अपांगता रोकथाम कार्यक्रम थप १५ गाविसमा

इलाम, ११ मंसिर । दुई वर्षदेखि इलाममा कार्यरत करुणा फाउन्डेसनले थप १५ गाविसमा कार्यक्रम विस्तार गर्ने भएको छ । अपांगता रोकथाम र तथा पुनःस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको फाउण्डेसनले सन् २०१६ देखि थप गाविसमा कार्यक्रम विस्तार गर्न लागेको हो ।

फाउण्डेसनका जिल्ला व्यवस्थापक अजित योञ्जनका अनुसार आमचोक, फुएँतप्पा, गोर्खे, बाँझो, साकफारा, महमाई, जोगमाई, नयाँबजार, श्रीअन्तु, लक्ष्मीपुर, शान्तिपुर एकतप्पा, माइपोखरी, पुवामझुवा र चमैता गाविसमा अपांगता रोकथाम र पुनःस्थापनामा काम गर्ने भएको हो । उक्त गाविसमा सन् २०१६ देखि सन् २०२० सम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

करुणाले अपांगता तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भएका गाविसमा अपांगता रोकथामका लागि स्वास्थ्य संस्थामा सामग्री वितरण, स्वास्थ्य चौकीको स्तरोन्नति, आमा समूहलाई परिचालन, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम, अपांगता भएका व्यक्तिहरूको पहिचान गरी क्षमता अभिवृद्धि, घरधुरी सर्वेक्षण, उपचारको व्यवस्था, उनीहरूलाई आत्मनिर्भर बनाउन एक लाख ५० हजार रुपैयाँ सम्मको बिउ पुँजी प्रदान, सहायक सामग्री प्रदानलगायतका कार्यक्रम सञ्चालन गरिने व्यवस्थापक योञ्जनले बताए ।

पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत सन् २०१७ देखि कार्यक्रम सञ्चालन गर्न बाँकी १६ गाविस र तीन नगरपालिकामा समेत पुनःस्थापना कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको व्यवस्थापक योञ्जनले भनाइ छ ।

प्रतिक्रिया