सम्वृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्दछ । विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको उर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ । भनिन्छ बाली लगाउन ६ महिना, फलफूल फलाउन १० वर्ष र शिक्षित र सक्षम मानिस बनाउन सय वर्षको योजना चाहिन्छ ।
राज्य सञ्चालनका सबै नीतिहरूका पनि नीति हो राजनीति । वास्तवमा स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ । शिक्षा र राजनीति परस्पर अन्तरसम्बन्धित विषय हुन् । राजनीतिका सारथी नेताहरूले बनाएका नीतिका आधारमा नै अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि चलेको हुन्छ । तर, अचेल राजनीतिकर्मीहरूबाट आफ्नो पद र प्रतिष्ठा राजनीतिक मूल्य मान्यताभन्दा पनि आफ्नो स्वार्थपूर्तिका लागि अराजनीतिक गतिविधिमा प्रतिष्पर्धा भएको देखिन्छ । हरेक क्षेत्रमा राजनीतिक स्वार्थ राखेर च्याखे थाप्ने प्रवृत्ति हावी भएको बग्रेल्ती उदाहरण देख्न र सुन्न पाइन्छ । राजनीतिलाई अनियमित, अस्वभाविक, अनैतिक काम र घटनासँग जोडेर परिभाषित गर्नेहरूको संख्यामा कमी छैन । शिक्षण संस्थामा पनि अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्तता ल्याएको छ । विकासको मेरुदण्ड समसामयिक गुणस्तरीय शिक्षा व्यवस्थापनको लागि अराजनीतिक गतिविधिले नराम्रोसँग गाँजेको छ । मानवको अन्तरनीहित प्रतिभाको आविस्कार गरेर त्यसको रचनात्मक, सकारात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनीतिक चेतना उच्च हुनु स्वाभाविकै हो । तर, अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मक भन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीति व्याप्त छ । राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रूपमा शिक्षण संस्था परिचित हुन थालेका छन् । टाठावाठाको भूलभूलैयामा अधिकांश विद्यार्थी आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रूपका आन्दोलनमा होमिएका छन् । कतिपयलाई आन्दोलनको मर्म र निभाउनुपर्ने धर्मबारे छेउपुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असरसमेत उनीहरूलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकांश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हाल होला ? आजकल शिक्षण संस्थाको तोडफोड तथा गुरुलाई कालोमोसो दल्ने, कुट्ने पिट्ने, थुन्नेजस्ता सांघातिक हमलाहरू पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतरूपको पराकाष्ट हो भन्दा अन्यथा नहोला । समयको मागअनुसार शिक्षाको विकास र विस्तार गर्न आस्थाको आधारमा गरिने हस्तक्षेपकारी वैचारिक राजनीतिभन्दा पनि गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि समर्पित शैक्षिक राजनीति अपरिहार्य भैसकेको छ ।
शिक्षक कर्मचारीलाई उनीहरूको पेसागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्यांकन गरिनुका कारण बालबालिका गुणस्तरीय शिक्षा पाउनवाट विमुख भएका छन् । विद्यालय वर्षको २२० दिन खुल्नुपर्ने प्रावधान भए पनि ९० दिन पढाइ भए ठूलो उपलब्ध्री भएको ठान्नु परेको छ । विद्यालय खुलोस पनि कसरी जब कि बन्द हड्ताल जुलुसको शोभाको स्रोत विद्यार्थी हुने गरेका छन् । पाठ्यक्रम पाठ्यपुस्तकले निर्धारण गरेको पूरा समयावधि पढाइ नभएको अवस्थामा हामीले कस्तो गुणस्तरीयताको अपेक्षा गर्न सकिएला ? अब त राजनीतिज्ञलाई नै जवाफदेहिता र संस्कारयुक्त शिक्षा दिनुपर्ने खाँचो देखिन्छ । अतः देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकोले कतिपय राजनीतिकर्मीलाई ठूलो मान्छेभन्दा पनि जवाफदेही असल नागरिक बन्न प्रेरित गर्ने खालको खाँचो खट्किएको देखिन्छ । विद्यमान शैक्षिक बेथितीलाई सही बाटोमा ल्याउन व्यक्तिभन्दा विधिको, नेताभन्दा नीतिको, सिम्टमभन्दा सिस्टम सम्बोधन गर्ने खालको दृढ इच्छाशक्ति भएको दूरदर्शी राजनीतिकर्मी उत्पादन गर्ने शिक्षाको अपरिहार्यतालाई नकार्न सकिन्न ।
तोकिएको सेवाशर्त पूरा नगरिकन शिक्षणसंस्था किन खुल्दछन् ? शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा आदि वृत्तिविकासका अवसर आवश्यकता र चाहनाअनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यी र यस्तै खाले कतिपय प्रश्नहरू राजनीतितर्फ लक्षित हुन्छन् । विद्यार्थी, शिक्षक कर्मचारीलाई आफ्नो योग्यता, क्षमताअनुसार दक्षता प्रर्दशन गरी विवेकपूर्ण निर्णयहरू लिनलाई राजनीतिले प्रभाव पारेको छ । आफै नीति नियम बनाउने तर त्यही नीति नियमलाई मिचेर कामगर्न विवश बनाउने प्रवृत्ति अपरिपक्व राजनीति हैन र ? अर्को अर्थमा भनुपर्दा शिक्षक कर्मचारीलाई प्रत्यक्ष, परोक्ष रूपमा नीहित राजनीतिक उद्देश्यपूर्तिका लागि कठपुतली बनाइएको छ । यसो भन्दा असान्दर्भिक नहोला कि ? तसर्थ भावी पिंडीलाई इमान्दार राजनीतिज्ञ बनाउन अहिलेदेखि नै शिक्षा दिनुपर्ने खाँचो टड्कारो देखिन्छ ।
सम्वृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्दछ । विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको उर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ । भनिन्छ बाली लगाउन ६ महिना, फलफूल फलाउन १० वर्ष र शिक्षित र सक्षम मानिस बनाउन सय वर्षको योजना चाहिन्छ ।
राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहं भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति तथा देशलाई प्रतिस्पर्धी र प्रतिष्ठित रूपमा विश्वसामु उभ्याउन शिक्षामा अशोभनीय स्वार्थी राजनीति गर्न तत्काल त्याग्नु पर्दछ ।
राजनीतिक दलहरूले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ । तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ । विद्यार्थीको पठन पाठनलाई केन्द्रमा राखेर शैक्षिक नीति नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्दछ । संलग्न शिक्षक कर्मचारीको कार्य सम्पादन मूल्यांकन विद्यार्थीले हासिल गरेको उपलब्धीस्तर र प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा दाँजेर गरिनुपर्दछ । समयको मागअनुसार सर्वसुलभ गुणस्तरीय उन्नत शिक्षाको विकास र विस्तारको सुनिश्चितताको निमित्त स्वार्थपूर्ण वैचारिक राजनीतिभन्दा पनि निस्वार्थ शैक्षिक राजनीति आजको आवश्यकता हो । शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्वाध रूपमा चल्न पाउनुपर्दछ । गुणस्तरीय शिक्षाको प्रत्याभुतिका लागि शिक्षण संस्थामा दूरदर्शी नेतृत्व, कुशल व्यवस्थापन, अनुशासित विद्यार्थी, लगनशील शिक्षक, सचेत अभिभावक, जागरुक समुदाय, समसामयिक पाठ्यक्रम तथा शिक्षा नीति आधारभूत शर्त हुन् ।
शिक्षण संस्थाका क्रियाकलापलाई नियमित र सकारात्मक बनाउन व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्दछ । राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनु पर्दछ भन्नेबारे शिक्षा प्रदान गरिनु पर्दछ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्दछ । जानीजानी शिक्षामा स्वार्थी राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याने कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गरिनु पर्दछ ।
प्रतिक्रिया