५३ वटा नयाँ नागरिक सचेतना केन्द्र

इलाम । इलाममा यस वर्ष ५३ वटा नयाँ नागरिक सचेतना केन्द्र थप भएका छन् । जिल्लाका ४३ गाविसमा प्रत्येकमा १÷१, इलाम नगरपालिकामा ५, सूर्योदय नगरपालिकामा ३ र देउमाई नगरपालिकामा २ वटा नयाँ नागरिक सचेतना केन्द्र थपिएका हुन् ।

स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम (एलजीसीडीपी) मार्फत सञ्चालित सामाजिक परिचालन कार्यक्रम अन्तर्गत गाविस र नपाको अतिविपन्न एक टोलमा नागरिक सचेतना केन्द्र स्थापना गरिन्छ । यसअघि जिल्लाका ४३ गाविस र ३ नगरपालिकामा ५२ वटा नागरिक सचेतना केन्द्र सञ्चालित थिए । ४ वर्षअघि स्थापित ती केन्द्रहरू निर्धारित मापदण्डका आधारमा परिपक्क भएपछि नयाँ ठाउँमा अर्को केन्द्र स्थापना गरिएको जिल्ला प्रशासन विज्ञ राजु शिवाकोटीले जानकारी दिए । नयाँ नागरिक सचेतना केन्द्रहरू सामाजिक परिचालकको माध्यमबाट धमाधम गठन भईरहेको उनले बताए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी गरिएको ‘सामाजिक परिचालन कार्यविधि–२०७१’ अनुसार नयाँ नागरिक सचेतना केन्द्र स्थापना भइरहेको उनले बताए । कार्यविधिअनुसार गरिबीका अन्तरनिहीत कारणबाट पहिचान गरिएका सामाजिक र आर्थिक रूपमा अतिविपन्न टोलमा २५ देखि ३० जनालाई संगठित गरीे गठन गरिन्छ ।

कार्यक्रम अन्तर्गत पछाडि परेको वर्ग तथा समूदायलाई संगठित गरी सशक्तिकरणका माध्यमबाट आफ्नो जीवन र जिविकालाई प्रभाव पार्ने कुरा पत्ता लगाउन, विश्लेषण गर्न र सुधारका लागि प्रयास गर्ने उपयुक्त वातावरण सिर्जना गर्न सहजिकरण गर्ने उद्देश्यले नागरिक सचेतना केन्द्र स्थापना गरिएका हो ।

सो केन्द्रमा सामाजिक परिचालकद्वारा साप्तहिक रूपमा २ घण्टा रिफ्लेक्ट कक्षा सञ्चालन गरिन्छ । कक्षामा सहभागीबाट आएका मूख्य सवालहरू मा आधारित भई विभिन्न दैनिक जीवनोपयोगी विषयहरूमा छलफल हुने गर्दछ । सार्वजनिक सेवाप्रवाह, विकास र सहभागिता, सामाजिक विषयवस्तु तथा प्रथा र आर्थिक क्रियाकलाप तथा आयआर्जन सम्बन्धी विषयमा सामूहिक छलफल गरी कार्ययोजनासमेत निर्माण गरी कार्यान्वयन गरिन्छ । साथै सहभागिहरूलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमबाट उनीहरू को व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ ।

केन्द्रलाई सञ्चालन खर्चवापत एलजिसिडिपीबाट वार्षिक ३० हजार रूपैयाँ प्राप्त हुने गर्दछ । सहभागीलाई खाजा खर्च, स्टेशनरी, सहजकर्ता शुल्क तथा सञ्चार र विविध शिर्षकमा सो रकम प्राप्त हुने गर्दछ ।

यसैबीच पहिलेको नागरिक सचेतना केन्द्र(नासके) सहकारीमा परिणत गर्दै जिविकोपार्जन सुधार कार्यक्रम मार्फत विभिन्न आय आर्जनका क्रियाकलापहरू सञ्चालन गरी नागरिकको सामाजिक आर्थिक पुँजीको विकास गर्न क्रियाशील रहनेछन् । परिपक्वता भइसकेका पुराना नागरिक सचेतना केन्द्रमा समेत साप्ताहिक रिफ्लेक्ट कक्षा सञ्चालनका लागि एक जना सामाजिक परिचालन स्वयंसेवक नियुक्त गरी विस्तारै सहकारीमा परिणत गरिनेछ । केन्द्रलाई एलजिसिडिपीबाट वार्षिक १० हजार रूपैयाँ प्राप्त हुनेछ । कार्यविधिले प्रत्येक वडाको विपन्न टोलमा नासके गठन गर्ने परिकल्पना गरेको छ ।

सामाजिक परिचान कार्यक्रम सुरु भएदेखि पहिलोपटक देशभर एकैसाथ यसवर्ष नयाँ नागरिक सचेतना केन्द्र थप गरिएको हो । कार्यक्रमको पहिलो चरण समाप्तभई दोश्रो चरणको सुरूवातमा देशका ३२७६ गाविस र १९१ नगरपालिकामा ५ हजार वटा नागरिक सचेतना केन्द्र थप गरिएको हो । (सौस)

प्रतिक्रिया