बीमा दाबीको ३३ प्रतिशत मात्रै भुक्तानी

anchoringकाठमाडौं, १० मंसिर । भूकम्पको कारणले परेको क्षतिको दाविमा बिगत सात महिनामा बीमा कम्पनीले जम्मा ३३ दशमलव ६२ प्रतिशतको मात्रै दाबी भुक्तानी गरेका छन् । गएको सात महिनामा बीमा कम्पनीले जम्मा एक तिहाईको मात्र बीमा दाबी भुक्तानी गरेको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीहरूले भुक्तानीमा लापरबाही गरेका छन् । भूकम्पका कारण परेको दाबीमासमेत उनीहरूले सर्वसाधारणलाई झुलाइरहेका हुन् । एक बर्ष बित्न लाग्दा पनि बीमा कम्पनीहरूले ३३ दशमलव ६२ प्रतिशत मात्रै दाबी भुक्तानी गरेका हुन् । भूकम्पले आफ्नो सम्पत्तिमा क्षति पु¥याएपछि सर्वसाधारणले त्यसको दाबी बीमा कम्पनीमा गरेपनि भुक्तानीमा भने ढिलाइ भएको हो । बीमा समितिले समयमै दाबी भुक्तानीका लागि कम्पनीहरूलाई ताकेता गरे पनि बीमा कम्पनीले भने सर्भेयरको अन्तिम प्रतिवेदन नआएकाले भुक्तानीमा समस्या भएको बताउने गरेका छन् । ‘सर्भेयरको प्रतिवेदन नआइ दाबी भुक्तानी हुँदैन,’ एक बीमा कम्पनीका सिइओले भने, ‘सर्भेयरको प्रतिवेदन कुर्दाकुर्दै दाबी भुक्तानी ढिलाई भैरहेको छ ।’

सर्भेयरको प्रतिवेदनमा ढिलाई भएपछि बीमा समितिले सर्भेयरहरूलाई नै चेतावनीयुक्त पत्र पठाएको छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार समितिले सर्भेयरहरूलाई तत्काल आफ्नो प्रतिवेदन बुझाउन पत्र पठाएको हो । ‘समितिले कम्पनीलाई सोध्दा उनीहरू सर्भेयरलाई दोष दिन्छन्, त्यसैले हामीले सर्भेयरलाई नै तत्काल आफ्नो प्रतिवेदन बुझाउन भनेका छौँ,’ पौडेलले भने, ‘उनीहरूले तत्काल प्रतिवेद नबुझाए कारबाही प्रक्रियासमेत अगाडि बढ्छ ।’ बीमा समितिका अनुसार अहिले तीनसय सर्भेयरले यसको काम गरिरहेका छन ।
बीमा कम्पनीहरूले साना दाबीको भुक्तानी गरे पनि ठूलो रकम भने भुक्तानी गर्न सकेका छैनन् । समितिका अनुसार अहिले जलविद्युत आयोजना, अपार्टमेन्टजस्ता ठूलो रकमको दाबी भुक्तानी रोकिएको छ । यो अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा अग्रस्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरले ८९ प्रतिशत दाबी भुक्तानी गरिसकेको छ । यस्तै दोस्रो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल इन्स्योरेन्सले ७७ प्रतिशत दाबी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्सले ५० प्रतिशत दाबी भुक्तानी गरेको छ । अरू बाँकी सबै कम्पनीको दाबी भुक्तानी ५० प्रतिशत भन्दा कम छ ।

बीमा समितिलाई बुझाएको दाबी भुक्तानीमा सबैभन्दा पछिल्लो स्थानमा एभरेष्ट इन्स्योरेन्स छ । यो कम्पनीले १० प्रतिशत मात्रै दाबी भुक्तानी गरेको छ । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार उसले बढी भुक्तानी गरेको छ । यस्तै प्रिमियर र युनाइटेड इन्स्योरेन्स पनि दाबी भुक्तानीमा पछाडि रहेका छन् ।

प्रतिक्रिया