साझा दृष्टिकोण बनाउनुपर्छ : अर्थमन्त्री

udghatanरुपन्देही, १२ मंसिर । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले भर्खर जन्मिएको संविधानलाई वृद्धि र विकास गर्न सहयोग गर्नुपर्ने बताएका छन् । उनले अहिलेको संविधानलाई रक्षा, प्रयोग र विकास गर्न अझै बाँकी रहेकाले संविधानको विषयलाई लिएर कुनै पक्षले आन्दोलन गर्न राम्र्रो नभएको बताएका छन् ।

शनिबार बुटवलको बेलवासमा निर्माण भएको दानवनदी पुलको उद्घाटन तथा देवीनगर हात्तीसुँढ बुद्धनगर जोड्ने तिनाउ नदी पुलको शिलान्याश कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् । जनताको संविधान जनताकै प्रतिनिधिबाट बनेकाले यसको विरोध गर्नुको कुनै औचित्य नभएको भन्दै उनले भने, ‘संविधान भर्खर जारि भएको छ, तर, संविधानको विषयलाई लिएर हामीमाथि असहजता थोपर्न खोजिँदै छ ।’ उनले भर्खर जन्मेको संविधानको रक्षासँगै विकास गर्नुपर्ने सबैको दायित्व र कर्तव्य रहेको भन्दै अहिलेको देशको परिस्थितिलाई समाधान गर्न सम्पूर्ण दल तथा आन्दोलनरत दलहरूले साझा दृष्टिकोण बनाउनुपर्ने बताए । उनले भने, ‘देशमा संकटकालको समाधान त भयो तर, यो केही होइन तर, यसको समाधानका लागि साझा दृष्टिकोण बनाउनुपर्छ ।’

उनले संविधान जारी पश्चात् नेपालमा भारतले गरेको नाकाबन्दीले देश अत्यन्तै कठिन अवस्थामा पुगेको बताए । आफ्नो राष्ट्रियताका लागि भारतसँग झुक्न नहुने भन्दै पौडेलले नाकाबन्दीको विषयमा कूटनीतिक समधानको खोजी भइरहेको बताए ।
अर्को फरक प्रसंगमा अर्थमन्त्री पौडेलले भैरहवामा निर्माणधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा सम्पन्न गर्न आफूले पहल थाल्ने बताए । उनले सिद्धबाबाको सडकलाई वैकल्पिक मार्गको खोजी भइरहेको समेत बताए । ‘हामीले यसको वैकल्पिक मार्गको खोजी गरिरहेको छौँ, यस विषयमा छलफल पनि अगाडि बढेको छ’ उनले भने, ‘सुरुङ मार्ग हुन्छ या अन्य के विकल्प हुन्छ तयार हुँदै छ ।’ उनले विकासको मुद्दामा सबै दलहरू एकबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जायर गर्दै पौडेलले आस्थाभन्दा माथि उठेर काम गर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भारतले गरेको नाकाबन्दी नेपाल र नेपालीको हित विपरीत भएको बताए । उनले नेपालको अखण्डतालाई कसैले पनि छुटाउन नसक्ने भन्दै यस्तो अवस्थामा सबै नेपालीले स्वाभिमानी देखाउन सक्नुपर्ने भन्दै उनले आन्दोलनरत् दललाई वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले पुलको जानकारी दिँदै देवीनगर हात्तीसुढ बुद्धनगर जोड्ने पुल २ वर्ष ५ महिनामा सम्पन्न गर्ने योजना अनुसार ठेक्का सम्झौता गरिएको बताए । पुलको लम्बाई १ सय १२ मिटर र चौडाइ ७ दशमलव ५ मिटर रहने पुलको ठेक्का सम्झौता भ्याटसमेत गरी १० करोड ४६ लाख ५६ हजार ८ सय १६ रुपैयाँमा गरिएको उनले जानकारी दिए । पुलको ठेक्का श्री लुम्बिनी, अरनिको, एसियाटिक जेभीले लिएका छन् ।

त्यस्तै दानव नदीपुल बेलबासको पुल ७ करोड ३० लाख ४४ हजार ३ सय ८७ रुपैयाँमा बनेको छ । ९६ मिटर रहेको पुलको चौडाई ६ मिटर कायम गरिएको छ । कार्यक्रममा डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेगराज मरासनी, एकीकृत माओवादीका गिरिधरी लाल न्यौपानेलगायतले बोलेका थिए ।

प्रतिक्रिया