नाकाबन्दीका कारण औषधि अभाव

इलाम । भारतको अघोषित नाकाबन्दीका कारण इलाममा औषधिको अभाव सुरू भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि नै ९० प्रतिशत सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

जिल्ला अस्पतालसहित ४ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्यचौकीमा औषधि रित्तिँदै गएको कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए । दसैं अघिदेखि नै अभाव सुरु भए पनि त्यसपछि केही मात्रामा आएको औषधिले अहिलेसम्म धानेको थियो ।

स्वास्थ्य संस्थाले माग गरिरहेका छन्, जिल्लामा मौज्दात नभएकाले पठाउने अवस्था छैन । बिरामीको चाप धेरै हुने चुलाचुली, फिक्कल, मंगलबारेलगायत क्षेत्रमा धेरै औषधि सकिएका छन् । गर्भवतीले प्रयोग गर्ने आइरन चक्की, एन्टिबायोटिक, एन्टिएलर्जिकजस्ता औषधि पाइन छाडेको छ । सदरमुकाममा रहेका आधा दर्जन निजी क्लिनिक सञ्चालकहरूका अनुसार बजारमा पनि अभाव चुलिँदै गएको छ ।

पूर्वका जोगबनी र काँकडभिट्टा नाकामा औषधि बोकेका सवारीसाधन रोकिएको जानकारी नआएको भन्सार प्रमुखहरूले जनाएका छन् । औषधिका कच्चा पदार्थ पनि निर्वाध आइरहेको उनीहरूको भनाई छ । तर, ती नाकाबाट छिरेका औषधिले थोरै अंश पनि पुग्दैन । व्यवसायीहरूका अनुसार वीरगञ्ज नाका सुचारु नहुन्जेल अभाव हट्न सक्दैन ।

प्रतिक्रिया