सीमामै थन्कियो पशुपंछीको औषधि

काठमाडौं, १६ मंसिर । भारतको अघोषित नाकाबन्दीले पशुपंक्षीका लागि अत्यावश्यक औषधि सिमानामा थन्किएपछि अहिले अभाव भएको छ । नेपाल पशुपंक्षी औषधि व्यवसायी महासंघका महासचिव चित्र गुरुङका अनुसार नाकाबन्दीका कारण वीरगञ्ज भन्सार नाकामा १ खर्बभन्दा बढीको पशुपंक्षीका लागि आयात गरिएका औषधि थन्किएर रहेको हो ।

औषधि ल्याउन कृषि विकास मन्त्रालयमा जानकारी गराउँदा त्यसप्रति खासै चासो नदिएको गुरुङले बताए । पशुपंक्षीका लागि आवश्यक पर्ने औषधिहरू सबैभन्दा धेरै भारतबाट आयात गरिन्छ । पशुपंक्षीका औषधि भारत बाहेक, थाइल्याण्ड, चीन, बंगलादेश, जोर्डन, ताइवानलगायतका देशहरूबाट ल्याइन्छ । ती देशबाट नेपाल आयात गरिएका सम्पूर्ण औषधिहरू रक्सौल नाकामा थन्किएकाले औषधि व्यवसायीहरू पनि अहिले जोखिममा रहेका छन् । नाकाबन्दी कै कारण मुलुकभर पशुपंक्षीका लागि आवश्यक औषधिहरू अभाव हुन थालेको महासंघका महासचिव गुरुङको भनाइ छ ।

विगत ३ महिनाभन्दा लामोसमयदेखि मधेसी दलले गरेको आन्दोलन र भारतले गरेको नाकावन्दीको अप्रत्यक्ष रूपमा सबैभन्दा ठूलो घाटा कृषि क्षेत्रमा परेको छ । नाकाबन्दीका कारण थोपा सिँचाइका लागि आवश्यक सामग्री ३ महिनादेखि थन्किएर बसेका कारण व्यवसाय नै छोड्नुपर्ने अवस्था आइसकेको सलोम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले बताएका छन् । व्यावसायिक कृषिका लागि सिँचाइ अभाव भएका ठाउँमा थोरै पानीबाट धेरै सिँचाइ गर्नका लागि थोपा सिँचाई प्रविधितर्फ किसानहरू आकर्षित छन् ।

त्यस्तै व्यावसायिक रूपमा गाईपालन गरिरहेका किसान, पोल्ट्री व्यवसायमा संलग्न रहेका व्यावसायिक किसानहरूको अवस्था पनि बिग्रदै गएको चितवनका गाईपालन गरिरहेका किसान कृष्ण भण्डारी बताउँछन् । गाई तथा कुखुरालाई खुवाउनका लागि आवश्यक दाना, औषधिलगायत कुराहरूको अभावका कारण किसानहरू अत्यन्तै पीडादायी अवस्थामा रहेका छन् । अघोषित नाकावन्दी र तराईकेन्द्रित राजनीतिक दलहरूले नेपाल भारत सीमामा गरेको आन्दोलनका कारण करिब ४ महिनादेखि भारतको बाटो भएर आउने कृषिजन्य बस्तुहरू रक्सौलको बन्दरगाहमा नै अड्किएको छ । जसका कारण नेपालको कृषि क्षेत्रको विकासमा ठूलो धक्का परेको छ । गहुँ छर्ने मौसम भएका कारण यतिखेर मुलुकभर रासायनिक मलको अभाव खड्किएको छ ।

किसानहरू रासायनिक मलको अभावका कारण गहुँ छर्ने कि नछर्ने दोधारमा परेका छन् । यसले गर्दा आगामी वर्ष गहुँं उत्पादन अत्यधिक घट्ने देखिएको छ । कृषि विकास मन्त्रालयको सभाकक्षमा बसेर ३ वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने योजना बुनिरहेका वर्तमान मन्त्री, सचिवदेखि पूर्वमन्त्री सचिवसम्मले नाकाबन्दीका कारण किसानहरूले खेप्नुपरेको कष्टका बारेमा सम्बोधन गर्न नसक्नुलाई कृषि विज्ञहरूले मन्त्रालय किसानहरूको पीडामा मलम लगाउने पक्षमा नदेखिएको धारणा व्यक्त गरेका छन् । कृषि मन्त्रालयमा करिब ५ घन्टा लामो समयसम्म कृषिका योजना बनाइरहँदा अघोषित नाकाबन्दीका कारण कृषि व्यवसायमा संलग्न किसानहरूको करौडौको कृषिजन्य बस्तुहरू नाकाबाट छुटाउने विषयमा छलफल नहुनु, किसानहरूका लागि तत्कालै आवश्यक रहेको रासायनिक मल भित्र्याउनेतर्फ पहल नगर्नु दुःखद कुरा हो ।

नाकाबन्दीका कारण रासायनिक मल मात्र होइन कृषि औजारहरू, बिउ तथा अन्य कृषि सामग्रीहरू पनि बन्दरगाहमा थन्किएका कारण कृषि व्यवसाय नै धरापमा पर्ने संकेत देखिएको छ । कृषि क्षेत्रका लागि आवश्यक पर्ने धेरै बस्तुहरू विभिन्न देशबाट आयात गरिएको भए पनि ती सम्पूर्ण सामग्रीहरू नाका मै थन्किएर बसेका छन् ।

प्रतिक्रिया