पक्राउ परेकी मनकुमारी सार्वजनिक

mankumariताप्लेजुङ ३० असोज । शुक्रबार आपराधिक समूह रहेको सेल्टरमा अप्रेशन गर्दा हातहतियारसहित पक्राउ परेकी मनकुमारी लिम्बूलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बरामद भएका हातहतियारसहित लिम्बूलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्लाको इखाबु–४ स्थित चौरीखर्कमा सेल्टर बनाई बसेका विभिन्न १० मुद्दामा संलग्न हाराङ लिम्बूको समूहमा कारबाही गरिएको प्रहरीले बताएको छ । देउमान लिम्बू तथा विश्वम्भर लिम्बूको नामलेसमेत चिनिने सो समूहमा २ महिलासहित ९ जना रहेकोसमेत प्रहरीले बताएको छ ।

शुक्रबार बिहान प्रहरी टोली सो ठाउँमा पुगे लगत्तै उनीहरू तितरबितर भएको र प्रहरीको हतियारले राम्रो काम नगरेपछि उनीहरू भाग्न सफल भएको डिएसपी शान्तिराज कोइरालाले बताएका छन । ओडारमा लुकेर बसेकी सान्थाक्रा–७ की ३१ वर्षीया मनकुमारी लिम्बूलाई भने प्रक्राउ गर्न सफल भएको छ । उक्त सेल्टरबाट कटुवा पेस्तोल १ थान थान, पेस्तोल १ थान, म्याग्जिन तथा गोली १ थान, भरुवा बन्दुक ४ थान, तार जडित पाइप बम १ थान, ३ थान मोबाइल, किरात मुलवासी स्वतन्त्र लिम्बूवान केन्द्रीय कार्य समितिको परिचयपत्र दस्तावेज र समूहको झन्डा, चाइनिज टर्चलाइट १ थान, तार तथा ब्याट्री र व्याट्रीमा जोड्ने क्लीपजडित तार १ सेट लागायतका समाग्रीहरू प्रहरीले बरामद गरेको हो ।

भौगोलिक दृष्टिले अप्ठेरो ठाउँमा सो समूह बसेको तथा प्रहरीलाई त्यस ठाउँको स्थिति थाहा नहुनुले पनि प्राप्त हुनलागेको सफलतामा धक्का पुगेको डिएसपी कोइरालाले बताएका छन् ।

हाराङको समूहले पूर्वका विभिन्न जिल्लामा बसी आपराधिक क्रियाकलाममा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ । लुटपाट, अपहरण, डकैती, जबर्जस्ती चन्दा आतंक, धाकधम्की, दुव्र्यवहार, हातहतियार तथा बिस्फोटक पदार्थ संकलन र निर्माण गर्दै समुदायलाई आतंकित बनाएको प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘गत २१ असोजमा पनि प्रहरीले सो स्थानमा कारबाही गर्ने प्रयास भएकोमा प्रहरी आएको पहिल्यै थाहा पाई उनीहरू भाग्न सफल भए’ डिएसपी कोइरालाले भने । प्रहरी टोली सो स्थानमा पुग्नु र उनीहरूसँग भएको केही हातहतियारसहित १ जना महिलालाई प्रक्राउ गर्नु पनि एउटा उपलब्धि भएको उनले बताएका छन् । ‘यो आंशिक मात्र सफलता हो, अपराधीहरू धेरै फरार भएका छन्, कतिपय घाइते अवस्थामा भागेका छन उनीहरू फेरि समूहमा फर्किन र अरू योजना बनाउन धेरै कसरत गर्नुपर्छ तत्काल हुनसक्ने घटनालाई विफल बनाएको डिएसपी कोइरालाले जानकारी दिए । सो समूहले केही दिनअघिदेखि इखाबु गाविस तथा त्यस आसपासका गाविसहरूमा हातहतियार देखाई जबरजस्ती मानिसहरूलाई आफ्नो समूहमा लगाउने, चन्दा खाद्यान्न, अलैँची संकलन गर्ने गरिरहेको सूचनाका आधारमा प्रहरीले सो ठाउँमा कारबाही चलाएको हो ।

प्रक्राउ परेकी मनकुमारी लिम्बूसँगको प्रारम्भिक सोधपुछले १ महिना अघिबाट उनी सो समूहमा आबद्ध भएको प्रहरीले बताएको छ । गाउँमा सांस्कृतिक कार्यक्रम छ हेर्न जाउँभन्दा उनी नमानेपछि खुकुरी र पेस्तोल देखाई जबरजस्ती सो समूहले लगेको लिम्बूले बयानमा बताएको प्रहरीले उल्लेख गरेको छ । हाराङसहित अर्का १ जना भने कारबाहीको अघिल्लो दिन नै सेल्टरभन्दा बाहिर गाउँमा गएको बुझिएको प्रहरीले बताएको छ । प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका हाराङ तथा विश्वम्बर तथा देउमान लिम्बूको नाममा ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा बिस्फोटक पदार्थ बम, डाँका तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भइसकेको छ । यस्तै नागरिकता किर्तेअन्र्तगत पनि मुद्दा दर्ता भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया