खेतीयोग्य जमिन मासेर रुद्राक्ष

rudrakchha khetiसंखुवासभा १२ मंसिर । भोजपुरको दिङ्ला तथा संखुवासभाको केही गाविसका अधिकांश मानिसको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको रुद्राक्षको मूल्य वृद्धीसँगै यसको व्यावसायिक खेतीतर्फ त्यहाँका किसानहरू आकर्षित भएका छन् । केही वर्ष अगाडिसम्म भोजपुरको उत्तरी दिङ्ला तथा संखुवासभाको केही गाविसमा थोरै मात्र खेती भएको रुद्राक्षको खेती अहिले व्यापक बिस्तार हुन थालेको हो ।

रुद्राक्षको मूल्य बढेपछि यस क्षेत्रका अधिकांश कृषकहरूले व्यक्तिगत जग्गामा तथा सामुदायिक वन तथा खाली जग्गामा रुद्राक्ष बिरुवा लगाउन थालेको षडानन्द नगरपालिका–३ नामसाम चोकका कृषक दिलकुमार राईले बताए । पहिले एउटा घरमा एउटा दुईवटा रुद्राक्ष रहरको रूपमा रोपेका कृषकहरू यसबाट वार्षिक लाखौँ रुपैयाँँ आम्दानी हुन थालेपछि आफ्नो खेतीयोग्य जमिन नै मासेर खेती गर्न थालेको उनको भनाइ छ ।

खेति गर्ने समयमा पानी नपर्ने तथा खेती गर्न जनशक्ति पनि पाउन छाडिएकाले अन्नबालीको लगानीभन्दा बढी खर्च हुने गरेकाले खेतीयोग्य जमिन मासेर रुद्राक्ष लगाएको षडानन्द नगरपालिकाका कृषक विष्णु गौतमले बताए । रुद्राक्ष एकपटक बिरुवा लगाएपछि ४÷५ वर्षदेखि फल फल्न सुरु गर्ने र आम्दानी पनि प्रशस्त दिन थाल्ने साथै परिश्रम कम र जनशक्ति थोरैले भए पनि हुने भएकाले यो खेती रोजेको उनले बताए । रुद्राक्षको कारोबार भएको धेरै वर्ष भएको भए पनि २ र ३ वर्षदेखि मात्र यसको व्यापार फस्टाएको हो ।

भारत मात्र निकासी हुने रुद्राक्ष अहिले चिनियाँ व्यापारीको रोजाइमा पर्न थालेपछि यसको माग बढेको व्यापारीहरू बताउँछन् । केही वर्ष पहिलासम्म ठूला मुखदार रुद्राक्षको मात्र कारोबार हुने गरेको तर चिनियाँ व्यापारीहरूले जस्तोसुकै किसिमको भए पनि खरिद गर्न थालेपछि यसको मूल्य आकासिएको रुद्राक्ष व्यापारी नीलमणि न्यौपानेले जानकारी दिएका छन् । रुद्राक्षको चीन निकासी भएसँगै त्यसै खेर जाने ५ मुखे रुद्राक्षले समेत बजार पाएको छ । अहिले सबैभन्दा सानो ५ मुखे रुद्राक्ष पनि केजीको राम्रै मूल्य कायम भएको छ । त्यसको अलवा यसको साइज र रूप हेरेर मूल्य कायम हुने व्यापारीहरूको भनाइ छ । २२ एमएमभन्दा माथि साइज अनुसार रुद्राक्षको मूल्य कायम हुने गरेको छ । त्यसैगरी चिल्लो, थेप्चो रुद्राक्षको मूल्य पनि महँगो पर्ने व्यापारी न्यौपानेको भनाइ छ । मूल्य बढेसँगै यसको खेती फस्टाएको व्यापारी न्यौपानेले बताए ।

रुद्राक्षको मुख्य बजार भारत र चीन हो । अहिले चिनियाँ व्यापारीहरू भोजपुरको दिङ्ला तथा संखुवासभाको खाँदबारीमा कृषकको घर–घरमा पुगेर रुद्राक्ष खरिद गर्ने गरेका छन् । रुद्राक्षबाट यस क्षेत्रमा के कति आम्दानी हुन्छ भन्ने एकिन तथ्यांक कसैसँग नभए पनि प्रति परिवार २ लाख रुपैयाँँभन्दा बढीकै आम्दानी हुने गरेको कृषकहरूको अनुमान छ । एउटै कृषकहरूले १ वर्षमा १ करोडभन्दा बढी पनि कमाउने गरेको व्यापारीहरूको भनाइ छ ।

यस क्षेत्रमा अहिलेसम्म २ देखि २७ मुखेसम्म रुद्राक्ष फलेको जानकारीमा आएको व्यापारीहरूले बताउँदै आएका छन् । सबैभन्दा बढी मूल्य भएको रुद्राक्ष २१ मुखे हो यसको मूल्य २७ लाखसम्म पर्ने गरेको छ । रुद्राक्षको एकिन मूल्य नहुने भएकोले यसको मूल्य यतिनै पर्छ भनेर भन्न गाह्रो पर्दछ । यसको साइज आकार र व्यापारी पिच्छे मूल्य फरक–फरक पर्ने गरेको छ । एउटा २१ मुखे रुद्राक्ष दिङ्लाको बजारमा १७÷१८ लाख रुपैयाँमा खरिद भयो भने काठमाडौंमा पुग्दा २६÷२७ लाख पुग्ने गरेको व्यापारी बताउँछन् । यो अन्तिम व्यापारीसम्म पुग्दा कति मूल्य पर्दछ भन्नेमा व्यापारी नै अनविज्ञ छन् । रुद्राक्षलाई विशेष गरी धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

भगवान् शिवको रूपमा मानिने रुद्राक्ष धार्मिक कार्य, जप, हवन, गर्न प्रयोग गरिने बताइन्छ । वार्षिक करोडौं मूल्यको निकासी हुने रूद्राक्ष के मा प्रयोग हुन्छ भन्ने तथ्यपूर्ण कुरा अहिलेसम्म प्राप्त भएको छैन । तैपनि, यसलाई धार्मिक कार्यको अलवा घरको बुट्टा तथा स्वास्थ्यको दृष्टिकोणबाट यसको ओछ्यान बनाएर सुत्ने गरेको यसो गर्दा ब्लड प्रेसरको बिरामीलाई फाइदा पुग्ने व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया