भारत नेपालको नजिकको छिमेकी मित्र हो उसलाई सक्ने सहयोग गर्न नेपाल सरकार तयार छ । भारतसँग हाम्रो सनातनदेखिको धार्मिक र साँस्कृतिक सम्वन्ध पनि प्रगाढ छ जुन कुनै पनि देशले विचलित पार्न सक्दैन । यो सम्बन्ध नेपाललाई मात्र होइन, भारतलाई पनि उत्तिकै जरुरी छ जति नेपाललाई जरुरी छ । यस्तो नङ र मासुको सम्बन्ध रहेको छिमेकी मित्र भारतले नेपालको अति मिलनसार र मृदु मित्रतालाई कमजोरीको रुपमा ठानेर नेपालमाथि ठाडो हस्तक्षेप गर्न खोज्नु भारतको अर्कमण्यता हो । नेपालीहरु जसरी भारतलाई मित्रताको रुपमा हेर्ने गर्छन् त्यो रुपमा भारतले नेपाललाई मित्र छिमेकी देशका रुपमा नहेरेको अहिलेको परिस्थितिले प्रमाणित गरिदिएको छ । यो प्रमाणलाई भारतले कुनै पनि हालतमा होइन भन्न पाउँदैन । नेपालको तराईमा भौगोलिक अधिकार प्राप्तिका लागि शासक वर्गसँग तराई–मधेसवासीले माग गर्नु स्वाभाविक हो र यो नेपालीहरुको अधिकार पनि हो । यस्तो संगीन घडीमा उत्तरको छिमेकी मित्र चिनले घर भित्रको कुरा हो नेपाली आफैले मिलाऊ भन्छ । तर, दक्षिणको मित्र भारतले सात बुँदा परिवर्तन गर्नै पर्छ नत्र तिम्रो संविधान हामी स्वीकार गर्दैनौँ भन्छ । छिमेकीको घरमा कतिसम्म बोल्ने अधिकार हो त्यसको पनि भारतले वेवास्ता गरेको पाइन्छ । एउटा छिमेकीले अर्को छिमेकीलाई सल्लाह र सहयोग दिन सक्छ तर हस्तक्षेप होईन ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेर आफ्नो विचारलाई नेपालको कानूनमा लेखाउन दवाव दिनु नेपाल र नेपालीको लागि आपत्ती हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मोदी नीति’ नेपालप्रतिको हेपाहा प्रवृति होइन भनेर कुनै पनि नेपालीहरुले भन्न सक्दैन । एसियाकै होनहार देशको रुपमा परिचित भारतको यति सानो सोच देख्दा यतिखेर जोकोही नेपालीले पनि भारतको मानसिक औकातको सजिलै आँकलन गर्न सक्छन् । ‘सादा जिवन उच्च विचार’ भन्ने अभिव्यक्तिको प्रत्युउत्पादक देश जहाँ महात्मा गान्धीको बिचार जन्मियो त्यही देशकै प्रधानमन्त्रीको तुच्छ विचारयुक्त क्रियाकलाप छिमेकी मित्र देशमा प्रक्षेपण गर्न खोज्नु महात्मा गान्धीको उच्च विचारलाई चुनौती दिए झै हो ।
मोदीले नेपालमा भारतको जुन विचार लाद्न खोजे, त्यो सरासर भारतीय तुच्छ विचार नै हो । यदि भारतको हृदय विशाल र विचार उच्च हुन्थ्यो भने आज नेपालले संविधान पाएको योे क्षणमा छिमेकीले पनि खुशी मनाउने वातावरण मिलाउन सक्नुपथ्र्याे तर त्यसो हुन सकेन । मोदी भारतका प्रधानमन्त्री त भए तर उनले छिमेकी देश र जनताबारे प्रशस्त जानकारी नराखेको देखिन्छ । उनका पावरदार चश्मा लगाउने चर्मचक्षुले नेपाली स्वाभिमानी छन् भन्ने कुरो कहिल्यै पनि नदेखेको र नेपाली राजनीतिज्ञहरुलाई ऋषिमन बनाउन प्रेरणा दिएका मोदीले अनुभुती नगरेको देखिन्छ । स्वाभिमानी नेपालीहरु खाडीमा गएर तातो वालुवामा छाला सुकाउलान् तर मागेर खान जान्दैन भन्ने कुराको कलियुगीन भारतीय ऋषीमनका आवरक मोदीले अहिलेसम्म पनि बोध गर्न नसकेको प्रष्ट भएको छ । नेपाल र नेपाली आदिमकालदेखि स्वाभिमानी छन् कसैको औपनिवेशमा वाँच्न सकेनन् भन्ने हेक्का भारतीय मोदी सरकारले चाल पाएन । नेपाल र मधेसवासीको अधिकारको भिक्षा भारतले मागिदिने रे तैपनि नेपालको अस्मिता लुटिने गरी कति अमिल्दो कुरा । त्यो कदापी हुन सक्दैन । करोडौँ नेपालीको प्राण आहुती होस् तर नेपाल आमा बलात्कृत भएको देख्न सक्दैनन् नेपालीहरु । नेपालका नेताहरुलाई ऋषिमन बनाउन अर्ति–उपदेश दिने मोदीजी तपाईको रावणमन नेपालीहरुले बुझिसकेका छन् ।
तपाईले नेपाली राजनीतिज्ञहरुलाई बकचितुवा वनाएर तराईको शिकार गरौला भन्ने गिद्धे सोच राख्नु तपाई र भारतीयहरुको लागि पनि हानिकारक हुन सक्छ । नेपाल र नेपालीसँग धेरै सम्भावना छन् जुन सम्भावना अहिलेसम्म नेपालीहरुले जोगाएर राखेका छन् त्यो भारतलाई पनि थाहा नहुन सक्छ । नेपालका केही राजनीतिक दलका परअभिमानी नेताहरुलाई फकाइफुलाई गर्दैमा नेपाली जनताहरु चुप लागेर बस्नेवाला छैनन् । तराईका भूमिपुत्र थारु र मधेसी जुन ऐतिहासिक कालदेखि यस नेपाली भूमीमा वसोवास गर्दै आएका छन् ति सच्चा नेपाली हुन्, जसले तराईको औलोसँग लड्यो, अंग्रेजसँग पनि लड्यो तिनीहरुलाई अधिकार दिनका लागि नेपाल सरकार कदापी हिच्किचाउने छैन । यतिखेर भाई फुटे गवार लुटे भने झै नेपाली–नेपालीमा एकता गर्नु आवश्यक देखिएको छ । परचक्री पाउ देशमा परिसकेपछि सच्चा देशभक्त नेपालीको मन दुख्नु स्वाभाविक पनि हो ।
यस्तो अवस्थामा पनि चिन्ता नगरी आपसी लडाइलाई बढावा दिने हो भने पक्कै पनि नेपाल र नेपालीप्रति कुदृष्टि राख्ने पापिष्टहरुको मनोवल बढ्ने र अभिष्ट पूरा गर्ने साइत जुर्न सक्छ । यसमा सम्पूर्ण नेपालीहरु होसियार हुनु पर्ने समय आइसकेको छ । भारतले विश्वसामु कतीसम्म निर्लज्जता देखाएको छ त्यो त मधेस आन्दोलनका नाममा भारतले देखाएको प्रवृत्तिबाट प्रष्ट भैसकेको छ । यसमा भारत सरकारले कुनै पनि स्पष्टीकरण दिइरहनु पर्दैन । १० वर्षे द्वन्द्वकालमा भारतीय सीमानामा जोडिएका नेपालका जिल्ला सदरमुकामहरुमा तत्कालीन माओवादीका कार्यकर्ताहरु नेपाली भूमिमा आन्दोलन गरिरहँदा भारत सरकारलाई खतरा महसुस हुने तर भारतीय भूमीबाट नेपालमा ढुंगामुडा भैरहँदा नेपाललाई केही नहुने ? भारतको कस्तो संकुचित र तुच्छ मन भन्ने यसबाट छर्लंग भैसकेको छ ।
माओवादीको नाममा भारतले सीमानामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) राख्न पाउने भारतबाट नेपालमा आक्रमण भैरहँदा नेपाल सरकारले नेपाली सीमानामा नेपाली सेना राख्न किन हिचकिचाउने ? आम नेपालीको प्रश्न छ । नेपालीहरु सोझा छन् चाहे पहाडी होस, चाहे थारु होस, चाहे मधेसी होस् । सोझो मित्रतालाई कमजोर सम्झी आफ्नो स्वर्थ सिद्ध गर्न कुनै पनि देशले नजर लगाउछन् भने ‘बुरी नजर वाला तेरे मुह काला’ नेपाली जनताले त्यसलाई छाड्ने छैनन् ।
यतिखेर मधेसमा आगो सल्किएको छ त्यो आगो निभाउने दमकल पक्कै पनि नेपाल सरकारसँग छ । चाँडै मधेस समस्याको समाधान हुन्छ भन्ने कुरामा नेपाली जनताहरु ढुक्क छन् । नेपालमा यतिखेर दोस्रो दर्जाका नागरिकहरुबाट मधेस आन्दोलनलाई अर्कै मोडमा पु¥याइएको भन्ने कुराहरु चारैतिर विश्लेषण हुन थालेका छन् । यदि यस्तो हो भने सबै नेपालीहरु एक ढिक्का हुनु पर्ने बेला आएको छ । केही आन्दोलनकारीहरुले संविधानमा लेखिएका कुराहरुलाई तोडमोड गरी प्रचार गर्ने र ग्रामीण समुदायहरुलाई आन्दोलनमा ल्याउन प्रेरणा दिने गरेको यतिखेर चर्चाको विषय बनिरहेको छ । यस्तो अवस्थामा संविधानमा लेखिएका कुराहरु दूरदराजका ग्रामीण जनताहरुलाई प्रष्ट्याउनु पर्ने आवस्यकता पनि देखिन्छ । यतिखेर नेपालको भूपरिवेष्ठित अधिकार खोसिएको छ । नेपालीहरु एउटा देशको स्वार्थका कारण आफ्नो अधिकारबाट वञ्चित भएका छन् । भारतकै कारण नेपालका लागि ल्याइएका पेट्रोलियम पदार्थहरु भारतीय भूमिमै थन्किएका छन् । अन्तर्राष्ट्रिय कानून भारतले मिचिरहँदा अन्तर्राष्ट्रिय देशहरु पनि गुमसुम टोलाएका छन् ।
विभिन्न एनजीओमार्फत नेपालीहरुलाई अधिकारको महापुराण सिकाउने अन्तर्राष्ट्रिय समुदायहरु भारतले नेपालीको अधिकार उल्लंघन गरिरहँदा किन चुपचाप छन् । यसतर्फ पनि गम्भीर रुपमा नेपालीले सोच्नु जरुरी भैसकेको छ । जेहोस् छिमेकी नै ‘जिउँदाको जन्ती मर्दाको मलामी’ हो चिन र भारत नेपालका असल छिमेकी मित्र हुन् । नेपालले पनि दुवै छिमेकी देशहरुसँग सन्तुलित सम्बन्ध स्थापित गर्नु जरुरी छ । एउटालाई काखा र अर्कालाई पाखा गर्नु नेपाल र नेपालीकै लागि दुर्भाग्य सावित हुन सक्छ । दुवै देशसँग समसम्बन्ध राख्दै सम्भावित उत्पादनलाई नेपालमै जोड दिनसके यस्ता तुच्छ विचार र विभिन्न कालखण्डमा गरिने घोषित अघोषित नाकाबन्दीको नेपाली जनताले सामना गर्न सक्ने छन् ।
प्रतिक्रिया