मधेससँग नयाँ सहमति आवश्य : सिटौला

krishna sitaulaकाठमाडौं । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेसमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ सहमति गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सीमा नाकामा देखिएका अवरोध हटाउनका सरकारले चासोका साथ अग्रसरता लिनुपर्ने बताए ।

उनले राष्ट्रपतिबाट देशको राजनीतिमा दूरगामी प्रभाव पर्ने भएकाले सबै राजनीतिक दलहरूसँग छलफल गरेर केही दिनमै राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको छनोट हुने टिप्पणी गरे । कांग्रेसको सहयोगविना मुलुकको कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै महामन्त्री सिटौलाले कांग्रेस मुलुकको हित र राजनीतिक विकासका निम्ति नयाँ ढंगले प्रस्तुत हुने दावी गरे ।

यता, कांग्रेसका नेता डा.प्रकाशशरण महतले मधेस आन्दोलनमा भारतले सघाएको आरोप लगाएका छन् । अब भारतको उच्चतहमा कुरा गर्नुपर्ने उनले बताए । कांग्रेस नेता महतले भारतको चासो बुझेर लोकतन्त्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा बाहेकका विषयमा कुरा गरेर समस्या सुल्झाउनु पर्ने बताए ।

उनले भने, ‘अत्यावश्यक बस्तु सहजरूपमा नेपाल भित्रिएको छैन । यसलाई नाकाबन्दी वा अन्य जे नाम दिए पनि हुन्छ ।’ जनताले दुःख पाएकोले मधेसवादी दल जिम्मेवार बन्नुपर्ने बताउँदै उनले भने, ‘सबैलाई दुःख परिसक्यो मधेसी दलहरू जिम्मेवार बन्नुस् । बोर्डरमा आन्दोलन हुँदैन ।’ जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संविधान संशोधन प्रस्ताव अघि बढाइएको उनले बताए । महतले भने, ‘सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएन भने हामी नै आन्दोलनमा उत्रन्छौँ ।’

कांग्रेस भारतपरस्त भएको आरोपको खण्डन गर्दै महतले भारतपरस्त भएको भए सत्तामै भएको बेला भारतबाट यस्तो अवस्थाको सिर्जना नहुने टिप्पणी गरे ।

प्रतिक्रिया