चेतना बढ्यो बालविवाह घट्यो

नवलपरासी, ३ पुस । जनचेतना वृद्धि भएपछि बालविवाह घटेको छ । नवलपरासीको धौवादी, देउराली र मध्यबिन्दु नगरपालिकाको साबिक तम्सरिया गाविसमा यस्तो देखिएको हो । त्यहाँ स्थित सामाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडिआरसी) गैँडाकोटले एक वर्ष सञ्चालन गरेको जनचेतना अभिवृद्धिबाट बालविवाहमा कमी आएको स्थानीयवासीले बताएका हन् ।

बालविवाह विशेषगरी अहिले पनि नेपालको तराई क्षेत्रमा बढी हुने गरेको भए पनि ती गाविसमा भनी कमी आएको छ । सन् २०१४ को जनवरीदेखि सन् २०१५ मार्चसम्म गरेको एक अध्ययनमा धैवादीमा ६५,  देउरालीमा १०० र तम्सरियामा ५५ जनाले बालविवाह गरेको भटिएको थियो । सन् २०१५ मार्चदेखि हालसम्म धौवादीमा २०,  देउरालीमा २० र मध्यबिन्दु नगरपालिका साबिक तम्सरिया गाविसमा १४ जनाले मात्र बालविवाह गरेको भेटिएको एसडिआरसीकी कार्यक्रम संयोजक शोभा कोइरालाले बताए । सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक हिसाबले परिपक्व नहुने र सानै उमेरमा गर्भधारणा गर्दा ज्यानै जान सक्ने सन्देश स्थानीय बालबालिकाको माध्यमबाट सामाजिक विकास तथा अनुसन्धान केन्द्रले अभिभावकलाई सचेतना गराएको थियो ।

यहाँका बाल क्लब, बाल सञ्जाल, गाउँ बाल संरक्षण तथा संवद्र्धन समिति तथा विभिन्न विद्यालयमा विविध किसिमका तालिम, बाल विवाह र बाल यौन दुव्र्यहारविरुद्ध सचेतना, विपन्नलाई पढाइ खर्च तथा स्टेसनरी सहयोगी सामग्री प्रदान गरिरहेको परियोजनाका संयोजक शोभा कोइरालाले जानकारी दिए ।

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले दिएको तालिम तथा जनचेतना कार्यक्रमको माध्यमबाट बालविवाह हुने स्थानमा सडक नाटकसहित सम्झाई बुझाई गर्ने गरिएको मध्यबिन्दु नगरपालिका साबिक तम्सरिया गाविसका प्रमुख देवकोटाले बताए । यसरी पाएको तालिम तथा सहयोगबाट बालबालिकामा नेतृत्व क्षमतामा वृद्धि हुनुका साथै आफ्नो अधिकार र कर्तव्यका बारेमा पनि बोल्न सक्ने भएको स्थानीय बालबालिकाको भनाइ छ ।

प्रतिक्रिया