छात्राहरूका लागि सेनेटरी प्याड

म्याग्दी, २५ मंसिर । म्याग्दीका विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यालयमा छात्राहरूको नियमित कक्षा कोठामा उपस्थिती हुन थालेको छ । महिनावारी भएका बेला छात्रा विद्यालय आउनै नसक्दा उनीहरूको पढाइ प्रभावित बनेपछि विद्यालयहरूले अनिवार्य सेनेटरी प्याडको व्यवस्था गरेको हो ।

विद्यालयमा सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई महिनावारी भएको अवस्थामा पनि पढ्नका लागि सजिलो भएको त्यहाँका विद्यालयहरूले जनाएका छन् । विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको जनप्रिय उच्चमावि दरवाङकी छात्रा लक्ष्मी विकले बताइन् । उनले भनिन्,‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो, अहिले सजिलो भएको छ ।’

प्लान नेपालको सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित बालिका शक्ति परियोजनाले म्याग्दीका २० गाविसका सामूदायिक विद्यालयमा सेनेटेरी प्याडको व्यवस्था गरेको छ । यसबाट १ हजार २ सय भन्दा बढी छात्रा लाभान्वित भएका छन् । महिनावारी भएपछि साथीले जिस्काउने, घृणा गर्ने र अप्ठ्यारो महसुस हुँदा कक्षा कोठामा बस्न नसक्ने अवस्था भएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिदिन छात्राले माग गरेका थिए । विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइएको किशोरी तथा युवा महिला सञ्जालकी जिल्ला सदस्य घनित्रा पुनले जानकारी दिएकी छन् ।

राष्ट्रिय मावि रुमकी छात्रासमेत रहेकी पुनले सेनेटरी प्याडको व्यवस्था भएपछि छात्रा नियमित विद्यालयमा उपस्थित हुने गरेको बताइन् । विद्यालयमा कक्षा छोड्नुपर्ने समस्या हटेपछि छात्राको पढाइ पनि राम्रो हुन थालेको छ । दरवाङ, रुम, झीँ, देवीस्थान, ओखरबोट, निस्कोट, ताकम, मुदी, दाना, बेग, चिमखोला, दग्नाम, कुइनेमङ्गले, कुहूँलगायत गाविसमा रहेका मावि, निमावि र उच्च माविमा परियोजनाले सेनेटरी प्याड उपलब्ध गराएको छ ।

यसैगरी विद्यालयमा अध्ययन गर्ने छात्रा र समुदायका महिला मिलेर युवा महिला सञ्जाल गठन गरी किशोरी मैत्री विद्यालय अभियान पनि सञ्चालन गरेका छन् । छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्नका लागि विद्यालय प्रशासन र व्यवस्थापन समितिसँग पहल गरिएको सञ्जालकी प्रमिला पुनले जानकारी दिए। पुनका अनुसार परिवारमा छोरा र छोरीमाथि गरिने विभेद, विद्यालयमा हुने हिंसा र बालविवाह न्यूनीकरणका लागि सञ्जालले अभियान सञ्चालन गरेको छ ।

पढ्ने उमेरमा विवाह गर्दा स्वास्थ्य, शिक्षा र सामाजिक रूपमा महिला पछाडि परेकाले उनीहरूले विहेवारी २० वर्ष पारी भन्ने अभियान चलाएका हुन् ।

प्रतिक्रिया