रासायनिक मलमा पनि कालोबजारी

काठमाडौं, २७ मंसिर । भक्तपुर जिल्लाका किसानका लागि ल्याइएको रासायनिक मलमा पनि कालोबजारी भएको कृषकले गुनासो गरेका छन् ।

सहज रूपमा मल लिन नपाएपछि बढी मूल्य तिरेर मल लिनुपरेको कृषक बताउँछन् । ठिमी नगरपालिका सिन्टिटारका रामकृष्ण थापाले १ बोरा युरिया मललाई २ हजार २ सय रुपैयाँ तिरेको बताए । ‘लाइन बसेर मल लिन सकिएन, महँगोमा किन्न बाध्य हुनुप¥यो’ उनले भने । जिल्ला सहकारी संघसहित विभिन्न सहकारी संस्थाले मल बिक्री गरे पनि कतिपय किसानले बढी मूल्य तिरेरै खरिद गर्नुपरेको छ ।

सूर्यविनायक नगरपालिका सिपाडोलका रामेश्वर बोहजूले गहुँ छर्न ढिला भएपछि महँगोमा मल किनेको बताए । ‘सहकारीले ल्याएको मल पहिला आफ्नो सदस्यलाई दिने, बढी भए मात्रै अरूलाई दिने भनेपछि बाध्य भएर बढी मूल्य तिरेर मल किन्नु प¥यो’ उनले भने । सहकारी संस्थाले ल्याएको मल सहकारीका सदस्यले कुपनबाट लिएर जाने र गाउँमा लगेर बढी मूल्यमा बिक्री गर्ने गरेको किसानको गुनासो छ । नंखेलका किसान रुद्र खड्काले सहकारीका सदस्य एकै परिवारले घरका सबै व्यक्तिका नाममा मल लिने र बढी मूल्यमा बिक्री गर्ने गरेको बताए ।

जिल्लाका अधिकांश सहकारीले आफ्ना सदस्यलाई प्राथमिकतामा राखेर मल वितरण गरेका छन् । सहकारी भन्दा बाहिरबाट कतिपय व्यापारीले नै मल ल्याएर कालोबजारी गरेको पाइएको छ । ‘बढी मूल्य तिरे मल पाइन्छ, लाइन बसेर पाइन्न, मल आउनु अघि नै आफ्ना मान्छेलाई कुपन दिने गरेको पाइयो’ थिमिका किसान सन्तकुमार प्रजापतिले गुनासो गरे ।

जिल्लामा सहकारी संघ र अन्य सहकारीले ल्याएको युरिया मल प्रतिबोरा १ हजार ३ सय ५० रुपैयाँमा वितरण गरेको सहकारी संघका अध्यक्ष सुरेन्द्रप्रताप शाहले बताए । सल्लाघारीस्थित संघको कार्यालयबाटै लाइन बसेकालाई कुपन उपलब्ध गराएर मल वितरण गरेको र सहकारीले वितरण गरेको मलमा कालोबजारी नभएको उनले दाबी गरे ।

जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले जिल्लाका लागि ७ सय टन मल बिलिङ भएको र अहिलेसम्म १ हजार ९ सय मेट्रिक टन मल भित्रिएको बताए । अनुगमनपछि कालोबजारी पूर्णरूपमा रोकिएको उनको दाबी छ । ‘१ हजार ३ सय ५० रुपैयाँ बढीमा मल बिक्री गरेको पाइए कालोसूचीमा राखेर कारबाही गर्छौं’ उनले भने । सुरुमा ९२ वटा संस्थाले मल ल्याएकोमा पछिल्लो पटक ४३ संस्थालाई अनुमति दिएको ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया