मलामी माथी आक्रमणहुँदा शव बाटैमा अलपत्र

उदयपुर, ८ मंसिर । उदयपुरको बेल्टार बसाहा नगरपालिका–५ माडीबासमा शव लिएर गएको मलामी माथी राती आक्रमण हुँदा शव अलपत्र परेको छ । उदयपुरको सदरमुकाम गाईघाटबाट पोष्टमार्टम गरि सवारी साधनमा शव लैजाँदै गर्दा सवारी साधन माथिनै आक्रमण भएको शव लिएर गएकाहरूले बताएका छन् ।

स्थानीय १८ बर्षीया सुस्मा राईको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरी स.१.त.२३३३ नम्बरको ट्याक्टरबाट घर लैजानेक्रममा उनीहरूलाई माडीवासमा स्थानीय एक समुहले सोमबार राती आक्रमण गर्दा ६ जना घाईते भएका छन् । आक्रमणबाट बेल्टारबसाहा–११ का भभिराज राई, हर्कराज राई, पदम राई,  पदमबहादुर राई, कर्णबहादुर राई र पुर्णबहादुर राई घाईते भएका छन् । घाईतेमध्ये कर्णबहादुर र पुर्णबहादुरको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी नायव निरीक्षक नारायण तामाङ्गले जानकारी दिए ।

सुस्मा राईको शवलाई पोष्टमार्टम गरी सदगदकालागी घर लैजानेक्रममा माडीबासका डेविट खड्का, अभिनास खड्का, गोपाल खड्का, रत्ना खड्का र दिनेश खड्काले आक्रमण गरेको प्रनानी तामाङ्गले बताए । आक्रमणमा संलग्न सबै एकै घरका परिवार रहेको पनि प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर होहल्ला गर्दै सडकमा बसेका उक्त समुहले ट्याक्टरलाई रोकी रातारात हिँडने को हो ? भन्दै ट्याक्टर र मृतकका आफन्तमाथि अन्धाधुन्द आक्रमण गरेको प्रहरीले जनाएको छ । शव बोकेको जानकारी गराउँदा गराउँदै पनि आक्रमणकारीले आफूहरूमाथि कुटपिट गरेको पीडित कर्णबहादुर राईले बताए ।

आक्रमण लगत्तै पुगेको प्रहरीको टोलीले दिनेश खड्कावाहेक सबैलाई पक्राउ गरेको छ । फरार दिनेशको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेको प्रनानी तामाङ्गले जानकारी दिए । मृतकका आफन्तले उक्त शव घटनास्थलमा नै छोडेकाछन् ।

प्रतिक्रिया