इन्धन अभावमा चलेन मिल

caption (1)ताप्लेजुङ, १२ मंसिर । २ महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण वर्षाैंदेखि थन्किएका ढिकी जाँतो चल्न थालेका छन् । इन्धन अभावका कारण अधिकांश कुटानी पिसानी मिलहरू धमाधम बन्द हुन थालेपछि थन्किएर रहेको ढिकी जाँतोमा कुटानी पिसानी सुरू भएको हो ।

डिजेलको अभावले ताप्लेजुङ जिल्लाका दुर्गम गाउँहरूमा सञ्चालित कुटानी पिसानी मिलहरू प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । कुटानी पिसानी मिल बन्द हँुदा व्यवसायीहरूको व्यवसाय संकटमा पर्नुको साथै स्थानीय बासिन्दाहरूको कामको बोझ थपिएको छ । ताप्लेजुङको निघुरादिन–७ मा कुटानी पिसानी मिल सञ्चालन गर्दै आएका भूपाल दियालीले डिजेल नभएका कारण आफ्नो व्यवसाय संकटमा पर्दै गएको बताएका छन् । ‘आठराईको संक्रान्ती बजार बाट महँगोमा डिजेल किन्नुपर्छ त्यो पनि पर्याप्त पाइँदैन अब केही दिनपछि हात बाँधेर बस्नुको विकल्प छैन’ दियालीले दुखेसो पोखे । डिजेल महँगोमा किन्नु परेपछि धान र मकैलगायतका अन्न कुटानी पिसानी गर्ने भाडादर पनि बढाउनु परेको उनले बताएका छन् । अहिले कुटानी पिसानीमा प्रतिकेजी डेढ रुपैयाँँसम्म भाडा बढाएको दियालीले स्वीकार गरेका छन् ।

ताप्लेजुङ नगरपालिका–१ स्थित देउलिंगेका नारायण गुरागाइँले पनि तेल अभावका कारण आफ्नो मिल बन्दहुने अवस्थामा पुगेको जानकारी दिए । उनले आफूसँग रहेको स्टक तेलले केही दिनलाई मात्र धान्ने अवस्था रहेको जानकारी दिएका छन् । केही दिनअघि नै आफूले मिललाई चाहिने तेल बन्दोबस्त गरेकोले अहिलेसम्म कुनै समस्या नभएको तर केही दिन बाटै मिल बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । डिजेल पर्याप्त हँुदा दैनिक ७ घन्टा जस्तो सञ्चालन हुने मिल अहिले १ देखि डेढ घन्टा मात्रै सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोे गुरागाइँले बताएका छन् ।

उता फूलबारी–७ मा कुटानी पिसानी मिल सञ्चालन गर्दै आएका दुर्गाप्रसाद खतिवडाले सदरमुकामबाट बोकेर लगेको डिजेलले अब २ दिनसम्म मात्र धान्ने अवस्था रहेको बताएका छन् । खतिवडाले भने, ‘त्यसपछि ढिकी जाँतोको प्रयोग गर्नु पर्ला ।’ कालोबजारीका कारण बजारमै डिजेलको भाउ बढेकोले आफूले पनि धान, मकैलगायतका अन्न कुटानी पिसानी गर्ने भाडामा प्रतिकिलो ५० पैसा देखि १ रुपैयाँँसम्म वृद्धि गर्नुपरेको उनको भनाइ छ ।

नाकाबन्दी पछिको कालोबजारीले डिजेल पर्याप्त नपाइँदा कुटानी पिसानी व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायीको व्यवसाय पनि धरासायी बन्दै गएको छ । कुटानी पिसानी मिल सञ्चालकले आफ्नो पेसा संकटमा पर्न नदिन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । ‘हामीजस्ता सर्वसाधारणहरूको नुन भुटुन खाने अवस्थै हराउन लाग्यो’, निर्वाद रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्था बनाइदिन व्यवसायीले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

यसैबीच गाउँघरमा केही वर्षदेखि बन्द भएका ढिकी जाँतोको प्रयोग बढ्न थालेको छ । कतिपयले बिग्रिएका ढिकी जाँतोहरूलाई फेरि मर्मत संभार गरी सञ्चालन गर्न थालेका छन् । स्थानीयहरूले कतिपय कुटानी पिसानी मिल बन्द भएको तथा चलेका कुटानी पिसानी मिलले भाडादरसमेत बढाएपछि थन्क्याएर राखेका ढिकी जाँतोको पुनः प्रयोगमा ल्याउन थालेका छन् । मंसिरमा प्रायः धेरै किसानले धान थन्क्याएको अवस्थामा सहज रूपमा धान कुटानी पिसानी गर्न नपाउँदा सर्वसाधारण किसानहरूलाई समेत मर्का परेको छ ।

प्रतिक्रिया