तरकारी खेतीबाट चिनिएका भन्डारी

काठमाडौं, १३ पुस । दुई दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न पाल्पा जिल्लाको मदनपोखराका किसान धु्रवप्रसाद भण्डारी यतिबेला जिल्लामै सफल कृषक बनेका छन् । भण्डारीले बजारको मागअनुसार तरकारी लगाएकै कारण उनको घरमा दिनहुँ व्यापारीको भीड लाग्ने गर्दछ ।

आफ्नो जीवन नै तरकारी लगाउने, बिक्री गर्ने काममा समर्पित गरेका भण्डारीको जति उमेर ढल्किँदै गयो उति नै झन् व्यवसायप्रति मोह बढ्दै गएको छ । रोगले नसमातेसम्म तरकारी नै लगाउने इच्छा ५३ वर्षीय भण्डारीको रहेको छ । बाह्रै महिना तरकारी उत्पादन हुने भएपछि भण्डारी धेरै ग्राहकको रोजाइको पात्र बनेका हुन् ।

०५० सालमा १७ रोपनी जग्गाबाट सुरु गरेको व्यवसाय फस्टाउँदै गएको उनले बताए । उनी अहिले २० रोपनीमा तरकारीखेती गर्दै आएका छन् । गोलभेँडा, काउली, बन्दागोभी, सिमीजातका तरकारी उत्पादनलाई प्राथमिकता दिँदै आए उनले वार्षिक ७ लाख रुपैयाँसम्म तरकारी बिक्रीबाट आम्दानी गर्छन् ।

‘एउटै याममा २० टनभन्दा बढी गोलभेँडा उत्पादन हुन्छ’ उनले भने । तानसेन र बुटवल बजारलाई लक्षित गरी व्यवसाय थालेका भण्डारी बिक्री वितरणमा समस्या नभएको बताए । ‘सुरु सुरुमा डोकोमा लगेर तरकारी बिक्री गर्थें, अहिले त व्यापारी गाडी लिएर घरमै आउने गर्छन्’ उनले भने ।

कृषि भनेपछि हेलाको दृष्टिकोण राख्नेका लागि आफूले यही व्यवसायलाई नै दिगोरूपमा गर्ने अठोट राखेर गरेको र सोचेअनुसारको सफलता मिलेको भण्डारीको भनाइ छ । अहिले गाउँमा पढेलेखेका युवाको पनि जागिरको सट्टा कृषिमा आकर्षण बढ्दै गएको छ । ‘अर्काको कुरा सुनेर तरकारी बेच्न लाज मानेको भए मैले यो सफलता पाउने थिइनँ’ उनले भने । भण्डारीको बारीमा बाह्रै महिना तरकारी फलेको देख्न पाइन्छ ।

भण्डारीले तरकारी व्यवसायसँगै अहिले पुष्पखेती पनि सुरु गरेका छन ्। गत वैशाखबाट सुरु गरेको पुष्प व्यवसायबाट उनले अहिलेसम्म फूल र बिरुवा बेचेर ७० हजार रुपैयाँ आम्दानी लिइसकेका छन् । गुलाब, लालुपाते, एकजरा, इन्डोरप्लान्ट, धूपिलगायतका विभिन्न जातका फूलको बिरुवा उत्पादन गरी विक्री गर्न थालेका छन् । उनले तरकारी र पुष्प व्यवसाय सञ्चालनका लागि पाँचजना कामदारलाई रोजगारी पनि दिएका छन् । बुटवलबाट बिरुवा खरिद गरेर ल्याई थालेको पुष्प व्यवसायलाई पनि तरकारी व्यवसायसँगै अगाडि बढाउँदै लैजाने सोच भण्डारीको छ ।

प्रतिक्रिया