सिमेन्टमा ५२ अर्बको चिनिया“ लगानी भित्रिदै

काठमाडौं, २४ मंसिर । चिनियाँ सरकारी स्वामित्वको हुवाजिन सिमेन्ट कम्पनीले नेपालमा उद्योग स्थापना गर्न ५२ अर्ब ६१ करोड रुपैयाँ (५० करोड अमेरिकी डलर) लगानी गर्ने भएको छ । सो कम्पनीले लगानी बोर्डमा वैदेशिक लगानी भित्र्याउन गरेको प्रस्तावलाई बोर्डले स्वीकृति दिने भएको छ ।

लगानी बोर्ड स्रोतका अनुसार निकट भविष्यमै उक्त कम्पनीसँग पहिलो चरणमा १५ अर्ब रुपैयाँ लगानी भित्र्याउने सम्झौता हुँदै छ । बोर्डको आगामी सञ्चालक समितिले स्वीकृति दिने तयारी गरिरहेको बोर्ड स्रोतको भनाइ छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तलाई मातृशोक परेर गत मंसिर १७ गतेदेखि बिदामा छन् । पन्त कार्यालयमा हाजिर भएपछि बस्ने सञ्चालक समितिको बैठकले स्वीकृति दिने गरी तयारी भइरहेको छ ।

चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक सो कम्पनीलाई आगामी २ वर्षमा कच्चापदार्थ क्लिंकर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउने योजना गरी स्वीकृति दिन लागिएको हो ।

बोर्डले सिमेन्ट उद्योग स्थापनाका लागि यसअघि चीनकै हङकङ रेड लायन नम्बर ३ लिमिटेड (होङ्सी ग्रुप)लाई ३६ अर्ब रुपैयाँ लगानी ल्याउन स्वीकृति दिइसकेको छ । हुवाजिनसमेत गरी नेपालमा सिमेन्ट उत्पादन गर्न अनुमति पाउने विदेशी कम्पनीको संख्या ४ पुग्दै छ । यी कम्पनीले सिमेन्टमा मात्रै करिब १ खर्ब ८१ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउँदै छन्, जसमा चिनियाँ हिस्सा ८६ अर्ब रुपैयाँको छ ।

हुवाजिनले उद्योग स्थापना गर्ने ठाउँ र खानीको सम्भाव्यता अध्ययन गरिसकेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कम्पनीको लक्ष्य छ । नेपालको सिमेन्ट बजारलाई हेरेर केही वर्षभित्र उसले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने लक्ष्य लिएको छ । हुवाजिन चीनका प्रमुख १० ठूला कम्पनीमध्ये एक हो ।

चीनकै होङ्सी गु्रपले हेटौंडास्थित शिवम् सिमेन्टमा लगानी गर्दैछ । यससँगै शिवम्मा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ ।

नाइजेरियाको डांगोटे ग्रुपलाई ५५ अर्ब, भारतको रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनी लिमिटेडलाई ४० अर्ब र चीनकै होङ्सी गु्रपलाई ३६ अर्ब रुपैयाँ लगानी ल्याउन बोर्डले स्वीकृति दिएको हो । यी ३ वटै कम्पनीले उद्योग स्थापनाको प्रक्रिया अघि बढाइसकेको बोर्डले जनाएको छ ।

नेपालमा अहिले ४१ उद्योगले सिमेन्ट उत्पादन गर्छन् । तीमध्ये १ दर्जनभन्दा बढी उद्योग क्लिंकरमा आधारित छन् । सञ्चालनमा रहेका अधिकांश उद्योगले आफ्नो क्षमता विस्तार गर्दै लगेका छन् । सरकारले ०७३ पछि विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध लगाउन स्वदेशमै उत्पादन गर्न चाहने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेपछि लगानीकर्ताको मुख्य आकर्षण सिमेन्ट बनेको छ । नेपालका ठूला र कर्पोरेट घराना पनि सिमेन्ट उत्पादन गर्न अग्रसर भएका छन् ।

प्रतिक्रिया