आकाशे पुलको अभावमा सडक दुर्घटनाको सम्भावना बढी

pul aayakaseaप्राृकतिक रूपले समद्ध नेपालमा भिन्न क्षेत्रमा भिन्न सम्भावना नभएको होइन । यो सम्भावना काठमाडौं होइन, मोफसलमा पनि छ । अहिले हाम्रा माझ थुप्रै आवश्यकता होलान् । यी मध्ये व्यस्त काठमाडौं सहरको भिडलाई कम गर्नु पनि हो । यसको एउटा उपाय काठमाडांै बाहेकका अन्य सहरको भौतिक विकास र व्यवस्थापनले अर्थ राख्छ नै ।

पश्चिम नेपालको महत्वपूर्ण सहर बुटवल । लुम्बिनी अञ्चलका अन्य जिल्लालाई काठमाडौंसहित अन्य ठूलो सहरसँग जोड्ने क्रममा यो सहरको व्यवस्थापन महत्वपूर्ण पाटो हो । यसकारण काठमाडौं सहरमा भित्रिएको आधुनिकता र भौतिक विकासको क्रममा बुटवललाई छोएन भने काठमाडांैको व्यवस्थापन मात्र महत्वहीन हुन सक्छ । किनकी यो सहर काठमाडौंको अर्को उपयुक्त विकल्प पनि हो ।

यसै सहरमा लामो समयदेखि योजनामा रहेको आकाशे पुलसमेत वर्षांै बित्दा बन्न सकेको छैन । बुटवल उपहानरपालिकाले आफ्नो वार्षिक कार्ययोजनामा ७ वर्षदेखि आकाशेपुल निर्माणलाई योजनामा राख्दै आएको छ । योजनामा राखिने गरेको आकाशे पुलले भने मूर्त रूप भने दिन सकेको छैन । आकाशे पुल नबन्नुको कारण उपमहानगर पालिकाले हल्का ढंगले दिने गरेको छ । ‘भौतिक योजना तथा निर्माण मन्त्रालयमा माग गरेको हो बजेट स्वीकृत भएन बनेन ।’ नगरपालिकाले दिने गरेको जवाफ हो यो ।

आर्थिक वर्ष ०६५÷६६ बाट उपमहानगर पालिकाले आकाशे पुललाई योजनामा राख्ने र नबनेको जवाफ दिने क्रम चलिरहेको छ । गत आर्थिक वर्ष ०७१÷७२ मा पनि नगरपालिकाको निर्णय नम्बर ६० को बुँदा नम्बर ११ मा आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक चोक, मिलन चोक र राजमार्ग चौराहामाको लागि केन्द्रीय मन्त्रालयसँग बजेट माग गर्ने भनेर निर्णय गरेको थियो । यो क्रम चालु आर्थिक वर्ष ०७२÷७३ मा पनि चलिरहेको छ । नगरपालिकाको वार्षिक बजेट कार्ययोजनाको निर्णय नम्बर ६५ को बुँदा नम्बर ९ मा सोही बुँदा दो¥याएको छ । नगरपालिकाले प्रत्येक वार्षिक योजनामा आकाशेपुल निर्माणका लागि पहल गर्ने गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन ।

आकाशे पुलको अभावमा पैदल यात्रुहरूले जोखिम मोलेर बाटो काट्न बाध्य छन् । सडक दुर्घटनाको सम्भावना बढी रहेको छ । बिहीवार बुटवलको अस्पताल लाइनमा रहेको जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा गुल्मीकी दीक्षा अधिकारीलाई गोलपार्कबाट आउँदै गरेको माइक्रोले झन्डै ठक्कर दिएन । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले निर्माण गरेको जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा उनी जोखिमले बाटो काटिन् । बाटो पार गर्नका लागि बीचमा पुगेका उनी जस्तै अन्य यात्रु करिब ५ मिनेट बीच बाटोमा नै रोकिएका थिए । कारण सडकमा गुड्ने सवारी साधनको चाप बढी थियो भने जेब्राक्रसिङबाट पैदलयात्रुले बाटो काट्दा सवारी सधानको गती सुस्त बनाउनुपर्छ वा रोक्नुपर्छ भन्ने चालक चेतना अभावको कारण पछिल्लो समयमा सडक विस्तारपछि निर्माण गरिएका जेब्राक्रसिङ नै पैदल यात्रुका लागि जोखिमपूर्ण बन्ने गरेको छ । ‘जेब्राक्रसिङबाट बाटो काट्दा पनि यस्तो जोखिम,’ बुटवल–८ अस्पताल लाइनका स्थानीय राजन खनालले भने ।

सवारीको संख्या थपिँदै जाँदा ट्राफिक प्रहरीलाई समेत ट्राफिक व्यवस्थामा चुनौति थपिएको छ । ‘सवारी साधनकै कारण जाम हुने अवस्था नभए पनि बढ्दो सवारीले समस्या पारेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डे बताउँछन् । उनी भन्छन्, ‘सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा पनि चुनौति थपिँदै गएको छ ।’

यातायात व्यवस्था कार्यालयका अनुसार लुम्बिनी अघिल्लो आर्थिक वर्षमा झन्डै १६ हजार नयाँ सवारी साधन थपिएका छन् । नयाँ सवारी थपिएपछि लुम्बिनी अञ्चलमा सवारी साधनको संख्या १ लाख ५१ हजार ६ सय पुगेको छ । यातायात व्यवस्था कार्यालय लुम्बिनीका अनुसार दैनिक करिब ५० वटा नयाँ सवारी साधन दर्ता भइरहेका छन् । थपिनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । आर्थिक वर्ष ०७१÷७२ मा १३ हजार ६ सय ५८ वटा मोटरसाइकल दर्ता भएको छ । यसैगरी ट्रयाक्टर÷पावर टेलर १ हजार ३ सय १६, बस २ सय ३६, कार÷जीप÷भ्यान १ सय ९३, पिकअप १ सय ५९, मिनिबस÷मिनिट्रक ६२, ट्रक÷टिपर ५७, क्रेन÷डोजर÷एक्साभेटर÷लोडर ८ र एम्बुलेन्स १६ वटा दर्ता भएका छन् ।

त्यसो त बजेट स्वीकृत भए केही महिनामा बुटवलका तीन स्थानमा आकाशेपुल निर्माणको प्रक्रिया सुरु हुने उपमहानगरपालिकाले जनाएको छ । तथापि समयको प्रतिकूलताको कारण उक्त अवधि केही लम्बिन पनि सक्छ ।

बुटवल उप–महानरपालिकाका योजना तथा प्राविधिक महाशाखाका योजना प्रमुख सुमन श्रेष्ठले प्रत्येक वर्ष वार्षिक कार्ययोजनामा बुटवल उपमहानगर पालिकाले आन्तरिक श्रोतबाट कार्यसम्पादन गर्न नसकिने योजनाहरूलाई केन्द्रमा पहल गरेको जानकारी दिए । उनले बुटवल उपमहानगर पालिकाले केन्द्रको लागि निरन्तर पहल गरेको जानकारी गराउँदै यस विषयमा सडक डिभिजन कार्यालयले हेर्ने जानकारी गराए । उनले भने, ‘हामीले योजनाका लागि केन्द्रमा पहल गरेका हौँ, केन्द्रबाट भएको प्रगतिको विषयमा जानकारी भएन ।’

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बुटवलका विभिन्न ३ स्थानमा आकाशे पुल निर्माणका लागि कार्ययोजना अगाडि बढेको जानकारी दिए । उनले भने, ‘बुटवलको अस्पतालाइन, मिलनचोक र पुष्पलाल पार्क नजिकै आकशे पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।’ ती स्थानमा बिहान ९ देखि १० बजे र साँझ ४ बजेदेखि ५ बजेसम्मको समयमा यातायातका साधनका कारण बाटो काट्नका लागि कठिनाइ हुने गरेको छ ।

अहिले तीन स्थानमा आकाशे पुल निर्माणका लागि मन्त्रालयमा फाइल पेस भएको र अबको केही दिनमा मन्त्रालयबाट फाइल स्वीकृत भएपछि काम सुरु हुने जानकारी दिए । उनले भने, ‘अबको केही महिनामा फाइल स्वीकृत भएर बजेट विनियोजन भएपछि काम अगाडि बढ्छ ।’

मन्त्रालयबाट स्वीकृती प्रदान भएपछि करिब २ महिनामा निर्माणका लागि कार्य प्रारम्भ हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । अबको २ महिनामा टेन्डर आह्वान गर्ने कार्य प्रारम्भ हुने छ । आकाशे पुलसँगै बुटवलको सौन्दर्यको लागि सडक बत्तीलगायत व्यवस्थापन गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयका अनुसार अबको करिव २ देखि अढाई वर्षमा उक्त काम सम्पन्न गर्ने योजना रहेको छ ।

दुर्घटनाको जोखिम बढ्दो

लुम्बिनी अञ्चलमा सवारी दुर्घटनाको क्रम बढेको छ । आर्थिक वर्ष ०७१÷७२ मा लुम्बिनी अञ्चलका ६ जिल्लामा ७ सय ५४ वटा सवारी साधन दुर्घटना परेका छन् । ती सवारी दुर्घटनामा पर्दा २ सय ८४ जनाले ज्यान गुमाएका छन । यो गत वर्षको भन्दा २ सय ४४ बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष ०७०÷७१ मा लुम्बिनी अञ्चलमा ५ सय १० ओटा सवारी साधन दुर्घटनाममा परेका छन् । ती सवारी दुर्घटनमा पर्दा ३ सय २४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७१÷७२ मा लुम्बिनी अञ्चलमा भएका ७ सय ५४ ओटा सवारी साधन दुर्घटना मध्ये रूपन्देहीमा १ सय ८२, कपिलबस्तुमा १ सय, नवलपरासीमा ३ सय १२, पाल्पामा ९७, गुल्मीमा ४० र अर्घाखाँचीमा २३ ओटा सवारी साधनहरू दुर्घटना परेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ती दुर्घटनामा परी रूपन्देहीमा ८३ जना, नवलपरासीमा १ सय १ जना, कपिलबस्तुमा ४३ जना, पाल्पामा २८ जना, गुल्मीमा १७ जना र अर्घाखाँचीमा १२ जनाले ज्यान गुमाएका छन् । भने ५ सय ४ जना व्यक्तीहरू गम्भीर घाइते भएका थिए ।

त्यस्तै सोही आर्थिक वर्ष ०७१÷७२ मा लुम्बिनी अञ्चलमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ८ हजार ७ सय ७९ सवारी साधनलाई कारवाही गरी ६ करोड ६ लाख ७५ हजार ३ सय ५० रूपैयाँ राजस्वसमेत संकलन गरिएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले बुटवलले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष ०७०÷७१ मा भन्दा आव ०७१÷७२ मा रूपन्देहीमा सवारी साधन दुर्घटना संख्यामा वृद्धि भएको छ । आव ०७०÷७१ मा जम्मा ६२ ओटा सवारी साधन दुर्घटना भएको जसमा ४२ जनाले ज्यान गुमाएका थिए । ती क्षेत्रहरू बाहेकका जिल्लाका अन्य क्षेत्रहरूमा आर्थिक वर्ष ०७१÷७२ मा रूपन्देहीमा ७० ओटा सवारी दुर्घटना भएको ती दुर्घटनामा ४५ जनाले ज्यान गुमाएको तथ्यांक पाइन्छ । दुर्घटनामा परी ४७ जना गम्भीर घाइते भएको तथा १ सय ३ ओटा सवारी साधन दुर्घटनामा संलग्न रहेका थिए । जसमा बस १२ ओटा, ट्रक १६ ओटा, मोटरसाइकल ५१ ओटा, कार जिप १० ओटा र अन्य १४ ओटा रहेका थिए ।

प्रतिक्रिया