अधिकांश कार्यालयहरू प्रमुखविहीन

ताप्लेजुङ, १ कात्तिक । ताप्लेजुङका अधिकांश सरकारी कार्यालयहरू दसैँ बिदा सुरु नहुँदै प्रमुखविहीन भएका छन् । बडादसैँको सप्तमी अर्थात पूmलपातीदेखि दसैँ बिदा भए पनि त्योभन्दा २÷४ दिन अघिबाटै कार्यालयहरू प्रमुखविहीन बनेका हुन् ।

कार्यालय प्रमुख नभएपछि सम्बन्धित कार्यालयबाट प्रदान हुने सेवा प्रभावित भएको छ । ताप्लेजुङका करिब दुई दर्जन सरकारी कार्यालयहरू प्रमुख विहीन भएका छन् । दसैँ मनाउन र अन्य कामले समेत झन्डै एक हप्ताअघि नै कार्यालय छाड्नेमा स्थानीय विकास अधिकारी उमेश पाण्डे, जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जी, पशुसेवा कार्यालय प्रमुख दिलीपकुमार देउजा, कृषि विकास कार्यालय प्रमुख बद्रीप्रसाद दाहाल रहेका छन ।

यस्तै जिल्ला प्राविधिक कार्यालय प्रमुख महदत्त भट्ट, मालपोत प्रमुख रामबहादुर कार्की, नापी प्रमुख सहदेव घिमिरे, कोष तथा लेखा नियन्त्रक बीरबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय प्रमुख रामप्रसाद दाहाल, घरेलु तथा साना उद्योग विकास समिति प्रमुख नवीनकुमार पौडेल, जिल्ला आयुर्वेदिक स्वस्थ्य कार्यालय प्रमुख कमलेशकुमार झा, जिल्ला भूसंरक्षण कार्यालय प्रमुख मिलन दाहालले जिल्ला छाडिसकेका छन । त्यस्तै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अम्विकाप्रसाद चौंलागाईं, सरकारी वकिल कार्यालय प्रमुख जुद्धबहादुर मगर र जिल्ला हुलाक कार्यालयका प्रमुख रोश्नी श्रेष्ठले कार्यालय छोडेका छन भने नेपाल वायुसेवा निगमको कार्यालय पनि प्रमुखविहीन रहेको छ । सिडिओले भने शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । तत्कालीन सिडिओ डमरुप्रसाद निरौलाको सरुवा भएपछि झन्डै एक साता बढी प्रमुखविहीन बनेको जिल्ला प्रशासन कार्यालयमा झापादेखि सरुवा भई आएका कमलबहादुर थापाले कार्यालय प्रमुख वा सिडिओको जिम्मेवारी सम्हालेका हन् । थापा ताप्लेजुङ आउनुभन्दा पहिले झापाका सहायक सिडिओका रूपमा कार्यरत थिए ।

हाल जिल्लामा प्रजिअ थापासहित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कुमुद भट्टराई, ताप्लेजुङ नगरपालिका कार्यकारी अधिकृत डिल्ली पौडेल, महिला तथा बालबालिका कार्यालय प्रमुख मञ्जु लोहनी, सिंचाइ कार्यालय प्रमुख कुञ्जनभक्त श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारी, र जिल्ला वन कार्यालय प्रमुख मात्रै जिल्लाभित्र रहेका छन् । प्रमुख बिहीन बनेका कार्यालयहरूले भने आफ्ना प्रमुखहरू कार्यालयको काम विशेषले दसैँ विदा अघि नै जिल्लाबाट बाहिरिनु परेको जनाएका छन् ।

यसरी कार्यालय प्रमुखले सरकारी बिदा हुनुअगावै कार्यालय छाड्दा टाढा–टाढाबाट आएका सेवाग्राहीले आपूmहरू समस्यामा परेको बताएका छन् । चाडपर्व नजिकिए पनि कार्यालय सम्बन्धि विशेष काम लिएर जिल्ला आउँदा कार्यालय प्रमुख नभएकै कारण आफ्नो काम नभई त्यत्तिकै फर्कनु परेको सेवाग्राहीले गुनासो गरेका छन् ।

प्रतिक्रिया