महिला कुस्ती खेलाडी छानिए

sag selection kustiकाठमाडौं, १३ पुस । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला कुस्ती खेलाडी सोमबार छनोट भएका छन् ।

१२औँ दक्षिण एसियाली खेलकुद तयारी कार्यकारी समितिद्वारा आयोजित राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताबाट ८ महिला खेलाडी छनोट भएका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा इलामकी सुमित्रा राई पहिलो भइन् । सुमित्राले पर्साकी पूजाकुमारी श्रीवास्तवलाई पराजित गरिन् । ५३ केजीमा कञ्चनपुरकी ईश्वरी थापा पहिलो भइन् । ईश्वरीले इलामकी रोशनी राईको चुनौती पन्छाइन् । ५५ केजीमा धनकुटाकी शर्मिला राइले आफ्नै जिल्लाकी राधिका रोकायालाई हराउँदै छनोट भइन् ।

महिलाको ५८ केजीमा कञ्चनपुरकी लक्ष्मी खत्री, ६० केजीमा रुकुमकी कविता पुन, ६३ केजीमा सप्तरीकी शान्ति चौधरी, ६९ केजीमा लीला सिंह तथा ७५ केजीमा मोरङकी भानु थापलिया छनोट भए । पाँचै खेलाडीले कुनै प्रतिद्वन्द्वी नपाएपछि उनीहरू सागका लागि स्वतः छनोट भएका हुन् ।

महिलातर्फ ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । छनोट संयोजक एवं वरिष्ठ कुस्ती प्रशिक्षक विद्यासागर पोखरेलका अनुसार नेपालमा महिला कुस्तीको राष्ट्रव्यापी प्रतियोगिता भएको पहिलोपटक हो । यसअघि महिलाको प्रदर्शनी खेल मात्र भएको पोखरेलले जनाएका छन् । सागमा पनि महिला कुस्ती पहिलोपटक समावेश गरिएको हो ।

पुरुषमा पनि आठै खेलाडी सागका लागि छनोट गरिने छ । पहिलो दिनको खेल समाप्तिसम्म एक पुरुष खेलाडीको टुंगो लागिसकेको छ । ११औँ सागका रजतधारी सत्येन्द्रप्रसाद यादव १ सय २५ केजी तौलसमूहमा छनोट भएका छन् । सत्येन्द्रले पनि प्रतिद्वन्द्वी भेटाएनन् ।

अन्य स्पर्धाको ५७ केजीमा पर्साका जयमंगल यादव, ६१ केजीमा बाराका रामबाबु यादव, बाराका प्रमालाल यादव र रौतहटका भगवत साह तथा ६५ केजीमा पर्साका सरोज यादव र बाराका धुपलालप्रसाद यादवले जित हात पारेका छन् ।

त्यस्तै ७४ केजीमा नेपाल आर्मी क्लबका भेषराज पण्डित र बाराका सन्देश पण्डित, ८६ केजीमा बाँकेका रमेश गोतामे र १०औँ सागका रजतधारी बाराका बुनीलाल यादव तथा ९७ केजीमा पर्साका सुमिर साह र सिरहाका जितेन्द्रप्रसाद यादवले आआफ्नो खेल जितेका छन् । पुरुषमा ३६ खेलाडी सहभागी छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

सागमा कुस्तीले तेस्रो संस्करणदेखि प्रवेश पाएको थियो । नेपाल त्यसको अर्को संस्करण चौथोदेखि निरन्तर सहभागी हुँदै आएको छ । हालसम्म कुस्तीले सागमा ४ रजत र ९ कास्यपदक नेपाललाई दिलाएको छ ।

प्रतिक्रिया