कांग्रेसलाई चाहेकै पद : नेपाल

Madhav-Nepalकाठमाडौं, ३० असोज । एमाले नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए कांग्रेसलाई उसले चाहेकै पद दिन सकिने बताएका छन् । कागेश्वरी–मनहरा नगरपालिका गोठाटारमा शनिबार आयोजित एक कार्यक्रममा उनले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आफूहरूले पनि कांग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भने, ‘इतिहासमै पहिलोपटक महिला सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुसी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबैभन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौँ ।’

नेपालको संविधान जारी हुँदा ८५ प्रतिशतको हस्ताक्षर र ९० प्रतिशतको सहमति भएको र प्रधानमन्त्री र सभामुखको निर्वाचनपछि शतप्रतिशतले संविधान स्वीकार गर्नु सुखद भएको बताउँदै नेता नेपालले आगामी दिनमा मुलुकमा अझ एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले काठमाडौं–तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया