काभ्रे, १३ पुस । काभ्रे प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा एक ट्रक अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको चलालगणेशस्थानबाट बनेपातर्फ आइरहेको बा २ ख ८३६१ नं. को मिनीट्रकलाई प्रहरीले पक्रेको हो ।
गाडीमा जिल्ला वन कार्यालय धुलिखेलको पत्र देखाइएको भए पनि सो अनुसारको काठ नभई गुरासको काठ भएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधन र उक्त गाडीमा रहेको काठसहित काठ धनी हिमशिखर काष्ठ उधोग तथा समिल प्रतिनिधि राजेन्द्र कार्की र सवारी चालक ध्रुव सापकोटालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जनाएकोछ ।
घटनाको मुख्य नाइके भनिएको अर्काव्यक्ति शिव महत भने फरार रहेका छन् । उनिहरूले आपसी मिलेमतोमा राष्ट्रिय प्रजातिको काठहरू तस्करी गर्दै आएको बताइएको छ । उता जिल्ला वन कार्यालयले बिगो कम देखाउँदै सफाई दिँदै आएको सर्वसाधरणले गुनासो गरेका छन् । स्रोतका अनुसार कर्मचारीको मिलेमतोमा तस्करीको प्रकृती सेटिङ हुँदै आएको बताइन्छ । पटकपटक तस्करीमा संलग्न रहेको भए पनि प्रहरीले भने पक्रदै छोड्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।
प्रतिक्रिया