नेपालमा अहिले तीन वटा कुराको ब्यापक चर्चा छ । पहिलो नाकाबन्दी, दोस्रो नाकाबन्दीले गर्दा अभाव भएको ग्यास र पेट्रोलियम पदार्थ तथा तेस्रो बाबुराम भट्टराईको अगुवाईमा निर्माण गर्न लागिएको नयाँ शक्तिको । एमाओबादी छाडेर नयाँ शक्ति निर्माणमा हिँडेका बाबुराम भट्टराईको अहिले प्रशंसा भन्दा आलोचना धेरै सुनिएको छ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने शैलिमा आलोचनाका बाबाजुद पनि बाबुराम भट्टराई नयाँ शक्ति निर्माणको बहस चलाउदै हिडेका छन् ।
यसले बिस्तारै आकार ग्रहण गर्ने अवस्था सृजना हुँदै छ । गर्भअवस्थामा रहेको नयाँ शक्तिको आगमनले आफैं केही गर्न सक्छ सक्दैन त्यो समयले देखाउने कुरा हो । तर, भएका पुराना शक्तिलाई चुस्त बनाउन, सचेत बनाउन पक्कै पनि भूमिका निर्वाह गर्ने छ । नयाँ प्रयासकै कारण समाजको विकासले गतिलिने भएकाले यस्ता प्रयासलाई सकारात्मक रुपमै लिनु पर्छ । यद्यपी धेरै जनताको विश्वास जितेर प्रभावकारी शक्तिका रुपमा आउने अपेक्षा गरिएको यो समूहका कतिपय गतिविधि हेर्दा पुरानै पार्टीका समस्या नदेखिएलान भन्न सकिने अवस्था छैन । यसका अगुवाहरु समयमै सचेत भए भने मुलुकले पनि केही पाउने गरि अगाडि बढ्न सक्ने भएकाले केही सुझाव र टिप्पणी गर्ने प्रयास गरिएको छ ।
सन यात्सेन र बाबुरामको भजन मण्डली
पुरानो पाठ्यक्रममा एक जना चिनिया क्रान्तिकारी नेता सन् यात्सेनको जीवनी पढ्न पाईन्थ्यो । उनको जीवनीको एउटा भागमा लेखिएको कुरा सधंै याद आईरहन्छ । सन् यात्सेनलाई साथ दिने तीन प्रकारका मानिस थिए । एउटा समूह मुलुकमा राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक सरकार बने मुलुकले आर्थिक प्रगति गर्छ जनताले सुख पाउँछन् भन्ने थियो । अर्को समूह मञ्चु बंशको शासन गर्यो भने आफूले शासन गर्न पाईन्छ भनेर लागेको थियो । तेस्रो समूह आफ्ना बिरोधी र सत्रुलाई नाश गर्ने उद्देश्यले मात्र पछि लागेको थियो । जब सन् १९११ मा पुँजीबादी गणतन्त्रको स्थापना भयो । यी तीन वटा समूह बीच फाटो आयो । राजतन्त्र अन्त्य गर्ने क्रान्तिको नेतृत्व गरेका सन् यात्सेन आफंैले पलायन हुनु प¥यो । क्रान्तिले मुलुक र जनताको जीवनमा कुनै फरक पार्न सकेन । नेपालमा माओवादी आन्दोलन उस्तै हो । तीन वटा उद्देश्यका समूह बाबुराम र प्रचण्डका पछाडी थिए । सत्तारोहण सँगै यी तीन वटा समूह अलग अलग अभ्यासमा लागे । अन्तत प्रचण्ड नेतृत्वको एमाओबादी विघटनको संघारमा पुगेको छ । अहिले बाबुराम भट्टराईले निर्माण गर्न लागेको नयाँ शक्तिको अभियानमा पनि यो तीन प्रकारका मानिसहरु छन् । मुलुकको साँच्चै प्रगति हुन्छ कि भनेर आशा गर्ने, अर्को सत्तामा गएर मोज गर्ने अर्को प्रतिशोध पुरा गर्ने । नयाँ शक्तिको नामबाट खोलिएका धेरै पेजमा यो खालको छनक देखिन थालेको छ । कहिले ओली कहिले प्रचण्डको आलोचना गरिएका स्टाटस पोष्ट गरिएको छ कहीले के कहिले के । यी प्रतिसोधी र पूर्वाग्रहीहरु हुन् । यस्ता घटिया सोच भएका मानिसलाई बोकेर नयाँ शक्ति अगाडि बढ्न सक्दैन । यी तीनवटा समूहका मानिसलाई चिनेर संगठित गर्न नसकिए नयाँ शक्ति जतीनै शक्तिशाली भएर आए पनि त्यसले मुलुकको हित गर्न सक्दैन ।
टुप्पोबाट की फेदबाट ।
मंसिर चारमा काठमाडौंमा प्रशिक्षणात्मक भेलाको तयारी भैरहेको छ । यो भेलामा सहभागीहरुले आ आफ्नो जिल्ला क्षेत्रमा नयाँ शक्ति निर्माणको अभियान बारे जनसमर्थन जुटाउने, स्थानिय संरचना बनाउने काम गर्ने जानकारी दिइएको छ । भेलाबाट एउटा राष्ट्रिय समिति निर्माण गर्ने कुरा पनि सुनिएको छ । साथै क्षेत्रगत रुपमा संयोजक तोकेर संविधानले ब्यवस्था गरेको सात प्रदेशमा छुट्टा छुट्टै संयोजक तोक्ने कुरा पनि सुनिएको छ । नयाँ शक्ति निर्माणको अभियानका लागि समिति निर्माण गर्ने कुरालाई नकारात्मक रुपमा लिन नसकिएपछि काठमाडौंबाट फेरी नयाँ शक्तिको घोषणा गरियो भने यसको काम कारवाही फेरी पनि पुरानै ढर्राबाट अगाडी जाने निश्चित छ । सामाजिक संजालको ब्यापक प्रयोग बढेकाले अहिले केन्द्रिय समिति निर्माण भन्दा सबै भन्दा सानो इकाई टोल विकास संस्था जस्ता इकाईबाट यो अभियान अगाडी बढाउनु आवश्यक छ । तीन तीन जनाको ईकाईमा गाउँ स्तरिय समिति निर्माण गरि वडा, गाउँ विकास समिति क्षेत्र र जिल्ला स्तरको समिति निर्माण गर्दै अन्तिममा राष्ट्रय समिति घोषणा गर्ने अभ्यास गरियो भने यो दिगो र प्रभावकारी हुन सक्छ । एकीकृत नेकपा माओबादी सशस्त्र संघर्षबाट सिधै काठमाडौंमा उत्रियो । उपत्यका बाहिरको नेपालको सम्पर्कबाट बिस्तारै टाढिदै गयो अन्तीममा पहिलो शक्तिबाट तेस्रो शक्तिमा पुग्यो । यसको कारण थियो । गाउँ , वडा तह सम्म संरचनाको विकास नुहनु । नयाँ आउने शक्ति पनि गाउँ तह सम्म संरचना निर्माण गरेर आउन सक्नु पर्छ । यस्तो अभियान मुलुकभर एकै पटक गर्न सके राम्रो नभए । कञ्चनपुरको चाँदनी र दोधारा गाउँ विकास समिति , दार्चुलाको कालापानी, झापाको केचना जस्ता क्षेत्रबाट पनि अगाडी बढाउन सकिन्छ । त्यो बाहेक पुष्पलाल, मदन भण्डारी जस्ता नेताका जन्म क्षेत्रबाट पनि यस्ता अभियान संचालन गर्न सकिन्छ । यस्ता इकाई नेपालका प्रत्येक गाउँमा गठन हुने र केन्द्रिय नीतिलाई गाउँमा लागु गर्ने संरचनाको विकास भयो भने मुलुकमा आमुल परिवर्तन सम्भव छ ।
स सँगै अ मा ध्यान दिनु पर्छ ।
नेकपा एमालेले नौ महिना सरकार चलाउदा अगाडी सारेको सात स अहिले पनि लोकप्रिय कार्यक्रम मानिन्छ । मुलुकको विकास र आर्थिक सम्बृद्धिका लागि अगाडी सारिएको आफ्नो गाउँ आफंै बनाउँ अभियानमा सात स अगाडी सारिएको थियो । त्यसमा सडक, शिक्षालय, सिंचाई, सरसफाई (खानेपानी तथा शौचालय ), सहकारी, स्वरोजगार , सामाजिक सुरक्षा जस्ता कुरा समेटिएको थियो । यो अति आवश्यक कुरा थिए । यसको महत्व अझैै पनि उस्तै छन् । डाक्टर बाबुरामले अगाडी सारेका स मा यी बाहेक नयाँ कुरा छन् । स्वाधिन, सम्बृद्ध र समावेशी जस्ता कुरा उनले अगाडी सारेका छन् । यस बाहेक पनि सदाचार लगायतका कयांै स हरु आवश्यक छन् नयाँ शक्ति निर्माणका लागि । तर, स मामात्र ध्यान दिदा अरुलाई बिर्सन हुँदैन । अर्को अर्थ अनुशासन हो । यो अनुशासन , सामाजिक आर्थिक र नैतिक सबै प्रकारको हुन्छ । आर्थिक सामाजिक र नैतिक अनुशासन बिहिन मानिसको भिड जतीनै ठुलो भएपनि त्यसले कुनै सिर्जनात्मक काम गर्न सक्दैन । यस्तो शक्तिमा लाग्ने मानिसको आर्थिक अवस्था र स्र्रोतको अभिलेख शुरु देखिनै राख्न जरुरी छ । यो ब्यवस्था अनिबार्य हुनु पर्छ ।
तथ्यांकले देखाएको अवसर
विक्रम् सम्वत २०७० मंसिर ४ मा भएको संविधान सभा निर्बाचन को तथ्यांक हेर्दा नेपालमा मतदाता सुचीमा सुचीकृत सदस्यको संख्या एक करोड २१ लाख थियो । त्यस मध्ये ८५ लाख मतदाताले निर्बाचनमा भाग लिए । त्यस मध्ये २५ लाख नेपाली कांग्रेस, २२ लाख एमाले र १४ लाख एकीकृत नेकपा माओबादीले मत पाएको थियो । बाँकी मत अन्य ५१ दलले पाएका थिए । यो तथ्यांकलाई हेर्दा के देखिन्छ भने मतदानमा सहभागि हुन नसकेका वा हुन नचाहेका मानिसको सख्या मात्र पनि झण्डै ३६ लाख छ । यो संख्यालाई आकर्षित र संगठिन गर्न सक्यो भने नेपालमा अहिलेका दल अहिलेकै अवस्थामा रहँदा पनि ती दल भन्दा ठुलो शक्ति बन्न सक्छ ।
खसेको मत मध्ये ६० लाखको हाराहारीमा संगठित ठुला दलले पाए पनि बाँकी मत बाहिर रहेको प्रष्ट देखिन्छ । पचासी लाख मध्ये ६० लाख बाहेकको मत मात्र पनि २५ लाख छ । जुन साना साना दलमा बाँडिएर रहेको छ । नेपाली जनताले यस्ता साना दललाई बिस्तारै किनारा लगाउदै गएको पछिल्ला निर्बाचनका तथ्यांकले देखाई सकेको छ । यस्ता संख्यालाई एकताबद्ध गर्न सके नयाँ शक्ति असम्भव छैन ।
असल नेतृत्व आयो र जनताको विश्वास जित्न सक्यो भने निर्बाचनमा सहभागि नहुने ३६ लाख, साना दलमा मतदान गर्दै आएका २५ लाख र ठुला दल भित्र निसास्सियर बसेका ६० लाख मध्येका मतदाता संख्याको २५ प्रतिशत मतदातालाई मात्र आकर्षित गर्न सक्यो भने पनि नयाँ शक्ति शक्तिशाली भएर आउन सक्छ ।
नयाँ शक्तिको सान्र्दभिकता
नेपालले गति लिन नसकेको एउटा प्रमुख कारण राजनितिक अस्थिरता नै हो । कुनै दलले प्रष्ट बहुमत हासिल गर्न नसक्नु, बहुमत पाएको दलले पनि आन्तरीक समस्याका कारण पूर्णअवधि सरकार चलाउन नपाउनु मुलुकको ठुलो समस्याको रुपमा रहेको छ । सरकार अस्थिर हुँदा योजना निर्माण र कार्यान्वयनको पाटो अस्तब्यस्त हुँदै आएको छ भने दिर्घकालिन लगानीमा समेत असर देखिएको छ । अहिले ठुला दल उस्तै आकारमा भएकाले एकले अर्कोलाई शर्त सहितको सहयोग बाहेक असहयोग र अस्वस्थ प्रतिस्पर्धामै समय ब्यतित गरेको देखिन्छ । यसको विकल्पका रुपमा पूर्ण बहुमतको सरकार बनाउन सक्ने नयाँ शक्तिको आवश्यकता महसुस धेरै तिर भएको छ । यो भूमिकामा नयाँ शक्ति आउने वा भएका पुराना शक्तिको पुन गठन वा पुन संरचनाबाट पनि हुन सक्छ ।
(भरतपुर १०, चितवन, हाल ः युएई)
प्रतिक्रिया