एमाओवादीद्वारा शुभकामना आदानप्रदान

Chiya panताप्लेजुङ ३० असोज । बडादसैँ तथा शुभदीपावली ०७२ को अवसरमा एमाओवादी ताप्लेजुङले शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाबासीसँग शुभकामना आदानप्रदानसँगै विचारहरूको साटासाट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एमाओवादी ताप्लेजुङका अध्यक्ष खेलप्रसाद बुढाक्षेत्री परागले जानकारी दिए । कार्यक्रममा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि संघसंस्था, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

चियापान कार्यक्रममा बोल्दै कांग्रेस ताप्लेजुङका सभापति केशवप्रसाद दाहालले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने जानकारी दिए । अन्य पार्टीहरूलाई भाग्यमानीको संज्ञा दिएका दाहालले ठूलो पार्टी नै प्रतिपक्षमा बसेकाले अहिलेको सत्तारूढ गठबन्धन भाग्यमानी भएको बताएका हुन् । ठट्यौली पारामा कांग्रेस सभापति दाहालले छिमेकमा बाबुआमाको बाझाबाझ हुँदा छोराछोरीहरू आँखा झिम्क्याइरहेको भनेर चियापान कार्यक्रम आयोजनाले जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरूबीचको शुभकामना आदानप्रदान भएकोमा एमाओवादी ताप्लेजुङलाई धन्यवाद दिएका थिए । संविधानप्रति असन्तुष्ट भएकाहरू, मधेसमा चलिरहेको आन्दोलनरत पक्षहरूलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्नसमेत उनले सुझाएका छन् । यस्तै एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले ठूला पर्टीहरूबीच भएको भद्र सहमति टुट्नु नहुने भन्दै प्रधानमन्त्री निर्वाचनले झन्डै बिग्रेको राजनीतिक माहोल सभामुखको निर्विरोध चयनले सपारेको बताएका छन् । उनले देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि जनतामा भने ‘भो भो नरोउ जुरेली चरी तिम्रो पालो आइपुग्यो अब त’ भनेर गाइने गीत जस्तो मात्र भएको बताएका छन् ।

यस्तै पूर्व सांसद तथा एमालेका नेता तिलकुमार मेन्याङ्वोले देशमा संविधान जारी भएको र अब भाषण गरेर मात्र मुलुक नयाँ नबन्ने भन्दै योजना बनाएर अघि बढ्नुपर्ने सुझाएका छन् । कार्यक्रमलाई वैद्य माओवादीका सुरज ओझा, जनमुक्ति पार्टीका प्रकाश एङ्देन, संघीय लिम्बूवान नेपाल पार्टीका अध्यक्ष कीर्तिमान मादेनलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे, रेडक्रस सभापति गणेश अधिकारी, पत्रकार महासंघ ताप्लेजुङ शाखाका सचिव चन्द्र पन्दाक प्रयास, रेडियो ताप्लेजुङका स्टेसन मेनेजर देवराज गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले देशले नयाँ संविधान पाए पनि भारतले गरेको अघोषित नाकाबन्दी तथा मधेस आन्दोलनले आक्रान्त बनाएकाले उल्लासमय ढंगले चाडपर्व मान्न नपाइरहेकोमा गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष परागले जिल्लामा विकास निर्माणका गतिविधि सञ्चालन गर्न दसैँ लगत्तै सबै दलका नेता तथा कार्यकर्ता र सरोकारवालहरू बसेर योजना बनाई अघिबढ्ने जनाएका छन् ।

प्रतिक्रिया