गोरखा पुनर्निर्माणका लागि पोखरामा दाता सम्मेलन

पोखरा, ११ मंसिर  । भूकम्पले अति प्रभावित गोरखा जिल्लाको पुनर्निर्माणका लागि गुरू योजना निर्माण गर्न पोखरामा दाता सम्मेलन सुरू भएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन शुक्रबारदेखि दाता सम्मेलन सुरु भएको हो ।

भूकम्प गएको सात महिना हुँदासमेत सरकारी तवरबाट पुनःनिर्माण प्राधिकरण गठन हुन नसकेको अवस्थामा भूकम्पप्रभावित गाउँ, बस्ती पुनःनिर्माणका लागि रणनीतिक योजना बनाउन दाता सम्मेलन सुरु भएको छ । पुनःनिर्माणका लागि आवश्यक योजनाहरू तयार गर्न आयोजित गोष्ठीमा भूकम्पपछि गोरखा जिल्लामा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र भूकम्पपीडितलाई सहयोग गरिरहेका संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको छ ।

गोष्ठीको उद्घाटनमा बोल्दै दातृ निकायका प्रतिनिधिहरूले पुनःनिर्माण प्राधिकरण तत्कालै गठन हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सभापति हरि घलेले भूकम्पपीडितका लागि आएका संघसंस्थाले पुनःनिर्माणको योजना बनेपछि खुरूखुरू काम गर्नुपर्ने बताए । गोरखाका १३ हजार जनता पुनःनिर्माणको पर्खाइमा बसेको भन्दै उनले सरकारी मापदण्डअनुसार तत्काल घर बनाउनुपर्नेमा जोड दिएका छन् ।

चिसोले भूकम्पपीडित कठ््याँग्रिएको भन्दै उनले पुनःनिर्माणमा सघाउन आएका संघसंस्थाहरू आकाश हेरेर बस्ने होइन, खुरुखुरू काम गर्नुपर्छ भनेका छन् । काम नगर्ने संघसंस्थालाई जिल्लामा बस्न नदिइने प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिना बताए । केन्द्रले पुनःनिर्माण प्राधिकरण गठन नगरेपछि गोरखाको पुनःनिर्माणलाई कसरी अघि बढाउने भन्ने रणनीति तयार गर्ने उनको भनाइ छ ।

दाता सम्मेलनमा अहिलेसम्म भएका उद्धार तथा राहतका कामबारे समीक्षा गर्ने र पुनःनिर्माणका लागि दातृ निकायसँग कति बजेट छ भन्नेबारे जानकारी गराइने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए । उनले भने, ‘कुन संस्थासँग कति बजेट छ भन्नेबारे पत्ता लगाएर ठोस योजना बनाउँछौँ ।’ वैशाखमा गएको भूकम्पले गोरखामा ५८ हजार घरधुरी ध्वस्त हुनुका साथै ४७२ जनाको मृत्यु र एक हजार एक सयजना मानिस घाइते भएका थिए । सम्मेलनमा डिएफआइडी, सिआरएस, अक्सफाम, इको नेपाल, पिपुल इन निड, युएनडिपीलगायत ठूला दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् । १३० जनाको सहभागिता रहेको दाता सम्मेलन शनिबार (आज) सकिने छ ।

प्रतिक्रिया