भेडेटार फुड फेस्टिवल हुने

bhedetarधनकुटा १ पुस । पुर्वी नेपालको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा पुस तेस्रो साता चौथो भेडेटार फुड फेस्टिवल (खाना महोत्सव) हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर पुस १६ देखि १८ गते सम्म तिन दिने फेस्टीवल गर्न लागिएको हो ।

आयोजक होटल एसोसिएसन भेडेटारले बुधवार धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गरेर स्थानीय खानाका परिकारहरूसँगै आसपासका पर्यटकीय स्थलहरूको प्रचार प्रशार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले फेस्टिवल आयोजना गरिएको जानकारी दिएको हो । फेस्टिवलमा स्थानीय जातिय खाना र अर्गानिक तरकारी तथा फलफुलको प्रदर्शनी प्रमुख आकर्षणको रूपमा रहने आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । उनका अनुसार फेस्टिवलमा हस्तकला, कृषि, घरेलु उत्पादन लगायतको प्रदर्शनी, मौलिक परम्परागत साँस्कृतिक झाकीसँगै माउण्टेन वाईक र प्याराग्लाइडिङको मज्जा समेत लिन सकिने छ ।

१० हजार आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको फेस्टिवलमा करिव २० लाख वरावरको आर्थिक कारोवार हुने लक्ष्य राखिएको होटल एसोसिएसनका सचिव जितेन्द्र राईले जानकारी दिए । भेडेटारमा बिगत तिन बर्ष यता लगातार हरेक अग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिवल गरिदै आएको छ ।

प्रतिक्रिया