollas Book Coverमोटोघाटो जीउडाल, ठूलो निधारमय चम्किलो अनुहार, लामो कपाल, खुइलिएको तालु—झट्ट हेर्दा बेलायती शेक्सपियर वा नेपाली अभि सुवेदीजस्ता लाग्ने । अप्रत्यक्ष चिनजान धेरै पहिलेदेखि नै भएको हो । प्रत्यक्ष चिनजान अलि पछि नै भयो । उनी हुन् उमानाथ शास्त्री ‘सिन्धुलीय’ पुत्र–प्रोल्लास सिन्धुलीय (जन्म :२०३२ गैयाँटार, सिन्धुली) । कवितासङ्ग्रह, बालकथाकृति, गजलसङ्ग्रह र गीतसङ्ग्रह गरी लगभग दर्जनको हाराहारीमा पुस्तकहरू प्रकाशित गराइसकेका र शाल्मली नामक पत्रिकाको सम्पादन एवं प्रकाशन गर्नुका साथै धेरै पुस्तकहरूको भूमिका पनि लेखिसकेका सिन्धुलीयको पछिल्लोपटक यात्रासंस्मरणात्मक निबन्धसङ्ग्रह, कल्पना पाण्डे : दूध हालेको चिया खान्छे प्रकाशित भएको छ । नाम सुन्दा अनौठोजस्तो यस पुस्तकमा, पहिल्यै विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित जम्माजम्मी दशवटा यात्रासंस्मरणहरू सङ्कलित छन् । भूमिका सुप्रसिद्ध साहित्यकार निर्मोही व्यासद्वारा लेखिएको छ । लेखकीयमा लेखककै भनाइ छ , अनि प्रकाशकीयमा बुकसेलरकी अध्यक्ष लक्ष्मी भट्टराईको स्पष्टोक्ति ।

पहिलो यात्रावर्णनको शीर्षक, दिलबहादुर बिनाको दिलबहादुरको घरमा एक साँझमा गोरखा जिल्लाअन्तर्गत पर्ने पन्द्रुङ गाउँको परिवेश छ । जनगणतन्त्र र राष्ट्रियताका लागि सिर्जना अभियानअन्तर्गत ठाउँठाउँमा कविता सुनाउँदै हिंडेका सिन्धुलीयसमेतको एउटा टोली गोरखाको घ्याम्पेसालमा कविता सुनाइसकेपछि पन्द्रुङतिर लाग्छ । माओवादीको आरोपमा पुलिसले पक्डेर लगेका आफ्ना प्यारा शिक्षकलाई विद्यार्थीहरूको भीडउपर पुलिसले गोली चलाउँदा, उक्त भीडमा रहेका एकजना विद्यार्थी दिलबहादुर रम्तेल केही समयअघि शहीद भएका हुन्छन् । कविहरूको टोली त्यहाँ पुग्दा दिलबहादुरका पिता सेते रम्तेल त्यति वास्ता गर्दैनन् । २०० भन्दा बढी नै लेखक पत्रकारहरू त्यसअघि नै पुगेर फोटो खिचिसकेका हुँदा, सेते रम्तेललाई वाक्क लागिसकेको हुन्छ । राती ९ बजे पुगेको कविटोलीलाई दिलबहादरकी आमा सरिमायाले खाना बनाएर खुवाउँछिन् । रात बिताउने क्रममा बिहानीको उज्यालो पर्खंदै गर्दा सिन्धुलीय सोच्छन् ः

कस्तो सजिलो पर्खाइ ! चुपचाप चुपचाप समयमात्रै कटाइदिए भैहाल्ने । कुनै दुःख वा कष्ट झेल्नैनपर्ने । न कुनै युद्ध लड्नुपर्ने, न कतै जोखिम मोल्नुपर्ने, न कुनै प्रकारको श्रम नै पोख्नुपर्ने ! यसरी नै सिङ्गो देशमा उज्यालो आइदिए हामीजस्ता अल्छी सबभन्दा अगाडि सरेर स्वागतमा उभिन्थ्यौं होला ।

कथित् जनआन्दोलनका प्रथम शहीद दिलबहादुर रम्तेलका घरमा जो पनि त्यसरी नै जाने, बस्ने, खाने तर कसैले पनि उनीहरूको दुःखकष्टचाहिं नदेख्ने प्रवृत्तिले आफूहरूलाई पनि अपराधी ठानिरहेका सिन्धुलीयको टोली, त्यहाँबाट बिदा भएर अनजानमै १९ दिने जनआन्दोलनका एक घाइते नवराज पनेरूको घर हुँदै फर्कन्छन् ।

दोस्रो यात्रासंस्मरण अल्लारेहरूमा आफ्नै गाउँ गैयाँटारबाट नजिकै पर्ने च्याउँकोटको सूर्यास्तको दृश्य हेर्न दिउँसो २ बजे सहयात्रीहरू निकेश, प्रकेश र निरोजको साथमा गएको कुराको वर्णन छ । त्यति धेरै टाढाको बाटो नभए पनि ठाडो उकालो बाटो भएकोले, लागिसेको बाटो पनि फर्कनुजस्तो भइरहेको हुन्छ उनीहरूलाई । च्याउँकोटको थुम्कोमा पुगेर सूर्यास्तको दृश्य हेर्दाहेर्दे रात परेको पत्तै हुँदैन । फर्केर घर आइसकेपछि ,ठूल्दिदीले उनीहरूको चालामालालाई हेरेर, ‘अल्लारेहरू !’ भनेपछि वर्णन टुङ्गिएको छ ।

तेस्रो यात्रावर्णन बेतौना जाने बाटो कता हो दाइ ? को शुरूकै वाक्य दार्शनिक लाग्छ ,‘घोडाजस्तो वेगवान् गतिमा पनि आफैं दौडिनुपर्ने अनि गधाजस्तो गह्रौं भारी बोकेर पनि आफैं हिंड्नुपर्नेे अर्थात् घोडजस्तो गतिशील हुनसक्ने क्षमता भएर पनि गधाजस्तो भारीले थिचिएर हिंड्नुपर्ने । यस्तो घोड्गधा जिन्दगीबाट केही समय भए पनि मुक्त हुनुको अस्तित्व बेग्लै हुन्छ … ..।

२०५४ सालको तिहारको समयमा, माइली फुपूलाई हेटौंडामा काकाको घरमा पु¥याइदिने र आफूचाहिं त्यतैबाट सिन्धुली जाने कार्यक्रम बनेकोमा ‘सूर्योदय पुस्तकालयको निम्तो’ भनेर बालमुकुन्द कार्कीले चन्द्रनिगाहपुरको कार्यक्रममा बोलाइदिएपछि साहित्यिक कार्यक्रम भनेपछि हुरुक्क हुने सिन्धुलीय, निम्तो पाएर फुरुक्क पर्दै चन्द्रनिगाहपुरको कार्यक्रममा दिन बिताएपछि , त्यतै आसपासको गाउँमा काकाका धेरै समयदेखि भेट नगरिएका तीन छोरीहरूको घर भएकोले, आ–आफ्ना घरमा लाने बालमुकुन्द कार्की र रमेशमोहन अधिकारीको आग्रहलाई अस्वीकार गरेर लक्ष्मीपूजाको साँझपख त्यतैतिर घर भएका कोही साथहिरूको खोजीमा लाग्छन् । त्यस्तो साथीका रूपमा कवि मनु मञ्जिललाई भेटेपछि कोठियार जान लागेका मञ्जिल, बाटैमा पर्ने बनबोरीमा सिन्धुलीयलाई छाडिदिने गरी साइकालमा बसाउँछन् । तर सिन्धुलीय जानुपर्ने ठाउँ बनबोरी नभएर बेतौना थियो । त्यति भन्न नजानेर उनीहरू बनबोरीको नागिन टोल पुग्छन् । त्यतातरिको बाटोबारे, असनवा घर भएका मञ्जिललाई पनि थाहा हुँदैन र उनको ससुराली कोठियार जाने प्रस्ताव पनि मान्दैनन् सिन्धुलीय । अनि सोध्दै खोज्दै जाने क्रममा तल्लो बनबोरी पुग्छन् । रात धेरै छिप्पिसकेको हुन्छ । कहिले कुन गाउँ, कहिले कुन गाउँ, कहिले बस्तीबिनाकै खाली ठाउँ—यस्तै भोग्दै चार घण्टा फनफनी घुमेर खेप्नुसम्म दुःख खेपेपछि बल्ल सुभद्रा दिदीको घरमा पुग्छन् । भोलिपल्ट त्यही साइकलमा कार्यक्रमस्थलसम्म फर्किंदा साँढेसात मिनेट मात्रै लागेको हुन्छ ।

चौथो यात्रावर्णनको शीर्षक, शायद यात्रा असफल भएन भन्ने छ । यसमा पूर्वी नेपालको इलाम झापा हुँदै भारतको दार्जिलिङ पुग्ने हिसाबले हिंडेका चारजना सहयात्रीहरूको समूह, दार्जिलिङ बन्द भएको सुनेर इलामको पशुपतिनगरबाट फर्केर चियाबगानहरू,फिक्कल, केराबारी हेर्दै–घुम्दै बिर्तामोड हुँदै बिराटनगर–जोगबनी घुमिसक्दा सहयात्रीहरू कता कता अघिपछि भएपछि आफू एक्लै काठमाडौं काठमाडौं फर्केको बयान छ ।

पाँचौं यात्रावर्णन (ओ नायिका !) साहित्यिक हो । यसमा धर्मराज थापा, माधव घिमिरेलगायत विभिन्न साहित्यिकहरूसँगै गोरखाको मनकामनामा भएको साहित्यिक कार्यक्रममा गई भाग लिएको तर मनकामना माईको दर्शन नै नगरी फर्केको कुराको बयान छ । फर्कंदा बाटोमा सम्झेको ओ नायिका !, श्रवण मुकारुङको कविताको शीर्षक रहेछ ।

छैटौं शीर्षक यतै हुन सक्छ कतै मेरो गाउँ, सिन्धुलीयको प्रथम यात्रापरक रचना (२०५१) रहेछ । यसमा आफैंलाई दिइएको जिन्दगीकै पहिलो साहित्यिक पुरस्कार ग्रहण गर्ने सिलसिलामा काठमाडौंबाट काभ्रे पनौतीसम्म गएको र सम्मान ग्रहणपछि , रामप्रसाद ज्ञवालीले बसभाडा तिरिदिएकाले गोजीमा बचेको जम्माजम्मी दशरूपियाँको नोट राखेर पाँचखाल काभ्रेमा काम गर्ने बालसखा नवराज खनाललाई भेट्न पुग्छन् । भोलिपल्ट भान्जाको सौजन्यबाट दोलालघाट घुम्ने अवसर जुर्छ तर कारणवश बीचैबाट फर्कनुपर्ने हुन्छ । भान्जाले सुटुक्क गोजीमा हालिदिएको रू.एक सयको नोट, ‘पर्दैन,पर्दैन’ भन्दै गोजीमा नहराउने गरी खाँदेर दिउँसो चारबजेतिर पाँचखालबाट बिदा हुन्छन् ।

जलथर, थलचर र उभयचर सातौं यात्रापरक रचना हो । चारजनाको समूह भएर माघेसग्रातिका दिन पवित्र तीर्थ देवघाट जाँदाको र त्रिशूलीमा पौडी खेलेको रमाइलो कुरो छ यसमा ।

आठौं शीर्षकको विषयवस्तु छुट्टै छ ,यात्रा एउटा पात्रसँग । सिन्धुलीय, जीवित पात्र रामदाइलाई लिएर शुन्य डिग्री नामको एउटा उपन्यास लेख्तै छन् । सोही उपन्यासका प्रमुख पात्र रामदाइलाई लिएर उनी, काठमाडौंबाट मकवानपुरतिरको यात्रामा निस्कन्छन् । रामदाइ ज्यादै सहयोगी, समाजसेवी र समाजप्रिय मानिस हुन् । फुर्केचौरमा उनलाई नचिन्ने कोही छैनन् । हर्नामडीमा रामदाइकै नेतृत्वमा वन जोगाएको कुरा पनि त्यतातिरकाले बिर्सेका हुँदैनन् । जताततै रामदाइलाई ‘बस्नुपर्छ’ भनेर कर लगाइरहेका हुन्छन् । हेटौंडाका मनमोहन स्मृति टावर, शहीद स्मारक हेरेर काठमाडौं फर्कंदा पनि बाटोभरि रामदाइले चिनेका र रामदाइलाई चिनेकाहरूका कारणले बीचबीचमा अलमल हुन्छ । उपन्यासमा लेखिने पात्र नै रामदाइ भएकाले अर्को यात्रा पनि हुन्छ , रामदाइसँग । त्यसको शीर्षक सिन्धुलीयले रामदाइसँग अर्को यात्रा राखेका छन् । यो यात्रामा रामदाइ र सिन्धुलीय काठमाडौंको जोरपाटी, साँखु हुँदै सिन्धुपाल्चोकको सिन्धुकोटतिर लाग्छन् । साँखुबजार नजिकैको बस्तीबाट ४२ वर्षअघि मकवानपुर झरेका रामदाइलाई त्यतातिरको भूगोलको खुबै माया र चासो लागेर आउँछ । पहिलोपटक बस छुटेकाले फर्किएका दुवैजना दोस्रोपटक बाइक लिएर गएकामा मध्यबर्खाको समय भएकोले हिले उकालोमा दुःख पाउँदै, बाइक घिस्याउँदै, बेकार आइएछ भनेर पछुताउँदै धुसेनीचौर, सुलीघ्याङ, अँधेरी झरना डुलेर काठमाडौं फर्किन्छन् ।

किताबको नाम कल्पना पाण्डे : दूध हालेको चिया खान्छे राखिए पनि अन्तिम यात्रासंस्मरणको शीर्षक कालो कि दूध हालेको ? राखिएको छ । शायद यही प्रश्नको उत्तरमा किताबको नाम राखिएको होला । यस यात्रासंस्मरणमा, अन्य साहित्यकारहरूसँगै नेपाल साहित्यिक पत्रकार सङ्घ, केन्द्रीय समितिको आतिथ्यमा पर्वत र बागलुङको भ्रमण गरी फर्कने क्रममा धादिङको मलेखुमा आइपुग्दा त्यहाँको एउटा होटलमा भेटिएकाी एउटी सुस्त मनस्थितिकी केटीको प्रसङ्ग उल्लेख गरिएको छ । १५–१६ वर्षकी ती नानी दुई हात जोडर सिन्धुलीयको अगाडि उभिन्छिन् । उनको दोहोरो तेहेरो प्रश्न हुन्छ ,‘भर्खर आउनुभएको हो ? चिया खानुहुन्छ ? कस्तो खानुहुन्छ ? कालो कि दूध हालेको ?’ सिन्धुलीयले दोहो¥याई तेहे¥याई, ‘तिम्रो नाम के हो अरे ?’ भनेर प्रश्न गरे पनि उनको उत्तर भने एउटै हुन्छ—

‘कल्पना पाण्डे : दूध हालेको चिया खान्छे’

‘कल्पना पाण्डे :  दूध हालेको चिया खान्छे क्या !’

त्यत्तिकैमा त्यतैको होटलबाट लिएको आलुचिप्स खाइसकेकी कल्पना पाण्डे.. अकस्मात् कता लाग्छिन् ,त्यो थाहै हुदैन सिन्धुलीयलाई । हेर्न खोजेर पनि नदेखेपछि उनलाई निकै न्यास्रो लाग्छ । त्यति राम्रो स्वागत् कसैले पनि नगरेको ठान्ने ती बालिकाप्रति यति मायालु र संवेदनशील भएछन् , उनले आफ्नो यो किताबको नामै उनकै नाम र बोलीबाट राख्न पुगे ।

साहित्यिक अभियानमा सक्रियता, पत्रिकाका सम्पानदमा सिद्धहस्तता र कतिपय पुस्तकहरूको भूमिकादि लेख्नमा पनि रूचि राख्ने सिन्धुलीय, यात्राका घटनाहरूलाई सजीव ढङ्गले बयान गर्नमा पनि सफल देखिन्छन् । वर्णनशैली कुतूहलमय छ । स्वदेशी प्रकृति र भूगोलका विभिन्न रूप र पाटा पक्षहरूलाई विभिन्न सन्दर्भमा प्रस्तुत गर्दा, सिन्धुलीय एकजना देशभक्त नेपाली भएर अरूलाई पनि सोको पाठ पढाइरहेका देखिन्छन् । यी दशवटा यात्रावर्णन पढिसक्ता पाठकहरूले, उनीसँगै यात्रामा निस्किएको अनुभव पनि गर्नेछन् । लेखाइमा यति मिठास छ ,कुनै पनि शीर्षक पढ्न थालेपछि त्यो नसिध्याएसम्म चैन नै हुँदैन । वर्णनमा क्र्रममा उनी बीचबीचमा दार्शनिक बन्छन् । उदाहरण, अनुभव र प्रष्टीकरणमा उनी सूक्तिमय वाक्यहरूको प्रयोग गर्छन् । कतै पनि ढाँट्न जानेका छैनन् । जोसँग पनि छिटै घुलमिल हुन र ठट्टा गर्न रुचाउँछन् । । पूरै पुस्तक पढिसक्ता, थाहै नपाई पाठकहरूलाई आफ्नो बनाइसकेका हुन्छन् सिन्धुलीयले । अनि सबैको सहानुभुति र खोजी उनै पात्रको हुन्छ , जसले यो किताबको नाम दिइराखेर आफू भने कतै हराइन् ।

प्रतिक्रिया