डेढ करोडको जडीबुटी निकासी

काठमाडौं, १३ पुस । प्युठान जिल्लामा गतवर्ष १ करोड ६६ लाख रूपैयाँ बराबरको जडीबुटी जिल्लाबाहिर निकासी भएको छ । रिट्ठा, दालचिनीको बोक्रा तथा पात, टिमुर र अल्लो जिल्लाबाहिर निकासी भएको हो ।

जिल्ला वन कार्यालयका अनुसार उक्त अवधिमा ४५ हजार ४ सय किलो टिमुर मात्रै निकासी भएको छ । जडीबुटीजन्य वस्तुबाट किसानले मनग्य आम्दानी गर्ने गरेको जिल्ला वन अधिकृत धनञ्जय लामिछानेले बताए ।

‘टिमुरबाट किसानले ६८ लाख १० हजार रुपैयाँ आम्दानी गरेका छन् ।,’ उनले भने । त्यस्तै व्यक्तिगत, राष्ट्रिय र निजी वनबाट ५८ हजार किलो रिट्ठा जिल्लाबाहिर निकासी हँुदा ४ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको छ ।

सामुदायिक र राष्ट्रिय वनमा उत्पादन भएको ४७ हजार ६ सय ६८ किलो दालचिनीको बोक्रा निकासी हुँदा ३८ लाख १३ हजार ४ सय रूपैयाँ किसानले आम्दानी गरेका छन् ।

यस्तै ८९ हजार ६ सय ८५ किलो दालचिनीको पातबाट ३५ लाख ८७ हजार ४ सय रूपैयाँ आम्दानी भएको छ । वनमा आधारित वस्तुअन्तर्गत १ वर्षको अवधिमा २ हजार ७ सय ९५ किलो अल्लो निकासी हुँदा १९ लाख ५६ हजार रूपैयाँ आम्दानी भएको छ ।

‘उत्पादित वस्तु राष्ट्रिय वनको भएमा केही राजस्व तिर्नुपर्छ, अन्यमा राजस्व लाग्दैन,’ वन अधिकृत लामिछानेले भने । जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन र प्रशोधन केन्द्रको आवश्यकता रहेको छ ।

प्रतिक्रिया