सन्डरल्याण्डको सिजनकै दोस्रो जित

sunderland vs crystelलण्डन, ८ मंसिर । जेमाइन डेफोले एक मात्र गोल गरेपछि सन्डरल्याण्डले इंलिस प्रिमियर लिग फुटबलमा सिजनको दोस्रो जित हासिल गरेको छ । रेलिगेसन जोनमा रहेको सन्डरल्याण्डले सिजनकै दोस्रो जित निकाल्ने क्रममा सोमबार राति क्रिष्टल प्यालेसलाई १–० ले हराएको हो । क्रिष्टल प्यालेसकै मैदानमा सन्डरल्याण्डलाई विजयी गराउन जेमाइन डेफोले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

बल पोजिसनमा एकतर्फी क्रिष्टल प्यालेस हावी भएको खेलमा डेफोले बिल्ली जोन्सको पासमा बायाँ खुट्टाले गोल गरेका थिए । ‘डेफो स्तरीय फिनिशर हो ।’ महत्वपूर्ण जित दिलाएपछि डेफोको प्रसंसा गर्दै सन्डरल्याण्ड प्रशिक्षक साम अल्लार्डसले भने, ‘कुनै डिफेन्डरले गल्ति गर्छ भने डेफोले त्यसमा कुनै गल्ति गर्दैन ।’

त्यस्तै प्रशिक्षक अल्लार्डयसले आफ्नो टोलीको डिफेन्सिभ खेल उत्कृस्ट रहेको बताए । ‘हाम्रो राम्रो डिफेन्सिभ खेल थियो । त्यहाँ कुनै संयोग थिएन ।’ अल्लार्डयसले थपे, ‘ यो तीन अंक निकै महत्वपूर्ण छ मेरो र खेलाडीका लागि र यो हाम्रो कडा मेहेनतले गर्दा सम्भव भयो ।’ यो जितसँगै सन्डरल्याण्डले रेलिगेशनक्षेत्रको दबाबलाई केही कम गरेको छ । १३ खेलबाट ९ जोडेको सन्डरल्याण्ड अंक तालिकाको १८ औं स्थानमा उक्लिएको छ । सो सिजन तीनमा बराबरी गरेको सन्डरल्याण्ड ८ खेलमा हारेको छ । लिगमा सण्डरल्याण्डले अवे जीत हात पारेको यो पहिलो पटक हो ।

लिगमा १९ अंक जोडेको क्रिष्टल प्यालेस १० औं स्थानमा छ । घरेलु मैदानमा सण्डरल्याण्डविरुद्ध निकै उत्कृष्ट देखिएपनि प्यालेसले गोल गर्न सकेन । ‘सण्डरल्याण्डको जित उनीहरूको खेल प्लानले भयो ।’ हारपछि क्रिष्टलका प्रशिक्षक एलेन पड्रेवले भने, ‘हामीले खेलमा बल पोजिसन, आक्रमण सबै राम्रो गर्न सक्यौ । तर, दुर्भाग्य हामीले गोलको अवसर निकाल्न सकेनौ ।’

त्यस्तै उनले आफ्नो डिफेन्सले डेफोलाइ रोक्न नसक्दा पराजित भएको बताए । इङ्लिस प्रिमियर लिग फुटबलमा १३ खेलबाट २८ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट २७ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो र चौथो स्थानका म्यानचेस्टर सिटी र आर्सनलको २६–२६ अंक रहेको छ ।

प्रतिक्रिया