सूर्यविनायक आयल स्टोरमा तालाबन्दी

nigamकाठमाडौं, १३ पुस । भक्तपुर सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा सोमबार वाणिज्य विभागले सिलबन्दी गरेको छ । पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशंकामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो ।

डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो ।

बिहान डिजेल वितरण गरेलगत्तै गाडी चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले ५ वटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा ३ ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताए ।

उक्त पम्पमा डिजेल भरेका बा २ ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले ४ दिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४ हजार लि डिजेल आएको र आज बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिइन् । पम्प सञ्चालक मधु प्रधानांगले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गरे ।

प्रतिक्रिया