कार्यकारी नियूक्तीले व्याबसायी उत्साहित

anchoringकाठमाडौ, ३ पुस । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । चार वर्षदेखि पर्यटन बोर्ड सिइओ वीहिन हुँदा पर्यटन प्रवर्धनको काम प्रभावकारी हुन सकेको थिएन ।

सोमबार साँझ पर्यटन सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले दीपकराज जोशीलाई सिइओमा नियुक्त गरेको हो । २०६८ कार्तिक १४ गतेदेखि बोर्ड कार्यकारी प्रमुख वीहिन थियो । सुभाष निरौलाले आफु कार्यकारी बन्नका लागि अदालतको बाटो रोजेपछि बोर्डमा सिइओ नियुक्तीको काम अवरुद्ध हुँदै आएको थियो ।

‘बोर्डले ढिलै भएपनि कार्यकारी प्रमुख पाएको छ, यसले पर्यटन व्यवसयीमा उत्साह थपेको छ’ पर्यटन व्यवसायी सुमन पाण्डेले भने, ‘पारदर्शी तरिकाले निजी क्षेत्रको भावनलाई कदर गर्ने सिइओ पाएका छौं ।’

नयाँ कार्यकारी प्रमुख जोशीले निजी क्षेत्रको हितमा हुनेगरी काम गर्ने व्यवसायीको विश्वास छ । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनले पर्यटन सुस्ताएको छ । सुस्ताएको पर्यटनलाई अगाडि बढाउन नयाँ सिइओले प्रभावकारी भूमिका निर्वाह गर्नेमा व्यवसायीहरु आशावादी छन् ।

नेपाल ट्रेकिङ एजेन्टस् एशोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमलाले पनि बोर्डमा सिइओ नियुक्त भएपछि आफुहरुमा उत्साह थपिएको बताए । ‘लामो समयदेखि रोकिएको कामले पूर्णता पाएको छ, अनुभवी व्यक्ती सिइओ बन्नुभएको छ’ उनले भने, ‘विश्वास छ, उहाँले आफ्नै भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुहुनेछ ।’

होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले ढिलै भएपनि सिइओ नियुक्त भएपछि बोर्डले पूर्णता पाएको बताए । नयाँ सिइओको आगमनसँगै बोर्डमा रोकिएका कामहरु अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे ।

‘सार्वजनिक निजी साझेदारी मोडलबाट सञ्चालित बोर्डमा निजी क्षेत्रको बाहुल्यता रहेको छ, निजी क्षेत्रले नेतृत्व गर्ने बोर्ड हाम्रै लागी स्थापना भएको हो’ शाहले भने, ‘१४÷१५ वर्षदेखि बोर्डमै रहेर काम गरेको अनुभवी मान्छे कार्यकारी बन्नुभएको छ, उहाँ कस्सिनुभयो भने पर्यटनलाई गति दिनसक्नुहुन्छ ।’

बोर्डमा सुभाष निरौला निमिक्त सिइओ भएपछि बोर्ड निजी क्षेत्रतिर नभई सरकारतिर ढल्किएको पाटा नेपालका अध्यक्षसमेत रहेका पाण्डे बताउँछन् । निरौलाको गलत सोँचका कारण बोर्ड सरकारमुखी भएको उनको भनाई छ । तर, नयाँ सिइओको आगमनसँगै बोर्डले निजी क्षेत्रको हितमा हुनेगरी काम गर्ने उनको विश्वास छ ।

टानका पूर्वअध्यक्ष धमलाले पारदर्शी ढंगले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्धन गर्न नयाँ सिइओ जोशीलाई सुझाव दिएका छन् । ‘लामो समयदेखि बोर्डले परिणममुखी काम गर्न सकेको छैन’ उनले भने, ‘नयाँ सिइओले परिणाम आउने गरी काम गर्नुपर्छ, नतिजा आउन सकेन भने त्यसको सार्थकता रहँदैन ।’

पर्यटन बोर्डमा बजेट धेरै भएको हुँदा पर्यटन प्रवर्धनका कामहरु गर्न गाह्रो नहुने हानका महासचिव शाक्य बताउँछन् । ‘बोर्डमा कामहरु धेरै गर्नुपर्ने छ, प्रमोसनका कामहरु भएका छैनन’ शाक्यले भने, ‘सिइओले राम्रो योजना बनाएर अगाडि बढेमा निजी क्षेत्रले सहयोग गर्छ ।’

शुन्यमा झरेको पर्यटनलाई गति दिन धेरै चुनौतीहरु छन् । चुनौती चिर्दै अगाडि बढ्न बोर्डमा सबैलाई समेट्ने गरी राम्रो टिम बनाउनुपर्ने पाटा अध्यक्ष पाण्डेको सुझाव छ ।

‘अहिलेको परिस्थितीसँग जुध्न सक्ने दक्ष, अग्रगामी, इमान्दार, भिजन भएको टिम निर्माण गर्नुपर्छ’ पाण्डेले भने, ‘अनि निजी क्षेत्र र बोर्ड आपसमा सहकार्य गरी पर्यटन प्रवर्द्धनका कामहरु अगाडि बढाउनुपर्छ ।’

प्रतिक्रिया