इलाम, १ कात्तिक । दक्षिणी इलामको चुलाचुलीमा ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्थानीय वडा नागरिक मञ्च चुलाचुली—५ ले वडाका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा दसैँ २०७२ को अवसरमा मञ्चले आईतबार एक कार्यक्रम गरी ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको सामाजिक परिचालक विनादेवी बस्नेतले जानकारी दिईन् । वडा नागरिक मञ्चले आफैं रकम संकलन गरेर कार्यक्रम आयोजना गरेको हो ।
गाविसमा कुनै पनि संघसंस्थाले जेष्ठ नागरिकलाई सम्मान नगरेकाले नया“ कार्यक्रमको थालनी गरेको वडा नागरिक मञ्चका संयोजक धनबहादुर विश्वकर्माले बताए । ‘अहिलेसम्म चुलाचुलीमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम कसैले गरेका थिएन’ वडा संयोजक विश्वकर्माले भने, ‘आगामी दिनमा गाविस र अन्य संघसंस्थाले समेत यस्ता कामहरू गरुन् भन्ने उद्देश्यका साथ नमुना कार्यक्रम गरिएको हो ।’
कार्यक्रमका सहभागीहरूले वडा नागरिक मञ्चले आफ्नै लगानीमा गरेको कार्यक्रम गाविसका लागि नमुना र प्रसंशनीय रहेको उल्लेख गर्दै आगामी दिनमासमेत यस्तो कामको निरन्तरता हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, विभिन्न संघसंस्थाका प्रतिनीधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थनीय राजनीतिक दलले समेत सहयोग गरेको थियो । कार्यक्रमका लागि नेपाली कांग्रेसले साउण्ड सिस्टम र नेकपा एमालेले चियाखाजाको व्यवस्थामा सहयोग गरेको थियो । अन्य राजनीतिक दलहरूले पा“च सय देखि एक हजार रुपैया“सम्म आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रम वडा नागरिक मञ्चका संयोजक धनबहादुर विश्वकर्माको अध्यक्षता र स्थास्थ्य चौकी चुलाचुलीका इन्चार्ज दुश्यन्त दाहालको प्रमुख आतिथ्यतामा भएको थियो ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत सञ्चालित सामाजिक परिचालन कार्यक्रम अन्तर्गत गठित वडा नागरिक मञ्चले विभिन्न रचनात्मक र सिर्जनात्मक काम गर्दै आएको छ । मञ्चले आफ्नै लगानीमा गरेको यस प्रकारको कार्यक्रम यो पहिलो हो । चुलाचुलीमा स्थानयि सेवा प्रदायक संस्था मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा समाजिक परिचालन कार्यक्रम सञ्चालन भईरहेको छ ।
प्रतिक्रिया