धैर्यताका प्रतिक विनोद

binod shakya (1)हाल सातदोबाटोमा प्रशिक्षण गराउँदै रहेका विनोद शाक्यले औपचारिक रूपमा करातेबाट सन्यास लिएका छैनन् । तर, संयोग विप्लव श्रेष्ठ, भीमबहादुर तामाङ र दिवस श्रेष्ठ उनले नै प्रशिक्षण गराएका खेलाडी राष्ट्रिय च्याम्पियन भइसकेका छन् । कुनै समय उनले आर्मी टोलीलाई प्रशिक्षण गराएका थिए । आर्मी टोलीकै लेखनाथ मैनाली पनि अहिले च्याम्पियन भइसके । तौल मिल्ने यी खेलाडीको प्रतिस्पर्धा हुन थालेपछि उमेरले ३९ पार गरिसकेका विनोदलाई अब आफँै खेल्न आवश्यक लागेको छैन । यसैकारण उनी प्रशिक्षण कार्यलाई थप व्यवस्थित बनाउने कुरामा केन्द्रित छन् ।

हाल पुलिसका सोनाम लामा, अर्मिला डिसी, एपिएफकी कुसुम खड्का, आर्मीमा रहेकी रिता कार्की, आर्मीमै रहेकी विभूषा, आर्मीका सीताराम विकलगायत खेलाडीको उत्कृष्टतामा विनोदको केही न केही देन पक्कै छ ।

खेलाडीको रूपमा आरोहअवरोह थुप्रै छन् । उनको जीवनमा । थुप्रैकुरा बिर्सनलायक घटना पनि भए, रामेछाप चुचुरेका विनोदको जीवनमा । नवौँ दक्षिण एसियाली खेलकुद पछि उनले दुई वर्ष कराते छाडेका पनि थिए । कोलम्बो सागमा घरेलु खेलाडीसँग पराजित हुँदै काश्य पदकमा सीमित उनले धैर्यतालाई कायम राखे र ३४ वर्षको उमेरमा साग स्वर्ण पदक जिते । सबै नेपाली खेलकर्मीका लागि पाठ बनेका विनोदले प्रमाणित गरेरै छाडे खेलकुदमा लाग्नेहरूले जस्तो प्रतिकूल अवस्था आए पनि धैर्यता नगुमाए एक स्वर्णिम दिन आफ्नै लागि पर्खिरहेको हुनेछ । त्यो स्वर्ण पदकसँगै नेपाली करातेले ढाका सागमा ३ स्वर्णपदक जितेको थियो । त्यही सागदेखि नेपालमा कराते कर्मीले हाम्रो खेल नै अब्बल भनेर दाबी गर्ने अवसर पाएका छन् ।

नेपाली माटोका हरेक भू–भाग करातेकर्मीको पसिनाले भिजेको छ । प्रतिबन्धित समयदेखि हालसम्म आइपुग्दा अनेकाँै आरोह र अवरोह पार गर्दै आएको यो खेल नेपालको महत्वपूर्ण मध्येको एक खेलको रूपमा स्थापित भएको छ । यो खेलको विशेषता के हो भने नेपालको खेल प्रशासनमा करातेकर्मीको प्रभाव । यी सबैबाट मुक्त रहने विनोदको प्रयासको एउटै कारण हो । राम्रो करातेकर्मीकै रूपमा समाजमा आफ्नो छबी तेजिलो बनाउने । यो क्रममा ३९आँै वसन्त पार गरेका विनोदले आफूलार्ई केही हदसम्म सफल बनी प्रमाणित गरिसकेका छन् । सायद यो क्रममा अझ बढी सफल पनि हुनेमा उनका शुभेच्छुक आशावादी रहेका छन् ।

राम्रो प्रशिक्षक बन्ने लक्ष्य बोकेका उनले जीवनमा जती संघर्ष गरे, जुन उत्कृष्टता थियो, त्यो अनुसार पाए या पाएनन्, इतिहासले सम्झने छ । तर, साँचो के हो भने जस्तोसुकै अवस्थामा पनि परिश्रमी व्यक्ति जमिनबाट शिखरको उचाइमा पुग्ने क्षेत्र खेलकुद नै हो भन्ने चाहीँ उनले पुष्टि गरेरै छाडे । निम्न मध्यम वर्गीय नेपालीको झैँ हेर्दा सामान्य र भोग्दा कठिन दैनिकी । त्यो कठोर दैनिकी नै उनको जीवनको पुरस्कार हो उनको परिभाषामा । जुन कठिन परिस्थितिले उनलाई संघर्ष गर्न सिकायो र समस्या झेल्ने बानी बसाल्यो । समस्याका बीचमा पनि सफलता विनोदको मुल परिचय नै यही हो ।

विनोदलाई नजिकबाट चिन्ने आर्मीका लेखनाथ मैनाली विनोद राम्रो प्रशिक्षक भएको र उनको प्रशिक्षण आफ्न लागि पनि उपयोग भएको बताउँछन् । दिवसले भने आफँै भिडियो हेर्न, युट्युब हेर्ने, चेलाको सामान्य कमजोरी हटाउन पनि मिहेनत गर्ने, भ्रातृत्व र मैत्रीपूर्ण सम्बन्ध राख्न चाहने प्रशिक्षकको रूपमा विनोदलाई सधैँ सम्झने गरेका छन् । विनोदको स्वभाब अली फरक नै छ । परीक्षण गर्ने, मेहनेत गर्ने, खेलाडी र अन्य प्रशिक्षकसँग छलफल गरिरहने । उनको स्वभावका भिन्न छ । सिक्ने र सिकाउनेसँगै भए र खुला छलफल भए, सबै निखारिन सक्ने उनको मत छ । प्रशिक्षकको रूपमा यो उनको महत्वपूर्ण विशेषता पनि हो ।

हाल निमार्ण व्यवसायीसमेत रहेका विनोद विभिन्न संघसंस्थामा खेलकुद गतिविधिमा सक्रिय छन् । प्रशिक्षणमै अहिले पनि ध्यान दिएका विनोदको लक्ष्य राष्ट्रिय टोलीका आफ्ना शिष्यहरूको प्रभावशाली उपस्थिति राख्नु नै हो । यसैकारण उनको जीवनको अहिले पनि पहिलो प्राथमिकता कराते प्रशिक्षण नै हो । उनले दुई साग खेल खेले । कोलम्बो सागपछि उनले कराते खेल त्याग्ने अनुमान पनि धेरैले गरेका थिए होलान् । तर, भयो उल्टो ढाका सागमा कठोर परिश्रम गर्दै त्यसवापतको पुरस्कार पाई नै हाले । प्रशिक्षणमा व्यस्त रहेको केही समयमा विनोदको प्रभाव छैटाँै राष्ट्रिय खेलकुदको छनोट चरणबाट नै देखिन थालेको थियो । अहिले देश सातौँ राष्ट्रिय खेलकुदको संघारमा छ । यस बीचमा पनि उनी राम्रा खेलाडी उत्पादनमा सक्रिय छन् । उनको प्रशिक्षणको असर सातौँ राष्ट्रिय खेलकुदमा पनि देखिन सक्ने अनुमान धेरैको छ ।

उनले आफ्नो खेलमा कहिल्यै गुनासो गरेनन् । उनले सबैभन्दा धेरै गर्व करातेकर्मी हुनुमा नै गरे ।, ‘यसैले मलाई नाम दियो । सम्मान दियो र सामाजिक जीवन दियो । आखिर हामी साधारण व्यक्तिको समाजमा पहिचान बनाउन सबैभन्दा उपयुक्त माध्यम खेलकुद नै रहेछ ।’ उनको कथन छ ।

खेलकुदमा लाग्ने पछिल्लो पुस्ताका लागि उनले भन्ने एउटै कुरा छ । मिहेनत गर, प्रशिक्षणमा केन्द्रित होऔँ भविष्य तिम्रै हो । कसैले छेकेर छेकिँदैन । रोकेर रोकिँदैन ।

प्रतिक्रिया