सरकारी बाइकमा निजी नम्बर प्लेट !

bikeदेउखुरी, १ कात्तिक । लमही नगरपालिका भएपछि सरकारी काम काजका लागि भन्दै दुई वटा मोटरसाइकल किनियो । एउटा होन्डा स्पिलिन्डर र अर्काे होन्डा साइन । होन्डा स्पिलिन्डर सेतो नम्बर प्लेटको कार्यालयका लेखा अधिकृत चढ्दै आएका थिए । त्यस्तै होन्डा साइन रातो नम्बर प्लेट रा ३ प १५३८ नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापा चढ्दै आएका थिए ।

सकारकारी कार्यालयमा खरिद गरिएको मोटरसाइकलको दुईथरी नम्बर प्लेट कसरी भयो ? सेतो नम्बर प्लेट सरकारी र रातो नम्बर प्लेट निजी । सरकारी रकमले सरकारी कार्यालयका लागि खरिद गरेको मोटरसाइकलमा सेतो नम्बर प्लेट हुनुपर्ने हो तर, लमही नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापाले आपूmले चढ्ने मोटरसाइकलमा रातो नम्बर प्लेट हालेर चलाउँदै आएका हुन् । किन सरकारी मोटरसाइकलमा निजी सवारी साधनको नम्बर प्लेट हाल्नुभएको भन्ने प्रश्नमा थापाको सहजै उत्तर छ ‘अफिस समयभन्दा बाहिर जानुपर्दा सजिलो हुन्छ, सरकारी नम्बर प्लेटको मोटरसाइकल चलाएर जहाँ कतै जान सहज हुँदैन ।’

सरकारी सम्पत्तिको दुरुपयोग गर्न सजिलोका लागि नगरपालिकाका अधिकृतले सेतो नम्बर प्लेटमा दर्ता गर्नुपर्ने सवारी साधनलाई रातो नम्बर प्लेटमा दर्ता गरेको भन्दै स्थानीय स्तरमा आवाज उठ्न थालेको छ । यातायात व्यवस्था कार्यालय राप्तीले लमही नगरपालिकाको नाममा दुई वटा मोटरसाइकल दर्ता भएको बताएको छ । एउटा मोटरसाइकल सेतो नम्बर प्लेटमा र अर्काे रातो नम्बर प्लेटमा दर्ता गरिएको छ । ‘मोटरसाइकल नगरपालिकाकै नाममा दर्ता गरिएको छ’ यातायात कार्यालय श्रोतले भन्यो, ‘द्वन्द्वको समयमा गरिएको विशेष व्यवस्थामा टेकेर सरकारी कार्यालयको सवारी साधनमा रातो नम्बर प्लेट(निजी)मा दर्ता गरिएको पाइयो ।’ निजीमा दर्ता गर्दा बढी कर तिर्नुपर्ने हुन्छ । यो पनि नगरपालिकालाई व्ययभार हो ।

प्रतिक्रिया