विद्यालयमा फोनइन

बर्दिवास । मधेसका सामुदायिक विद्यालयको पठनपाठन लथालिंग भइरहेको गुनासो बढिरहेका बेला महोत्तरी जिल्लाको बर्दिवास–४ गौरीडाँडास्थित जनता माविको पठनपाठन व्यवस्थापनले अभिभावकको मन तानेको छ ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्म पठनपाठन भइरहेको सो विद्यालयले विद्यार्थी भर्नादेखि उपस्थितिसम्मको कुरालाई प्रभावकारी बनाउन सञ्चालन गरेको ‘फोनइन’ कार्यक्रमले आमअभिभावकको मन खिचेको हो ।

मधेस आन्दोलनका नाउँमा जिल्लाका बर्दिवास नगरपालिका क्षेत्र र खयरमारा गाविसभित्रका बाहेक सबैजसो विद्यालय बन्द रहेका बेला आफ्ना प्रत्येक विद्यार्थीको सोधखोजका लागि विद्यालयले सञ्चालन गरेको ‘फोनइन’ कार्यक्रमले विद्यार्थी उपस्थितिलाई नियमित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

घरकै कामले कुनै दिन आफ्ना छोराछोरी विद्यालय जान नसकेका दिन प्रधानाध्यापकले अभिभावकलाई फोन गरेर तत्काल विद्यार्थी ल्याइदिन अनुरोध गर्ने गरेकाले अब खासै उपयुक्त कारण बाहेक आफ्ना छोराछोरी सधैँ विद्यालय जाने गरेको अभिभावक बताउँछन् ।

विद्यालयका प्रधानाध्यापकले विद्यार्थीमा पठनपाठनको रुचि, समस्या र अभिभावकले ध्यान दिनुपर्ने कुरा फोनबाटै जानकारी दिएपछि घरमा नानीहरूको देखभाल गर्न निकै सहयोग हुने गरेको अभिभावकले बताएका छन् । (सौस)

प्रतिक्रिया