पाका कम्युनिस्ट नेता गुरुङ अभिनन्दित

काठमाडौं । मुलुकमै रहेका सबैभन्दा पाका कम्युनिस्ट नेता ९४ वर्षका खगुलाल गुरुङलाई सार्वजनिक अभिनन्दन गरिएको छ । गुरुङलाई नेपालका सबै कम्युनिस्ट पार्टीहरूले आइतबार संयुक्तरूपमा अभिनन्दन गरेका हुन् ।

काठमाडौंमा आइतबार आयोजित सार्वजनिक अभिनन्दन कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै कम्युनिस्ट एकताका लागि आहृवान गरेका छन् । प्रधानमन्त्री ओलीले कम्युनिस्ट एकताका लागि ठूलो कम्युनिस्ट पार्टीको हैसियतले आफ्नो तर्फबाट त्याग गर्न आफू तयार रहेको बताए ।

उनले कम्युनिष्टहरू देशको प्रवल र अकाट्य शक्ति भएको भन्दै कम्युनिस्टहरू कोरा सिद्धान्तबाट बाहिर निस्कनुपर्ने बताए । उनले भने, ‘सुनको भए पनि पिँजडा पिँजडा नै हो । त्यहाँबाट बाहिर निस्कनुपर्छ ।’ सरकारमा गएरै परिवर्तन गर्ने भन्दै प्रधानमन्त्री ओलीले भागेर वा लुकेर हिँड्न नहुने बताएका छन् ।

०७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिस्ट पार्टी प्युठानको स्थापना हुँदा ०१० साल मंसिरमा ७ जनामध्येका एक संस्थापक सदस्य रहेका व्यक्ति हुन् । ०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका खगुलाल अस्वस्थताका कारण उपचारको सिलसिलामा प्युठानबाट काठमाडौं आएका हुन् । प्युठान घर भएका मसालका नेता मोहनविक्रम सिंहको संयोजकत्वमा खगुलाल अभिनन्दन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया