त्रिपुरासुुन्दरीमाईको जात्रा सम्पन्न

धादिङ, २७ मंसिर । उत्तरी सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरीमाईको जात्रा आइतबार सम्पन्न भएको छ । हरेक वर्ष मंसिर महिनामा उत्तम तिथि हेरेर मनाइने जात्रालाई माइस्थान जात्रा, न्वागी जात्रा र सल्यानबेंसी जात्रा भनेर पनि चिनिन्छ । जात्राको मिति भाइटीकाको दिन सार्वजनिक गर्ने चलन प्रचलन रहेको यो जात्रा आइतबार सकिएको हो ।

सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौंलगायतका श्रद्धालु भक्तजन आउने गरेका छन्् । यस वर्ष करिब ५० हजारले जात्रा अवलोकन गरेको व्यवस्थापन समितिले जनाएको छ ।

प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक–१ स्थित सल्यानबेंसीमा गरेर २ मन्दिर छन् । मंसिर महिनामा माथि डाँडाँको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पुजारीले पिँठ्युमा बोकेर करिब ३ घन्टाको पैदल दूरीमा पुगिने सल्यानबेंसीको मन्दिरमा ल्याउने प्रचलन छ । राना मगर थरका पुजारीले मात्र छुन मिल्ने सो मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् ।

तिमिल्सिना र सापकोटा थरका पुरोहित र राना मगर थरका पुजारीले बाहेक अरूले हेर्न र छुन नपाउने अनौठो चलनसमेत यस मन्दिरमा रहिआएको छ । जात्रालाई अहिले धार्मिक आस्थाका साथ पर्यटकीय दृष्टिले पनि हेर्न थालिएको छ । सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि केही पहल कदमी भएको देखिए पनि आवश्यकता अनुरूप हुन नसक्दा जात्रा अझै ओझेलमै छ ।

प्रतिक्रिया