दस्तावेज

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेशका २२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा २०७२ मंसिर २६ गते सम्पन्न तराई–मधेश मिडिया सम्मेलन जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता र सरोकार प्रकट गर्दै देहायको घोषणापत्र जारी गर्दछ ः

१) नेपाली जनताको लामो संघर्ष र बलिदानको परिणामस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुनु ऐतिहासिक उपलब्धी हो । नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता परिवर्तनका मूलभूत एजेण्डाहरू संस्थागत गरेको छ । हामी यी उपलब्धीलाई संस्थागत गर्दै तराई–मधेशमा जाारी आन्दोलन र अन्य असन्तुष्ट पक्षले उठाएका जायज विषयहरूलाई समेटेर संविधान संशोधन गर्दै यसको स्वीकार्यतालाई अझ व्यापक बनाउन आवश्यक छ भन्ने मान्यता राख्दछौं ।

२) लामो समयदेखि जारी मधेश आन्दोलन र सीमा नाकामा भइरहेको अवरोधका कारण आम नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भएको छ । देशको अर्थतन्त्र चौपट बनेको छ । पत्रकारहरू असुरक्षित हुनुपरेको छ भने पत्रकारिता स्वनियन्त्रणको शिकार बनेको छ । मिडिया उद्योग धराशयी बन्दै गएको छ । मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चाँडो अन्त्यका लागि गम्भीर बन्न हामी सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

३) विद्यमान राजनीतिक समस्याको समाधान राजनीतिक तहबाटै खोजिनुपर्दछ र आन्तरिक समस्याको समाधान आपसी संवादबाटै निकालिनु पर्दछ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । हामी विद्यमान समस्याको निकास यथाशक्य छिटोभन्दा छिटो निकाल्न सम्बद्ध सबै पक्षलाई हार्दिक आग्रह गर्दछौं । यो सम्मेलन कुनै पनि पक्षबाट हुने बल प्रयोग र हिंसाको विरोध गर्दछ र कुनै पनि बाह्य हस्तक्षेपप्रति आपत्ती प्रकट गर्दछ ।

४) मुलुकको यो जटिल स्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र एकताप्रति मिडिया जगत् अझ बढी संवेदनशील हुनुपर्दछ । जस्तोसुकै संकटको घडीमा पनि रत्तिभर विचलित नभई पत्रकार आचारसंहिताको जिम्मेवारीपूर्वक पालना गर्न र स्वतन्त्र पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न यो सम्मेलन सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमहरूलाई अपील गर्दछ ।

५) पत्रकार र सञ्चारजगतमाथि लक्षित गरेर भएका आक्रमण, धम्की र अवरोधका घटनाहरूप्रति यो सम्मेलन आपत्ती प्रकट गर्दछ । साथै पत्रकारको भौतिक सुरक्षा, निर्वाध आवागमन र स्वतन्त्र पत्रकारिताको अभ्यासको वातावरण बनाउन आन्दोलनकारी र राज्य पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

६) तराई मधेशमा जारी आन्दोलनको संवेदनशीलता बुझ्न सो क्षेत्रको स्थलगत अवलोकन र प्रत्यक्ष संवाद जरूरी छ । यस सन्दर्भमा तराई मधेश क्षेत्रमा स्थलगत भ्रमण, रिपोर्टिङ र प्रत्यक्ष अन्तरक्रिया गर्नु सान्दर्भिक हुने भएकोले यो सम्मेलन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, वरिष्ठ पत्रकार तथा राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकहरूलाई तराई मधेशमा स्थलगत अध्ययन भ्रमण गरी यथार्थ विवरण सार्वजनिक गर्नका लागि हार्दिक आग्रह गर्दछ । साथै हामी आन्दोलनको नेतृत्व तहलाई त्यसका लागि वातावरण सहज बनाउन र सहयोग गर्न आग्रह गर्दछौं ।

७) तराई मधेश आन्दोलनका क्रममा आक्रमणमा परेर घाइते भएका सञ्चारकर्मीहरुको उपचार व्यवस्था, सञ्चारकर्मी र सञ्चारमाध्यमको भौतिक क्षतिको क्षतिपूर्ति र पत्रकार लक्षित आक्रमणमा संलग्नमाथि कानुनी कारवाहीका लागि यो सम्मेलन सरकारसँग माग गर्दछ ।

८) बिभिन्न खालका समस्यामा पिल्सिदै आएका तराई मधेशका मिडियाहरू अहिले असुरक्षा र अभावको थप पीडामा छन् । कच्चा पदार्थ, सञ्चालन सामग्रीको अभाव र विज्ञापनको न्यूनताले तराई मधेशका मिडियाको प्रकाशन प्रसारणमा गम्भीर असर परिरहेको छ । यसर्थ अभाव र असुरक्षा हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ र पत्रपत्रिकाको वर्गीकरणको समयसीमा एवं मूल्यांकन प्रणालीलाई लचिलो बनाउन पनि प्रेस काउन्सिलको यो सम्मेलन ध्यानाकर्षण गराउँदछ ।

९) नाकाबन्दी तथा आन्दोलनका कारण मुलुकमा विद्यमान संकटका कारण मिडिया उद्योग धराशयी बन्दै गएकोमा सम्मेलनले चिन्ता व्यक्त गरेको छ तर यही बहानामा कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निश्कासन गर्ने, करार अवधि नवीकरण नगर्ने, समयमै पारिश्रमिक भुक्तानी नगर्ने, सुविधाहरुमा कटौती गर्ने जस्ता कार्यहरु गरेकोमा आपत्ती जनाउँदै सम्मेलनले त्यस्ता कार्यहरु नगर्न सञ्चारमाध्यम व्यवस्थापनलाई अपील गर्दछ ।

१०) राजनीतिक आस्था, समुदाय, भूगोल वा अन्य कुनै पनि आधारमा नेपाली पत्रकारिता र पत्रकारबीच विभेद र विभाजन हुनुहुँदैन । यो सम्मेलनमा सहभागी तराई मधेश क्षेत्रका हामी सहभागीहरू आपसी मित्रता, विश्वास र सहकार्यको भावनाका साथ विद्यमान समस्याको समाधान र मुलुकको सम्मृद्धि एवं पत्रकारिताको विकासमा एकताबद्ध भएर क्रियाशील हुन सम्पूर्ण पत्रकारहरूलाई अपिल गर्दछौं ।

११) आन्दोलनको बिशिष्ट परिस्थितिमा सार्वजनिक निकायबाट प्रदान गरिने सूचना सञ्चारमाध्याममा उचित समयमा प्रभावकारी ढंगले प्रवाह हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।

१२) सामाजिक सञ्जालबाट जारी हुने सन्देशले व्यापक रुपमा गम्भीर प्रभाव पार्ने भएकोले यस्ता माध्यामको प्रयोग गर्दा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने खालका समाचार तथा सन्देश मात्र प्रवाह गर्न आमसञ्चारकर्मीसहित सबैलाई आग्रह गर्दछ ।

१३) नारायणी नदीको किनारमा रहेको सुन्दर पर्यटकीय गाउँ अमलटारी होमस्टेमा तराई–मधेश मिडिया सम्मेलनको संयोजन र व्यवस्थापन गर्ने नेपाल पत्रकार महासंघ नवलपरासी शाखा र हामेस्टेमा न्यानो स्वागत तथा आतिथ्यता प्रदान गर्ने स्थानीय अमलटारी मध्यवर्ती होमस्टे समिति र थारु समुदायलाई यो सम्मेलन हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यो सम्मेलन अमलटारी मध्यवर्ती होमस्टेसहित नवलपरासी जिल्लाको पर्यटकीय विकासमा उचित ध्यान दिन यो सम्मेलन स्थानीय प्रशासन र सरकारसँग हार्दिक आग्रह समेत गर्दछ ।

(नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन–२०७२ को अमलटारी घोषणापत्र)

प्रतिक्रिया