के भएको छ हामीलाई ?

Mohan Prasad Sapkotaकुनै दल विशेषलाई इष्टदेवता सम्झिने मनले देशको सर्वोपरि हित सोच्न न समय पाउँछ न त ठाउँ नै । दलप्रतिको आस्थामा विविधता हुन सक्छ तर कर्तव्यमा विविधता देखिनु दुर्भाग्यपूर्ण छ । कुवाको भ्यागुतो भएर आपूm कार्यरत कार्यालयको अवस्था मात्रै गहिरिएर सोचे करिबकरिब देशको पूरै अवस्था छर्लंग हुने रहेछ ।

जसजसले दल विशेषमा लागेर आफ्नो अकर्मण्यता लुकाएर गफका भरमा तलब बुझिरहेका छन्, तिनले न तिनको दललाई न कार्यरत संस्थालाई फाइदा पुगिरहेको छ । तै पनि दलको पछि लागेर आस्था बेचेर वा भजाएर फाइदा लुट्ने संस्कृति बनमारा झारभैmँ मौलाएको छ । कुनै युनियनमा लाग्नु, नेताका घरदैलो चाहार्नु, नेताको दिमागमा भए नभएका कुरा भरेर, मनाएर वा धम्क्याएर आफ्नु अभिष्ट साँध्नु प्रायः सबै कार्यालयका निम्नदेखि उच्चतहसम्मको युनियनको दैनिकी हुने गर्दछ । आस्थाकेन्द्र धाएर साम, दाम, दण्ड, भेद अपानाएर योग्यता विहीनहरूले उच्चपद कुम्ल्याउनु व्यवसाय भएको छ ।

कुनै कार्यालयमा कार्यरत व्यक्ति यही समाजबाट नै त आएको हुन्छ । शिक्षित हुन्छ तर शिक्षाको दुरुपयोग गरिरहेछ । यही छाप समाजले बेहोरिरहेको हुन्छ । एउटा सानो आवश्यकताको परिपूर्तिका लागि चाकडी गर्न अभ्यस्त भइरहेको छ हाम्रो समाज । भूकम्पका बखत आफूलाई आवश्यक नभएको विदेशीले दिएको नुन र तेल लिनसमेत आस्थामा आधारित शक्तिकेन्द्रहरू सक्रिय भएका देखिए । छिमेकीले अमुक राजनीतिक आस्थाको भरमा राहतको पाल लेराएर मोटरसाइकल छोप्दा हामीले त्यो छिमेकीलाई दुरुत्साहन गर्नुको सट्टा आपूmले पनि पाल लिन शक्तिकेन्द्र चाहार्न छाडेनौँ । बकम्फुसे रस्साकस्सीमा विवेकशून्य भयौँ र यस्ता अनैतिक कार्यलाई आआफ्नु प्रतिष्ठा बनायौँ ।

समाजलाई संस्कृति र परम्पराले अनि धर्मले मार्गदर्शन गरिरहेको हुन्छ । सम्हालिरहेको हुन्छ । दण्डले मात्र पनि समाज सभ्य हुन नसक्दो रहेछ । छिमेकी चीनमा दिनैपिच्छे जसो नियम मिच्नेलाई झुन्ड्याइन्छ तर भोलि झुन्ड्याउन अर्को व्यक्ति तयार भइरहन्छ । विश्वमा जति देश विकसित भए तिमध्ये अधिकांश देश आफ्नै बलबुतामा बाँधिएका छन् । अरूले आएर विकास गरिदिन्छ भनेर हामी सुते जसरी सुतेका थिएनन् । तर, हामीले अफ्रिकन जंगलका आदिवासी जसरी जे सक्छौँ लुटेर बाँड्ने अनि खाने समाज बनायौँ । धर्मसंस्कृतिलाई बूढाहरूको जिम्मा लगायौँ । राजनीति यही समाजबाट निचोरिएर जन्मने त हो, अरू ग्रहबाट आउने त होइन ।

रोप वे थियो, हेटौँडादेखि सिमेन्टका बोरा आकाशबाट आएर काठमाडौंको टेकुमा फुत्तफुत्त खसेका देखिन्थे । हामी घन्टौँसम्म हेरेर बसिरहन्थ्यौँ । ट्रलिबस थियो भक्तपुरको नवदुर्गा चलचित्र मन्दिरमा चलचित्र हेरेर रातीराती काठमाडौं फर्केका हाम्रा दिन सपना बनाइए । हेटौँडा कपडा कारखानाबाट उत्पादित कपडा पनि पाइन्थे कुनै दिन नेपालमा । कपी किन्न दौडेर पसल जाँदा भृकुटी कागज कारखानाले बनाएको कापीमा लेख्दालेख्दा कतिवटा कलमका निबहरू भाँचिए, भाँचिए । अब यी सब एकादेशका कथा बनाइए ।

किन भयो ? कसले बनायो ? राजनीतिमा लाग्नेले सरल जवाफ देलान् । फलानुले गर्दा भन्लान् । तर, हामी कहाँ थियौँ ? चुपचाप सहेर किन बस्यौँ ? भर्खरै मात्र त हो जापानले कोटेश्वर सूर्यविनायक बाटो बनाइदिएकोे । चीनले गाडेका ट्रलीबसका पोल क्रेन लाएर भकाभक उखेलिए । हामीले त्यसको निरन्तरताका लागि केही प्रयास गर्नुको सट्टा राजमार्गको दायाँबायाँ जग्गा किन्न र ट्रलीबसको अवसानमा मलामी जान आनन्द मान्यौँ । हामी किन भन्न सक्दैनौँ सबै विदेशीले बनाइदिएका उद्योग, कलकारखाना बेचेर हामीले आफ्नु विकास गरिरह्यौं । हामीलाई त्यसैमा आनन्द आउँछ र यही नै विकास हो ।

नेपालीले आफ्नो भन्न सक्ने सांस्कृतिक धरोहर सखाप प्रायः भए अब त्यसका लागि विदेशीको मुख सुँघेर बसिरहेका छौँ । हाम्रो मुटु, हाम्रो आस्थाकेन्द्र ती विश्व सम्पदामा सूचीकृत ऐतिहासिक धरोहर बनाउन त विदेशीको मुख ताकेर कुरेर बसिरहेछौँ भने हाम्रो मुखबाट ‘राष्ट्रियता र स्वाभिमान’ का शब्द निक्लेको अलि नसुहाउने रहेछ । हामी आफ्नै सुत्ने ओछ्यानमा आपैmँले गरेको फोहोर उठाउन पनि कमिसनको आश गर्ने भइसकेछौँ ।

चाकडी गर्नु, भ्रष्टाचार गर्नु नै बेठीक हो कि दलका लागि गर्नु ठीक विदेशीका लागि गर्नु मात्र बेठीक हो ? कि आफूले गर्दा ठीक अरूले गर्दा बेठीक हुने हो ? हामीले अरू कसैको दोष केलाउनुअघि हाम्रा दुर्गुण सुधार्नु पर्ने होइन र ? तर परिस्थिति यति गम्भीर बनाइसकेका छौँ कि विदेशी नाकाबन्दीका कुरा गरेर झनझन भ्रष्ट हुँदै गइरहेका छौँ, कमाउन व्यस्त भइरहेका छौँ । अब देशभक्त तानाशाह वा तानाशाहीले बाहेक यो देश तह लगाउन कसैले सक्दैन ।

विकास राजनीतिले कौवाले भैmँ कराए ‘का…का’ गर्दैमा नहुने रहेछ । हाम्रै मानसिकतामा गढेको हुनुपर्ने रहेछ । समयक्रमले हामी उपभोगमा विकसित त भयौँ तर उत्पादनमा शून्य । जब सबै कुरा बेचेर अरूकै भरमा बाँच्नुलाई नै विकास ठान्दछौँ, नियमानुसार चल्नेलाई हियाएर नाक फुलाउनुलाई नै विकास ठान्दछौँ, अनैतिक तरिकाले कमाएको सम्पत्तिलाई नै विकास ठान्दछौँ अनि आफ्नु आस्था, धर्म र जातबाहेक अरू सबैलाई देशघाती, अराष्ट्रिय, विखण्डनकारी सोच्नुलाई विकास ठान्दछौँ भने अब देश चाहीँ किन राख्ने ? कसका लागि राख्ने ?े भएको छ हामीलाई ?

प्रतिक्रिया