जानुकाको एकल शब्दमा ‘गीत’

geet liyara 1काठमाडौं, ९ मंसिर ।  गीतकार जानुका ढकालको एकल शब्द र संगीतकार तथा गायक बिनोद पछाईको एकल संगीतमा रहेको गिती एल्बम ‘गीत’ बजारमा आएको छ । नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतिमा रहेको उक्त एल्वमको बिमोचन यहि मंगलबार भएको हो ।

नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिषद सदस्य उन्नतीशिला बोहोरा, अष्ट्रेलियन समाजसेवी माइकल जोन होगन, गायिका संगीता राना प्रधान, नायिका झरना थापा, संगीतकार राजु सिंह लगायतले एल्बमको संयुक्त विमोचन गरेका हुन् ।

एल्बम ‘गीत’ विमोचनपछि उपकुलपति शम्भुजित बास्कोटाले एल्बममा रहेको गीतहरु समग्रमा राम्रो भएको बताए । एल्बमको समीक्षा गीतकार तथा प्राज्ञ उन्नती शिला बोहोराले गरेकी छन् । बोहोराले गीत सुनेपछि सुनिरहन मन लाग्ने शब्द र संगीत रहेको र गायक–गायिकाले पनि उतिकै मिहिनेत गरेकाले समग्र पाटो नै राम्रो रहेको चर्चा गरिन् ।

एल्बममा अहिलेका चर्चित गायक गायिका अन्जु पन्त, संगीता राना प्रधान, मिलन आमात्य, दिपक लिम्बु, बिनोद पछाई, निशा देसार, कन्काइष्ट राई, जुनु रिजाल लगायतको सुमधुर आवाज रहेको छ ।  एल्बम भित्र रहेको ‘तिमी आउँछु भनेर होकी’ बोलको गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ । म्यजिक भिडियोमा नायिका गरिमा पन्त र मोडल पुष्प खड्काका साथै बालकलाकारको रुपमा गीता पछाईको अभिनय रहेको छ ।

राष्ट्रिय गीतमा भने गायक–गायिकाले नै अभिनय गरेका छन् । उक्त कार्यक्रममा गायक तथा संगीतकार बिनोद पछाईले गीत प्रस्तुत गरेका छन् । नाम चलेका सबै कलाकार, गीत–संगीत क्षेत्रका व्याक्तिहरुको बाक्लो उपस्थितिमा विमोचन गरिएको ‘गीत’ एल्बमको बिमोचन अहिलेको असहज परिस्थितिमा सम्पन्न हुनु भनेको गीत संगीतको क्षेत्रमा महत्वपूर्ण कुरा भएको मन्तव्यको क्रममा उपकुलपति शम्भुजित बास्कोटाले बताए ।

‘गीत’मा चर्चित संगित संयोजक महाराज थापाले संगीत संयोजन गरेका छन् । भने महेश्वरमान राजभण्डारीले सम्पूर्ण गीतको मिक्सिङ् मास्टरिङ गरेका हुन् ।
‘गीत’ एल्बम गीत गीतकार जानुका ढकालको पहिलो कोशेली हो भने संगीतकार बिनोद पछाईले योभन्दा अगाडि ५ वटा एल्बममा संगीत दिइसकेका छन् । उनले थुप्रै गीतहरु पनि गाएका छन् ।

प्रतिक्रिया